काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो ।
जस अनुसार प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० यति मत परेको थियो । सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रस्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गरे ।
विधेयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक अव रोकेर राख्न सक्ने अवस्था नरहेको बताएका थिए । उनले प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयक अनुसार नै सो विधेयक आएकाले त्यसको विरोध गर्न नमिल्ने तर्क समेत गरे ।
यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्दा ध्वनी मत नमान्ने अडान राखेको थियो । एमालेले प्रतिनिधिसभामा मतदान गर्न माग गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक भदौ ५ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।