सुभ चन्द्र राई
अवस्था– ‘जुन चैँ आशलाग्दो, उही पर्याे सम्धि !’
विशेषता– कलाकारहरूले संवाद बोलेका छन् । अभिनय त हल्ला गरे/भएको जति देखिएन ।
वास्तविकता– बाहुबलीको असफल र लाजमर्दाे फोटोकपी प्रयास ।
भेषभुषा
नेपाली चलचित्र जगतमा ठूलै बहस र संवाद उठाएको चलचित्र हो ‘प्रेम गीत–३’ । ट्रेलर, चलचित्र सम्बन्धि छलफल बहस सुन्दा वास्तवमै केही नयाँ होला भन्ने लागेको थियो । चलचित्र हेरिसकेपछि लाग्यो– यत्रो बहस बेकार थियो । नयाँ भनेको लुगा (भेषभुषा) मात्रै देखियो । तर कथाले भन्न खोजेअनुसार सायद पात्रहरूले पुरानो समयको ऐतिहासिकता झल्कने भेषभुषाको प्रयोग गर्नुपर्ने थियो ।
कथा
नेपाली चलचित्रको अनुहारै परिवर्तन गरिदिने भनेर पनि हल्ला गरिएको चलचित्रमा न केही मिलेको कथा छ न केही मिलाएर बुझ्नुपर्ने दृष्य र संवाद । प्रत्येक दुश्यपछि अब के हुन्छ भनेर पर्दामा देखिनुभन्दा पहिले दर्शकले अब यसो होला भनेर हलै थर्कने गरी भनिरहेका थिए । तर, अफसोस सबै मिलिरहेको थियो । (कहीँ कतै त नमिलेको पनि मिठो हुने रहेछ, तर यसो भएन ।) कथाको मामलामा बरू अचेल नेपाली टेलिचलचित्रहरूले खुब मिठोसँग कथाहरू पस्किरहेका छन् । फिल्मको कथा एउटा राजपरिवारको दुई छोराको वरिपरि घुमाउन खोजिएको छ । तर कथा आफैँ कता घुमेको हो पत्ता लाउन गाह्रो छ । दुई छोरामा जेठा छोरालाई नकारात्मक भूमिकामा देखाउन खोजिएको छ । तर, जम्मा एउटा राजमाताको भविष्यवाणीको आधारमा । त्यो पनि ठिकै छ, तर कथाले भन्न खोजेको र दिन खोजेको सन्देश के हो ? मसँगै हलबाट बाहिरिने प्राय सबैले यसै भनिरहेका थिए । यत्रो दरवारको कथामा रानी कतै उल्लेखै छैन । उपस्थिति नै छैन । छोरा जन्मिएको एक दृश्यमा बाहेक । त्यसपछि केबल राजाको उपस्थिति छ । र, केही भारदारहरू सायद मन्त्री, पहरेदारहरू सेनापतिहरू होलान् । जसलाई कथाले संवादले त बुझाएको छैन । हामीले बुझ्न छुट छ । कटप्पा जस्तै देखिने एकजना कलाकार छ । सायद उनै हुन् सेनापति । भल्लालदेव जस्तै जेठा राजकुमार र बाहुबलीको भूमिकामा प्रेम (प्रदिप खड्का) । तर उनलाई राजाको उत्तराधिकारी भनिएपनि उनमा गीत (मुख्य नायिका) लाई प्रेम गर्नु बाहेक अन्य यथेष्ठ राजा बन्न लायक कुनै विशेष काम देखिएन । र, यस चलचित्रको कथा यति हो– को राजा हुने ?
अभिनय
उधुमै अभिनय छ भनिएको फिल्ममा माओत्से गुरूङ र सुनिल थापा र एकजना बालकलाकार (गितको भाई) बाहेक अरूको अभिनयलाई मूल्यांकन गरिरहन मन लागेन । रटेर संवाद बोल्दैछ कि के हो ? डाईलग बिर्सियो कि के हो ? भनेर दर्शक दीर्घाबाट आवाज आईरहनुले खासै राम्रो संकेत गरेजस्तो लागेन । फाइट सिनहरू बरू हेर्न हुने देखियो । तर अन्तिम फाइट अपत्यारिलो बनाईयो । त्यत्रो राज्यमा राजदरबारमा पहरेदार र सेनाहरू गरी जम्माजम्मी १०/११ जना जवानहरू देखियो । सेनापतिहरू सायद नुहाउन गएका थिए !
लोकेशन
लोकेशन हेर्दा भने सुटिङको लागि निकै संघर्ष गर्नुपरेको देखिन्छ, तर चलचित्रमा मुस्ताङको निश्चित ठाउँ मात्रै देखाईएको रहेछ । एउटा गीतको लागि भने फरक लोकेसन पनि देखियो । यसरी हेर्दा दुईवटा गीतमा भने प्रसंसायोग्य काम गरेको देखियो । सायद प्रदर्शनअघि रिलिज यी गीतहरूले नै केही नयाँ आशा छरेका थिए । भिएफएक्सको प्रयोगमा एउटा दरवार देखाउन मात्रै प्रयोग गरेर यस्तो लोकेसनमा फिल्म खिच्नु भने प्रशंसनीय छ ।
मनमा लागेको कुरा
निर्देशक सन्तोष शेन आफूले पनि अभिनय गरेका छन् तर छोटोछोटो दृश्यमा । तर जब हिरो समस्यामा पर्छन् तब उनी देखा पर्छन् । फरकफरक अवतारमा (पहिले–पहिले राजेश हमाल अन्तिम फाईटमा ईन्ट्रि मारेजस्तो) र दर्शकको ताली उनैले खान्छन् । हिरोभन्दा सुपर हिरो आफैँ बनिनिस्के सन्तोष सेन । हेर्दा उनको भूमिका स्पष्ट नभएपनि हिरोलाई अन्तिमसम्म जोगाए र भूमिकामा आफू पो हिरो बने । अनि कता गए कता ? सायद निर्देशनमै व्यस्त भए ।
यसरी निर्देशक आफैँ अनुत्तरित भूमिका र अवस्थामा देखिएको फिल्मले दर्शकलाई धेरै प्रश्नहरूको उत्तर दिन सकेको छैन ।
मलाई पनि लाग्यो– बाहुबलीभन्दा पृथक कथा हाम्रो थिएन र ? त्यसपछि म साथीले थमाएको मकै र कोक सिध्याएर बाहिरिएँ । बाटैमा एकजनाले पछाडिबाट बोल्नुभो– ‘नेपाली फिल्मले जात त जनाईहाल्छ !’ फेरी अर्काेजनाले थप्नुभो– तँ तेतिको त गर्न सक्दैनस् ! के गालि गर्छस् ?
मलाई दुवैको कुरा ठिकै लाग्यो । तर फिल्म भने…
मन परेको पक्ष
हिन्दी भाषामा पनि डब भएको छ । लगानी ठूलै छ । विश्वव्यापी प्रदर्शनी भन्ने हल्ला छ । नयाँ विचारधारा र संभावनाको भने ढोका ढकढकिएको छ ।