यासोक । पाँचथर जिल्लाको कुम्मायाक– ४ स्थित रानीगाउँमा वर्षेनी लगाइँदै आएको ‘रोहटे पिङ’ यश बर्ष पनि लगाइने भएको छ । परम्परागत रूपमा लगाइदै आएको यस रोहटे पिङ कोभिडका कारण हुने अवस्थामा पुगेको थियो । ऐतिहासिकता बोकेको यश रोहटे पिङ निर्माणका लागि कुम्मायक गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने भएको छ ।
समाजसेवी दलबहादुर चेम्जोङका अनुसार सन् १८५० ताका पृथ्वीनारायण शाहको शासनकालमा अहिलेको सिडिओ स्वसरहको अधिकार प्राप्त जाचे दर्जा पाएर आएका हस्तबहादुर पाण्डेले गाउँमा अपुङ्गी राज चलाइरहेका लिम्बुवानका लिम्बू समुदायलाई पिङ लगाउन प्रेरित गरेका थिए । त्यतिबेला पाँचथर र तेह्रथुम जिल्लाको संयुक्त बजार हालको कुम्मायक गाउँपालिकास्थित वडा नम्बर ३ हात्ती पोखरीमा रहेको र जुन समयमा सबै भुगोल हेर्ने जिम्मा पाएका पाण्डेले यश भेगका अपुङ्गी लिम्बु शासकहरुलाई विभिन्न प्रलोभन र हौसला बाँड्दै बर्षमा एकपटक भुइँ छोड्नुपर्ने धर्मशास्त्रमा उखान रहेको बताउदै लिङ्गे पिङ तथा अन्य पिङ लगाउने प्रचलन ल्याइएको हो । जुनबेला पिङ खेल्दै चा चा हुइयाँ ! भन्ने शब्द रमाइलो तथा सो शब्द खुशियालीको अभिव्यक्ति भएको सुनेको पनि उनले बताए ।
१८५० भन्दा अगाडी पौवापाटी पिङ तथा मौलो रोप्ने चलन लिम्बू संस्कारमा नभएको तर हस्तबहादुर पाण्डेले लिम्बुहरुलाई सुब्बाको दर्जा दिएर पिङ हाल्न लगाइएको सुनेको चेम्जोङको भनाइ छ । हाल रानीगाउँमा रहेको उक्त रोहटे पिङ हात्तिपोखरीबाट चुङ्जिके खला हुँदै सारिएको पनि बताइन्छ । त्यसपछि स्वः भुवनवीर र बिक्रम सम्बाहाम्फेले नयाँ आकारमा बकसे पिरा बनाएपछि यो पिङ सालैपिच्छे लगाइदै आएको छ । उक्त पिङ् निर्माणकार्यका लागि अन्तिम तयारीमा रहेको बताइएको छ । परम्परागत रूपमा घटस्थापनापछि पन्चमी तिथिको दिन पिङ लगाइदै आएको सरोकारवाला युवाहरूले बताएका छन् ।