काठमाडौं । राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने कुराको प्रमाण एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीचको पछिल्लो घनिष्टताले स्पष्ट पार्ने संकेत देखिएको छ । दुवै नेताहरू एक अर्काप्रति सहिष्णु र लचिलो बनेपछि फेरि तालमेलको विषय चर्चामा आएको छ ।
आउँदो मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण दुई नेताहरु लचक देखिएका हुन् । उनीहरुका पछिल्ला अभिब्यक्तिहरुले सहकार्यको संकेत दिन्छ । पाँच वर्षअघि एउटै मोर्चा बनाएर चुनावमा होर्मिएका उनीहरु यस पटक पनि केही स्थानमा चुनावी तालमेल गर्ने विषयमा गोप्य बार्ताहरु भइरहेको बुझिएको छ । २०७५ जेठमा पार्टी एकता गर्दै नेपाल कम्युनिस्ट पार्टी गठन गरे पनि उक्त एकता तीन वर्ष पनि टिक्न नसकेपछि अब पुनः सहकार्य हुनसक्ने आंकलन गरिएको छ ।
प्रधानमन्त्रीमा पाँच वर्षसम्म आधा आधा कार्यकालको भागबन्डा गरे पनि ओलीले उक्त भद्र सहमति उल्लङ्घन गरेपछि दुई नेताबीच फाटो आएको थियो । त्यसपछि ओलीले प्रचण्डलाई ठेगान लगाउन असंवैधानिक रूपमा संसद् विघटन गरे। संसद् विघटन ओलीका लागि नै प्रत्युत्पादक बन्यो। ओलीलाई सत्ता च्युत गर्न प्रचण्डलाई माधव नेपालले पनि साथ दिए। तीन नेताहरू तीनतिर भएपछि नेकपा विभाजन भएर तीन वटा पार्टी बनेपनि फेरि पछिल्लो समय सङ्घ र प्रदेश निर्वाचन नजिकिएसँगै प्रचण्ड ओलीसँग लचक देखिएको माओवादी बृत्तमा चर्चा शुरु भएको छ ।
तर कतिपय नेताहरुले ओली–प्रचण्डबीचको लचकता पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड नमिल्दाको बार्गेनिङका रुपमा पनि बुझेका छन् । किनकी प्रचण्डले केही दिनअघि मात्र कांग्रेससँग तालमेल नभए एमालेसँग हुनसक्ने घुर्कीपूर्ण अभिव्यक्ति दिएका थिए । प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादीलाई साथमा लिएर काँग्रेससँग बार्गेनिङ गरिरहेको हुनसक्ने आशंका पनि गरिएको छ ।
ओली–प्रचण्ड लचक बनेको समाचारहरु बाहिरिएपछि माओवादी केन्द्रभित्र कलह शुरु भएको छ । नेताहरुले असन्तुष्टी व्यक्त गरिरहेका छन् । अर्थमन्त्रीसमेत रहेका उपमहासचिव जनार्दन शर्मालाई बदनाम गराउन ओली ग्याङ लागेको भन्ने बुझाइमा रहेको माओवादीभित्र ओलीसँगको एकता स्वीकार गर्न नसकिने बताइएको छ। शर्माले प्रचण्डलाई भेटेर प्रतिगामी ओलीसँग कुनै पनि किसिमको तालमेल र लचकता देखाउन आवश्यक नभएको बताएका छन्।
शर्माले भेटेपछि एक सार्वजनिक कार्यक्रममा ओलीलाई व्यङ्ग्य गर्दै प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। ‘हाम्रो पार्टी त्यस्तो हो, जसको क्रान्तिकारी रूपान्तरणको सम्भावना बाँकी छ, अन्य पार्टीबाट त्यो सम्भावना छैन,’ बागमती प्रदेशबाट पदाधिकारी, केन्द्रीय सदस्यहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘चुनावदेखि चुनावबाट मात्र यो पार्टी क्रान्तिकारी रहिरहँदैन। यस मानेमा केपी ओलीलाई धन्यवाद ! किनकि उनले दुई चोटि संसद् विघटन गरेर हामीभित्रको क्रान्तिकारीपन जगाउन योगदान गरे।’
यद्यपी, एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेको खण्डमा सत्तारुढ गठबन्धन टुट्ने र राजनीतिक दुर्घटना हुने पनि नेताहरुको बुझाइ छ । ओलीको दम्भलाई यही चुनावबाट ‘साइजमा राख्न’ तालमेल गर्ने निर्णयमा पुगेको सत्ता गठबन्धन सिट बाँडफाँडको विषयलाई लिएर ओलीसँग साँठगाँठ गर्नु दुर्भाग्यपूर्ण हुने विश्लेषण गरिएको छ ।