लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका उपाध्यक्ष राम चन्द्र पोखरेलले कार्यसमितिमा विकसित पछिल्ला गतिविधिहरुका कारण बेलायतवासी नेपालीहरु गम्भीर बनेको विचार प्रकट गरेका छन् । उनले विशेषगरी संघका वर्तमान अध्यक्षले विधानविपरीत गतिविधिहरु बढाएको, आइसीसीप्रति उत्तरदायी नभएको, भइसकेका निर्णयहरुलाई लागू नगरेको, पदाधिकारीहरुसंग झैझगडा अलमलिएको, अवैधानिक आर्थिक कारोवारहरु गरेको र व्यक्तिवादी चरित्रमा बदलाव नआएको सत्यको खुलासा गरेका छन् ।
एनआरएनएको राष्ट्रिय परिषद बेलायतको पछिल्ला गतिविधिहरुबारे संघका सम्बन्धित जिम्मेवार पदाधिकारीहरुलाई अवगत गराउने क्रममा गत आइतबार २६ जुनमा एक पत्र सर्कुलर गर्दै उपाध्यक्ष पोखरेलले भनेका छन् – गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतको कार्यसमितिमा विकसित भएका पछिल्ला गतिविधिहरुले गम्भीर बनाएको छ। विशेष गरि संघका वर्तमान अध्यक्ष प्रेम गाहा मगरले संस्थाको विधानविपरीत विभिन्न गतिबिधि अघि बढाएको, संघको अभिभावक संस्था गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदप्रतिको जवाफदेहितामा लापरवाही गरेको, कार्यसमितिमा भईसकेको निर्णयलाई लागू गर्न समेत अड्को थापेको, कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरुसंग झैँ झगडा गरी संगै काम गर्ने वातावरण कायम गर्न नसकेको, विधानअनुसार आर्थिक कारोवार नगरेको एवं व्यक्तिवादी प्रवृति हावी लगायतका गतिविधिहरु विकशित भएका हुन् ।
उनले उल्लिखित समस्याको उल्झनबाट निस्कन भन्दै कार्यसमितिको गत बैठकमा उपाध्यक्ष पोखरेलले पेश गरेका तीन वटा प्रस्तावहरु यसप्रकार रहेका छन् ।
गैर–आवासीय नेपाली संघ बेलायतको वर्तमान कार्यसमितिको कार्यशैलीप्रति सन्तुष्ट नभएकोले निम्नानुसार प्रस्ताव गर्दछुः
(१) गैर-आवासीय नेपाली संघ बेलायतले यसका कार्यबारे समीक्षा र आत्मसमीक्षाका साथ आजबाट नयाँ युगको सुरुवात गरौँ सबै साथीहरुसंगै जाने वातावरणप्रति कार्य गर्न प्रस्ताव गर्दछु।
(२) गैर–आवासीय नेपाली संघ आइसीसीसंगको बाँकी रहेका कार्यहरु यथासक्य चाँडो समाधानार्थ कार्य गर्न प्रस्ताव गर्दछु।
(३) गैर–आवासीय नेपाली संघ बेलायतभित्र विस्वासको वातावरण तयार नभएसम्म गैर–आवासीय नेपाली संघ बेलायतको सम्पूर्ण आर्थिक निकाशा (कारोवार) होल्ड (वन्द) गर्न प्रस्ताव गर्दछु।
त्यस्तै उपाध्यक्ष पोखरेलले गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतभित्रको किचलो र अन्तराष्ट्रिय समन्वय परिषदप्रतिको जवाफदेहिता पूर्ण रुपमा समाधान नभएसम्म गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतको सम्पूर्ण आर्थिक कारोवार बन्द (होल्ड) गर्न गराउन अध्यक्ष, उपाध्यक्षहरु, महासचिव, कोषाध्यक्ष लगायत कार्यसमितिसामु एवं सम्बन्धित सबैमा अनुरोध गरेका छन्।