काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बाहिर रहेका नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । मंगलबार गैर–आवासीय नेपाली संघ (एनआरएनए)को वार्षिक साधारण सभाको उद्घाटन गर्दै नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर–आवासीय नेपालीहरुलाई आह्वान गरका हुन् ।
काठमाडौंस्तिथ होटल याक एण्ड यतिमा सम्पन्न उक्त सभामा बोल्दै प्रधानमन्त्री देउवाले भने, ‘संसारभरी छरिएर रहेका हरेक नेपालीहरु नेपालका गैरआवासीय दुत हुन्, तपाइँहरुले विदेशमा नेपालको पहिचान दिलाउन, विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।’, प्रधानमन्त्री देउवाले भने । ‘गैरआवासीय नेपालीहरुले आफूले विदेशमा आर्जन गरेको आयातलाई नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिन आवश्यक छ ।’, उनले थपे ।
एनआरएनएको अनुरोध बमोजिम नेपालमा विदेशी लगानीको न्यूनतम सिमाहरु घटाइएको पनि प्रधानमन्त्री देउवाले बताए । ‘यस वर्षको आर्थिक बजेटमा नेपालमा विदेशी लगानीको न्यूनतम सिमाहरु ५ करोड घटाएर २ करोडसम्म कायम छ ।’, देउवाले भने ।
शुभकामना दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले पनि संसारभरी छरिएर रहेका नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गरे । ‘संसारभर रहेका नेपालीहरुले चाहे सानो वा ठूलो नेपालमा लगानी गर्नुहोस् भन्न चाहान्छु । लगानीका लागि जुन फोरम बनाउनुभएको छ, त्यसलाई कार्यन्वयन गर्ने क्रममा केहि समस्याहरु छन् भने ती समस्याहरुलाई सरकारले अविलम्ब फुकाउनेछ ।’, मन्त्री खाँणले आश्वासन दिलाए । मन्त्री खाँणले सानो ठूलो सबै लगानीको सरकारले सुरक्षा गर्ने पनि बताए ।
कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष कुल आचर्यले नेपाल सरकारले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दा एनआरएनएका हितका लागि निवेदन गरिएका विषयलाई सम्बोधन गरिदएकामा आभार व्यक्त गरे । एनआरएनएको सुरुवातदेखि उठाइएको नागारिकता मुद्धाका विधेयकलाई भने राष्ट्रपतिले प्रमाणित नगरिदिएकोमा दुःखी भएको बताए । ‘नागरिकता मुद्धा दुईदुई चोटी दुवै सदनले पास गर्दा पनि राष्ट्रपतिले प्रमाणित नगर्नुहुँदा संसारभरका नेपालीहरु दुःखी भएको छ । आशा छ, फेरि पनि गैरआवासीयहरुले नागारिकताबाट वञ्चित हुने छैन ।, अध्यक्ष आचार्यले विश्वास व्यक्त गरे ।
एनआरएनएले उठाउदै आएको विषयहरु डलर एकाउन्टको सुविधा, वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष, नेपालमा नेपालमा बस्ने सरह लगानी गर्न पाउने लगायतका विषयमा नेपाल सरकारको सहयोग रहेकोमा पनि अध्यक्ष आचर्यले धन्यवाद प्रकट गरे । ‘गैरआवासीयहरुको महत्व बुझेर ६ महिनाको अवधिमा ३/३ पटक प्रधानमन्त्रीज्यूले समय दिनुभएको छ, यसले हामीलाई जिम्मेवारी बोध गराउनुका साथै अब नेपालमा लगानी गर्ने बेला आएको छ । हामीले विभिन्न च्यारिटीका कामहरु गरिरहेका छौं, अब सच्चा साझेदारी बन्नका लागि हामीलाई नेपाल सरकारले स्वागत गरेको छ । अब संसारभर रहेका नेपलीहरुले कसरी साझेदारी गर्न सक्छौं भन्ने सोच्नेबेला आएको छ ।’, अध्यक्ष आचर्यले आग्रह गरे ।
यस्तै, परराष्ट्रमन्त्री नारायण खड्काका प्रतिनिधि परराष्ट्र सचिव भरतराज पौडेलले नेपाल सरकारले एनआरएनएलाई विशेष महत्व दिएको बताए । नेपालको संविधानले नै एनआरएनएको अस्तित्वलाई स्वीकार गरेको उल्लेख गर्दै नेपाल सरकारले झण्डै दुई दशकदेखिका हरेक नीति तथा कार्यक्रमहरुमा एनआरएनएहरुसँगको सहकार्य, एनआरएनएको योगदान, पुँजी, सिप, प्रविधिलाई नेपालको राष्ट्रिय विकासमा परिचालन गर्ने नीति लिएको पौडेलले बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा एनआरएनए महासचिव भिम उदासले एनआरएनएले नेपालको प्राकृतिक प्रकोप र विकासको कार्यमा सहयोग गर्दै आएको बताए । उनले एनआरएनए एउटा सिक्का भएकाले यसका दुई पाटाहरु रहेको पनि बताए । ‘एनआरएनएको एउटा पाटामा नेपालका कामहरुको विषयमा चर्चा गर्छौ, अर्को पाटोमा नेपाल बाहिर एनआरएनएहरुले के गरिरहेका छन् ? त्यो जान्न जरुरी जस्तो लाग्छ ।’, उनले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्र सचिव भरतराज पौडेल, मन्त्री गोविन्द शर्मा कोइराला, काँग्रेस नेता राधेश्याम अधिकारी, एमालेका नेता राजन भट्टराई, माओवादी केन्द्रका नेता खिमलाल देवकोटा, लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको संचालन पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गरेकी थिइन् ।