राष्ट्रिय कविता महोत्सव–२०७९ भर्खरै सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औं वार्षिकोत्वसको अवसरमा बिहीबार सम्पन्न महोत्सवबारे प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको कविता महोत्सव सम्पन्न गरेको छ । यस पटकको नतिजाबारे आफ्नो धारणा राखिदिनुहोस् न ?
नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका दिन कवितालाई महत्व दिएर २०२२ सालदेखि प्रतिवर्ष आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ । यस वर्ष ५८८ ओटा कविता प्राप्त भएकामा उत्कृष्ट ३० ओटा कविता वाचनमा छानिएका र तीमध्ये सर्वोत्कृष्ट पाँच ओटा कविता पुरस्कृत भएका छन् । यसपालि निकै राम्रा कविता आएका थिए र तीमध्ये पुरस्कृत भएका कविता त निकै उत्कृष्ट छन् । कविताको मूल्याङ्कन विशुद्ध कविता हेरेर गरिने भएकाले आएका कवितामध्ये विषय वस्तु, शैली र सन्देशका दृष्टिले जुन कविता राम्रो छ त्यही छनोटमा पर्ने हो । यसपालि २०४५ सालपछिको अन्तरालमा छन्द कविता प्रथम हुन सफल भएको छ । यो पनि उल्लेखनीय कुरा भएको छ अनि नतिजा स्वतः समावेशी पनि भएको छ । यी सबै कुराले यसपालिको नतिजा धेरे राम्रो भएको छ भन्ने मलाई लागेको छ ।
प्रज्ञा प्रतिष्ठानको परिभाषामा राष्ट्रियता के हो ? त्यसभित्र के के अटाउँछन् ? सोही अनुसार प्रतिष्ठानले काम गरेको छ जस्तो लागेको छ ?
राष्ट्रियता निरपेक्ष चिज होइन, यो राष्ट्रमा बस्ने सम्पूर्ण नागरिकसँग सम्बन्धित सापेक्ष कुरा हो । राष्ट्रप्रतिको आस्था, राष्ट्र हितको भावना, राष्ट्रप्रेम, राष्ट्रको स्थिति, राष्ट्रमा बस्ने सम्पूर्ण नागरिको आफ्नो पन सबै राष्ट्रियतासँग सम्बन्धित कुरा हुन् । प्रज्ञा–प्रतिष्ठानले राष्ट्र र राष्ट्रियताको सम्बद्र्धनका निम्ति नै सधैँ काम गर्दै आएको छ । राज्यमा बोलिने सबै भाषा र साहित्यको उन्नतिका निम्ति काम गर्नु यसको एउटा उदाहरण हो । यसै कारण प्रज्ञाले नेपाली भाषाका कविताको यो महोत्सव जस्तै अन्य सबै मातृभाषालाई समेटेर प्रतिवर्ष मातृभाषा कविता महोत्सव पनि गर्दै आएको छ र अध्ययन, अनुसन्धान र प्रकाशन पनि सम्भव भएसम्म सबै भाषा, साहित्य, संस्कृति, दर्शन र जनजीवनका बारेमा गराउँदै आएको छ । प्रज्ञा प्रतिष्ठान सबै नागरिकको साझा प्राज्ञिक थलो भएकाले यसका गतिविधि पनि त्यस दिशामै केन्द्रित रहेका छन् ।
तुलनात्मक रूपमा अघिल्लो नेतृत्वभन्दा तपाईँको कार्यकाल कम विवादित भयो किन ?
