काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १ सय ५५ औँ जन्मजयन्तीका अवसरमा ‘सिद्धिदास महाजुको व्यक्तित्व र कृतित्व’ विषयक विचार–गोष्ठी तथा नेपालभाषाका गजल वाचन कार्यक्रम आयोजना गरिएको छ । नेपालभायाा साहित्यका क्षेत्रमा महाजुले दिएको योगदानको स्मरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालभाषा नेपालभित्र बोलिने अन्य मातृभाषा भन्दा समृद्ध रहेको बताए । उनले नेपालभाषामा उल्लेखनीय कृतिहरू लेखिएको उल्लेख गर्दै कार्यक्रम सार्थक भएको विचार व्यक्त गरे ।
उपकुलपति डा. जगमान गुरुङले नेपालभाषाका स्रष्टाहरूले मातृभाषा साहित्यका लागि दिएको योगदानको प्रशंसा गरे भने सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपालभाषाका महाकवि महाजुले नेपालभाषाका साथै नेपाली भाषामा समेत उत्कृष्ट सृजनाहरू गरेको बताए । उनले नेपालभाषाको गजल विधामा सिद्धिदासलाई नै पहिलो स्रष्टा मानिने गरिएको उनकै गजलबाट नेपालभाषमा जगल परम्परा सुरु भएको बताए ।
कर्यक्रमका अध्यक्ष साहित्य (मातृभाषा) विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीले नेपालभाषामा कविताको वास्तविक परम्परा सिद्धिदासबाट नै सुरु भएको बताइन् । उनले नेपालभाषा साहित्यका चार खम्बामध्ये एक मानिएका सिद्धिदास युगान्तकारी साहित्यकार रहेको विचार व्यक्त गरिन् ।
कार्यक्रममा अगीव बनेपाली, बद्री वेदना, अमृतमान शाक्य, भुषणप्रसाद श्रेष्ठ, सञ्जय शर्मा, रासा, सुशील राजोपाध्याय र तुयु पुंले नेपालभाषामा आ–आफ्ना गजल वाचन गरेका थिए । कार्यक्रममा राजेन्द्रप्रसाद पुताले ‘महाकवि सिद्धिदास र नेपाल भाषाय् गजल’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
सिद्धिदासको जन्म नेपाल संवत् ९८७ मा भएको थियो । उनलाई नेपालभाषाको पद्य गुरु मानिन्छ । उनीसँगै नेपाल भाषाको पद्य विधामा पुनरुत्थान सुरु भएको पनि मानिन्छ । नेपाल संवत् १०४० मा उनकोे पहिलो गजल प्रकाशित भएको इतिहास छ । त्यससँगै नेपाल भाषासाहित्यमा गजल परम्परा सुरु भएको थियो । कार्यक्रमका प्रतिवेदक कान्तिपुर दैनिकका हिमेशात्न बज्राचार्य थिए भने कार्यक्रमको सहजीकरण ‘थाय्भु’ पत्रिकाका सम्पादक मण्डल सदस्य शशीकला मानन्धरले गरेकी थिइन् ।