April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर

3K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला सम्पन्न भएको छ । बिहीबार ललितपुरस्थित होटल हिमालयमा सम्पन्न उक्त कार्यशालामा वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक सहकार्यका लागि एनआरएनए र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालसहितको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच सो समझदारीमा हस्ताक्षर भएको हो । एनआरएनएको तर्फबाट उपाध्यक्ष तथा वैदेशिक रोजगार राहत समितिका संयोजक आरके शर्मा र कोषका तर्फबाट निर्देशक कृष्ण अधिकारीले समझदारीपत्र निमार्णमा गृहकार्य गरेका थिए ।

कार्यक्रम एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । अध्यक्ष केसीले वैदेशिक रोजगारका नाममा हुने गरेका समस्यालाई सरकार र सरोकारवाला निकायले समाधान गर्नु पर्ने बताए ।

Advertisement

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा रहेका नेपालीको सुरक्षामा सरकारले पहिलो प्राथमिकता राखेर काम गर्ने बताए । एनआरएनएसँगको सहकार्यबाट वैदेशिक रोजगारमा रहेका नेपालीका समस्या समाधानमा धेरै काम गर्न सकिने उनको भनाइ थियो ।

यस्तै, मन्त्री कुँवरले विदेशमा मृत्यु भएका वा अलपत्र परेका नेपाली नागरिकलाई देशभित्र ल्याउनको लागि एनआरएनको पनि उत्तिकै दायित्व रहेको पनि बताए । मन्त्री कुँवरले नेपाली श्रमिकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गर्नसके एकमुष्ठ रेमिट्यान्स नेपाल आउने बताए । उनले मेलेसिया र साउदी अरबमा धेरै नेपाली श्रमिक रहेकाले त्यहाँ नेपाली बैंकको शाखा खोल्ने विषयमा नेपाली कानून र विदेशको ऐनको विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।

त्यस्तै बोल्ने क्रममा श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले पनि वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानको लागि एनआरएनएको सहयोग आवश्यक रहेको बताए । श्रम सचिव अर्यालले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कार्य अघि बढाएको बताए ।

यस्तै, एनआरएनका उपाध्यक्ष समेत रहेका वैदेशिक रोजगार राहत कोष समितिका संयोजक आर के शर्माले विदेशमा रहेका नेपालीलाई नेपालको उत्पादनमूलक क्षेत्रमा समेट्न आग्रह गरेका छन् । उनीहरूको जीवनभरको कमाइ अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको भन्दै उनले विदेशमा रहेका नेपालीलाई नेपालको उत्पादनमूलक क्षेत्रमा समेट्न आग्रह गरेका हुन् । उनले भने–‘ बार्षिक आउने रेमिट्यान्सको १० प्रतिशत मात्र सामुहिक लगानी गर्ने हो भने ९० अर्व हुन्छ, यो बजेट देश विकास र रोजगार सृजनामा लगाउन सकिन्छ ।’ शर्माले वैदेशिक रोजगारमा मृत्यु भएका परिवारले पाउँदै आएको रकमलाई बृद्धि गर्नु पर्ने पनि बताएका छन् ।

कार्यक्रममा कार्यपत्र विषयविज्ञ कृष्ण आचार्यले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष नरेन्द्र भाटले गरेका थिए ।