तपाईँले कविता महोत्सव र यसको नतिजाका विषयमा भन्न खोज्नुभएको होला । यो प्राज्ञ परिषद् आएपछि हामीले कविता महोत्सवलाई सकेसम्म विवादरहित, विश्वसनीय र निस्पक्ष बनाउने काम गर्दै आएका छौँ । यसका निम्ति मूल्याङ्कन कर्तालाई समेत कसको कविता हो भन्ने थाहा नहोस् भनेर प्राप्त भएका कविताको कोडिङ् गरेर विज्ञहरूलाई मूल्याङ्कन गर्न दिने र कविहरूलाई अनिवार्य रूपमा वाचनमा उपस्थित हुनुपर्ने नियम बनायौँ । यसो गर्दा कवि उपस्थित नभए पनि अरूले नै लेखिदिएको कविता दर्ता गराएर अरूले नै वाचन गरिदिएका भरमा पुरस्कृत हुनसक्ने, कुनै उपनाम राखेर कविता पठाउने र पुरस्कृत भएमा आफ्नो हो भनी दाबी गर्ने तथा वाचनमा नम्बर नराख्दा महोत्सव हुनुपूर्व नै मूल्याङ्कन परिणाम बाहिर चुहिने जस्ता विकृतिलाई रोक्न सकिएको छ । कवि स्वयं उपस्थित भएर कविता वाचन गर्दा कविको समेत मूल्याङ्कन हुने र वाचनमा उपस्थित नभएमा कविता जतिसुकै उत्कृष्ट भएर पहिलो चरणमा उच्चतम अङ्क प्राप्त गरे पनि पुरस्कृत हुन नसक्ने भएको छ । यसै कारण पनि हाम्रो कार्यकाल कम विवादित भएको हो भन्ने मलाई लाग्छ । यद्यपि लाखौँ कविहरूका बिचमा कसै न कसैले त बुझेर या नबुझेर वा पूर्वाग्रह राखेर केही न केही विवाद त गरि नै हाल्छ । सबैलाई चित्त बुझाउन सकिदैन । सबैलाई आफूले लेखेको रचना राम्रो लाग्छ नै । मूल्याङ्कन भने निश्चित आधारमा हुने हुन्छ । त्यसमा पनि प्रज्ञा प्रतिष्ठानमा पुरस्कृत हुने कविता संविधान विरोधी, कुनै जाति, समुदाय र धर्मविरोधी पनि हुनुभएन । मूल्याङ्कन गर्दा सबै पक्षलाई हेर्नुपर्ने हुन्छ । हामीले प्रतियोगितालाई के गर्दा निस्पक्ष र विवादरहित हुन्छ भनेर नै काम गरेकाले यो कार्यकाल कम विवादरहित भएको हो भन्ने मलाई लाग्छ ।
काव्य विभागअन्तर्गत गरिने कार्यक्रम तथा योजनाहरू बारे तपाईँभन्दा अगि र तपाईँको कार्यकाललाई तुलना गर्दा के भिन्नता पाउनुहुन्छ ?
नेपाल प्रज्ञा प्रतिष्ठान निरवच्छिन्न उत्तराधिकार वाला संस्था हो । यसमा मान्छे परिवर्तन भए पनि प्राज्ञिक कार्यहरू निरन्तर रूपमा अगाडि बढिरहेका हुन्छन् । हामीभन्दा अगि पनि प्रशस्त कामहरू भएका थिए । हामी अलि बढी सक्रिय भयौँ र केही कामहरू देखिने गरी भए । यसकारण प्राज्ञिक जगत्ले हाम्रो कार्यकालमा धेरै कामहरू भए भन्ने चर्चा गरेको सुनिन्छ । हामीलाई पनि त्यस्तै लागेको छ । मेरै काव्य विभागअन्तर्गत पनि धेरै काम भएका छन् । मभन्दा अघि पनि काव्य विभागले धेरै काम गरेको थियो । मैले पनि केही महत्वपूर्ण कार्यहरू गरेको छु भन्ने लाग्छ । तुलना र मूल्याङ्कन त हामीले भन्दा बाहिरबाट हुने हो ।
तपाईँको कार्यकाल सकिदैछ, यो ४ वर्षको कार्यकालको समीक्षा गर्दा कस्तो पाउनुहुन्छ ?
