धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु भएका सबै बझाङका भएको खुलेको छ । कामको खोजीमा भारततर्फ हिंडेका बझाङको बुङ्गल गाउँपालिका–८ का ६ जना मध्ये पाँच जनाको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरूमा बुङ्गल गाउँपालिका–८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा छन् । मृतक मध्येका रैभान र चम्फा श्रीमानश्रीमती भएको खुलेको छ ।
उनीहरुसँगै भारत गइरहेका धनबहादुर जाग्री भने घाइते छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै रोजगारीको खोजीमा भारत गइरहेका थिए ।
दुर्घटनामा परेर चालकसहित अन्य ९ जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।