April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरका क्यान्सर पीडितका उपचारार्थ यूके र काठमाडौबाट आर्थिक सहयोग

3.3K

पाँचथर। गत बैशाखदेखि ओछ्यानमा थलिएर रहेका क्यान्सर पीडित जगत लिम्बू सम्बाहाम्फेको थप उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका–४ साविक रानिगाउँ ६ तसङगे टोल निवासी जगतलाई दाजुभाइ कन्ट्रिब्युशन यूकेबाट १ लाख ६ हजार २ सय ६४ रुपैयाँ र सम्बाहाम्फे उत्थान संघ केन्द्रीय समिति काठमाडौद्वारा ९१ हजार ३ सय ५० रुपैयाँ थप उपचारको लागि रकम प्राप्त भएको बिरामीले जानकारी दिएका छन् ।

उक्त रकम यूकेबाट समाजसेवी पर्शुराम सम्बाहाम्फे र काठमाडौबाट मिनराज सम्बाहाम्फेको पहलमा बिरामीको थप उपचार खर्च संकलन भएको जनाइएको छ । यसैगरी सम्बाहाम्फे उत्थान संघ क्षेत्रीय कार्य समिति रानिगाउँ र रानिगाउँ युबा क्लब साथै फुङ्सेमी सबानाम युवन क्लब तेह्रथुमले पनि ३० हजार भन्दा बढी रकम जुटाइ आर्थिक सहयोग गरेको बिरामीका परिवारले बताउछन् ।

यसअघि विभिन्न ठाउँबाट आर्थिक श्रोत जुटाउदै भरतपुर क्यान्सर अस्पताल, बिपि कोइराला मेमोरियल हस्पिटल धरान, न्युरो विराटनगर र बिएण्डसी अस्पताल झापामा बिरामीको उपचार भएको थियो । पिसाब थैलीमा घाउ भइ उपचारका क्रममा अप्रेसन गर्दा क्यान्सर हुन गएको डाक्टरले रिपोर्ट दिएको परिवार श्रोतले जनाएको छ ।

Advertisement

गाउँघरका बिरामीलाई झारफुक गरेर जिवनभर समाजसेवा गर्दै आएका उनका घरमा यतिबलो उनी मात्रै बिरामी छैनन्, उनलाई स्याहार सुसार गर्ने माइला छोरा महेन्द्र पनि क्षयरोगको नियमित औषधि सेवन गरिरहेका छन् भने महेन्द्रको श्रीमतीलाई समेत पित्त थैलिमा पत्थरीया भएपछि अप्रेसन गरि ओछ्यानमा ढल्केका छिन् ।

स्वास्थ सुधारको आशा बोकेका जगत थप उपचारका लागि फेरि भारतस्थित क्यान्सर अस्पताल जाने योजना गर्दैछन् । त्यसका लागि आर्थिक सहयोगको निम्ति देश तथा बिदेशमा रहेकाहरुसँग अनुनय गरेका छन् । यस्तै, उपचारका निम्ति आर्थिक सहयोग गर्नेहरुप्रति उनले आभार प्रकट पनि गरेका छन् ।