April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा विचार–गोष्ठी

2.1K

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘आख्यानकार डायमनशमशेर र उनका ऐतिहासिक उपन्यास’ विषयक विचार–गोष्ठीको आयोजना गरेको छ । आख्यानकार डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानसँगको सहकार्यमा प्रज्ञा भवनको लेखनाथ प्रवचनकक्षमा विचार–गोष्ठी आयोजना गरिएको हो ।

‘आख्यानकार डायमनशमशेर र उनका ऐतिहासिक उपन्यास’ विषयक विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले डायमनशमशेरलाई ऐतिहासिक विषयवस्तु र पात्रहरू बोकेर सटिक विचार प्रस्तुत गर्न सफल उपन्यासकारका रूपमा व्याख्या गरे । उनले राणाशासनको विरोध गरेका कारण डायमनशमशेर सत्ताद्वारा पीडित र अपहेलित बन्नुपरेको बताए । उनले भने– “डायमनशमशेरको जीवनको उत्तरार्ध निकै दुःखपूर्ण भएको थियो । राणा परिवारको मान्छे भएर पनि समाज प्रजातान्त्रिक हुनुपर्छ भन्ने मान्यता राखेकाले नै वहाँले दुःख भोग्नुभयो । उहाँ जेल पनि जानुभयो तर नेपाली ऐतिहासिक उपन्यासमा देश र विदेशमा मान्यता प्राप्त गर्ने उहाँ नै हुनुहुन्थ्यो ।”

कुलपति उप्रेतीले वि.सं. २०३३ सालमा डायमनशमशेरको उपन्यासबारे जोडिएको संस्मरण समेत कार्यक्रममा सुनाए । “एउटा समय यस्तो थियो कि उहाँ राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो र साहित्यमा पनि । सेतो बाघ, वसन्ती र एक अर्काे गरी उहाँका तीनवटा कृति प्रकाशित भइसकेका थिए । कसैले पनि ती कृतिका बारेमा लेख्ने साहस गरेनन् । २०३३ सालमा उपन्यास निस्केको थियो । त्यो कृतिले मलाई छोएन । वसन्ती, सेतो बाघ लेख्ने उपन्यासकारले त्यो कृतिमा आग्रह राख्नुभएको थियो । मैले त्यतिबेलाको ‘रूपरेखा’मा त्यसबारे समालोचना प्रकाशित गरेको थिएँ ।”

Advertisement

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपाली ऐतिहासिक उपन्यास विधामा डायमनशमशेर राणाको विशिष्ट योगदान रहेको स्मरण गरे । उनले भने– “किताबको रोयल्टीबापत प्राप्त भएको रकमले जीवनयापन गर्ने लेखक राणा नै हुनुहुन्थ्यो । उहाँका कृतिहरू थुप्रै विदेशी भाषामासमेत अनूदित भई प्रकाशित भएका छन् ।” प्रा. उपाध्यायले आख्यानकार राणा राणा परिवारकै सदस्य भएर पनि राणाशासन विरोधी अभियानमा लाग्ने व्यक्तिहरूमध्येका एक भएको बताए । उनले प्रजातान्त्रिक मूल्यमान्यताप्रति आस्था राखेर राणाले लेखेका ‘सेतो बाघ’, ‘वसन्ती’ लगायत उपन्यासहरू अहिले पनि पाठकमाझ उत्तिकै लोकप्रिय रहेको बताए ।

प्रज्ञा–प्रतिष्ठानको साहित्य (गद्य/आख्यान) विभाग प्रमुख प्राज्ञ माया ठकुरीले डायमनशमशेर राणा नेपाली साहित्यलाई विश्व बजारमा परिचित गराउने साहित्यकार भएको बताए । “राणाको सेतो बाघ उपन्यास विश्वकै सर्वाधिक महत्वपूर्ण, प्रतिष्ठित र सबैभन्दा ठूलो राशिको नोबेल पुरस्कारका लागि पेन नेपालबाट सिफारिस भई गएको थियो । डायमनशमशेरले भावी पुस्तालाई ठुलो गुण लगाएर जानुभएको छ ।”

कार्यक्रमका सभाध्यक्ष डा. तुलसी भट्टराईले उपन्यासकार राणा नेपाली उपन्यास साहित्यका विशिष्ट लेखक भएको बताए । उनले भने– “उहाँका उपन्यासहरू आज पनि उत्तिकै महत्वका छन् । राणा साहित्य लेखनका साथै प्रजातन्त्रका हिमायती हुनुहुन्थ्यो । उहाँ आफ्ना लागि नभएर सधैँ देश र जनताका लागि चिन्तित हुनुहुन्थ्यो ।”

कार्यक्रममा डायमनशमशेरका छोरा रघुशमशेरले बुवाका कृतिहरूका बारेमा लेखेकोमा खुसी व्यक्त गरे । उनले भने– “बुवाले लेख्नुभएका कृतिका बारेमा यति धेरै कार्यक्रम हुन्छन् भन्ने कल्पनासमेत गरेका थिएनौँ । बुवाको योगदानको कदर गरेर एकपछि अर्काे सहरमा कार्यक्रम गर्दै आएकोमा खुसी छु ।”

कार्यक्रममा डा. विष्णु न्यौपानेले ‘नेपाली ऐतिहासिक उपन्यास परम्परामा डायमनशमशेर राणाको योगदान’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै डायमनशमशेर राणा नेपालमा राष्ट्रप्रमुखका रुपमा राजा हुने वा प्रधानमन्त्री वंश विशेषका उत्तराधीकारी हुने कुलीन परम्पराको अन्त्य गरी जनताको छोरो शासक बन्न सक्ने शासन व्यवस्थाको स्थापनामा लागेका व्यक्ति भएको, प्रजातान्त्रिक समाजवादी चिन्तनलाई जीवनपर्यन्त आत्मसाथ गरेको र प्रजातन्त्रको स्थापना र लेखकीय स्वतन्त्रता चाहेको बताए । न्यौपानेले भने– “पार्टीभन्दा राष्ट्रियता उच्च ठान्ने राणा त्याग, बलिदान र निःस्वार्थ राजनीतिका नमुना हुनुहुन्थ्यो । उहाँका रचनामा प्रजातान्त्रिक मूल्यमान्यताप्रति आस्था, संसदीय व्यवस्थाप्रति प्रतिवद्धता र उदार जनमुखी शासन व्यवस्थाप्रति समर्थन भएको पाइन्छ । डायमनशमशेरका उपन्यास इतिहास, प्रेम र राजनीतिका सङ्गम हुन् । उहाँका उपन्यासका विषयवस्तुका स्रोत मूलतः इतिहास, सामाजिक यथार्थ र कल्पनामा आधारित रहेको पाइन्छ । यसै गरी बोलचालको गद्य, उखान टुक्का र सूक्तिहरूको प्रयोग पनि उहाँका उपन्यासमा पर्याप्त पाइन्छन् ।”

कार्यक्रममा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानका अध्यक्ष ऋषिराम पाण्डेले संस्थाले स्थापनाकालेदखि नै विशिष्ट आख्यानकार डायमनशमशेर राणाको योगदानको कदर गर्दै उनको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रकाश पार्दै कार्यक्रम आयोजना गर्ने गरिएको बताए ।

कार्यक्रमको सहजीकरण प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गरेका थिए ।