हाम्रो कार्यकालमा जे जति काम भए त्यसमा हामी सन्तुष्ट नै छौँ तर धेरै काम गर्न सकिन्थ्यो कोरोनाको महामारीले दुई वर्ष लगभग अवरोध भयो तैपनि त्यसबेला पनि हामी चुप लागेर बसेनौँ । घरमा बसेर र अफिसमा गएर पनि काम गरिरह्यौँ । यस अवधिमा हामीले थुप्रै अनुसन्धान, नयाँ पुराना कृतिको प्रकाशन, दर्जनौँ गोष्ठी, सेमिनार,, अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार, अन्तर्राष्ट्रिय सेमिनारको आयोजना, भाषा, साहित्य, दर्शन, संस्कृति र सामाजिक शास्त्रका विविध पक्षमा अनेकौँ गोष्ठी तथा अनुसन्धान र प्रकाशनका कार्य भएका छन् । हाम्रा एघारओटा सबै विभागले गरेका कामको विवरण निकै लामो छ । यहाँ सबै उल्लेख गर्न सम्भव छैन । हामीले केही योजना बनाएका थियौँ, जस्तै सातै प्रदेशको भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, राजनीति, भूगोल, मूर्त–अमूर्त सम्पदा आदिको विस्तृत विवरण भएको बृहत् ग्रन्थ तयार गर्ने र त्यसलाई नेपाल दर्पणका नामबाट प्रकाशन गर्ने अनि अङ्ग्रेजीमा समेत अनुवाद गरी नेपाल चिनाउने योजना थियो । बजेटको अभावमा दुई नम्बर प्रदेश बाहेक अरूको तयार गर्न सकिएन । त्यस्तै अरू पनि योजनाहरू समयाभावले अधुरै रहने स्थिति छ । पछि आउने नेतृत्वले यसलाई अगाडि बढाउने छ भन्ने लागेको छ ।
तपाईको कार्यकालमा काव्य विभागबाट के–के काम भए ?
मेरो कार्यकालमा काव्य विभागबाट धेरै कामहरू भएका छन् । केही कार्यको उल्लेख गर्दा यस सम्बन्धमा राष्ट्रिय गजल महोत्सव, कविता काव्यसँग सम्बन्धित विभिन्न गोष्ठीहरूको आयोजना, नेपाली कविताको प्रादेशिक इतिहास लेखन, नेपाली महाकाव्यको इतिहास र विश्लेषण कृतिको प्रकाशन, फुटकर कविता, मुक्तक, हाइकु, गीति कविता, र गजलका सङ्ग्रहको प्रकाशन, पुराना र ओझेलमा परेका कतिपय साहित्यकारहरूका कविताको सङ्कलन र प्रकाशन, समकालीन नेपाली कविताका विविध विषयमा दर्जनभन्दा बढी अनुसन्धान र कृति प्रकाशन छन् । यस कार्यकालमा नेपाल बाहिरका कविहरूका कविताका सङ्ग्रहको प्रकाशन पनि भएको छ । यस क्रममा अन्तर्देशीय नेपाली कविताको प्रकाशन, उत्तर अमेरिकी नेपाली कविताको प्रकाशन, पुनर्वासका भुटानी नेपाली कविताको प्रकाशन, भारतेली नेपाली कविताको प्रकाशन, युरोपेली र बर्मेली नेपाली कविताको सङ्कलन आदि थुप्रै कार्यहरू भएका छन् र भइरहेका छन् । नेपाली कविताको आधिकारिक इतिहास लेखन कार्यको योजना बनाइएको भए पनि समय धेरै लाग्ने भएकाले अहिले सम्भव भएको छैन तर योजनामा छ । यस किसिमले मेरो विभागबाट पनि धेरै कामहरू भएका छन् । कोरोनाको महामारीले धेरै समय खेर गयो नत्र अरू धेरै काम गर्न सकिन्थ्यो भन्ने मलाई लाग्छ ।
पुनः अर्को कार्यकालका लागि पनि इच्छुक हुनुहुन्छ कि ?
जति बसिन्छ, त्यति समय सक्रिय र इमान्दार भएर काम गर्ने हो र गरिएको पनि छ । अर्को कार्यकालको कुरा त अहिले आफूले भनेर हुुँदैन । कामको मूल्याङ्कन, आवश्यकता र परिस्थितिले निर्धारण गर्छ । जहाँसम्म इच्छाको कुरा छ । मेरो विचारमा नेपालमा प्राज्ञ हुन लायक धेरै व्यक्तित्वहरू हुनुहुन्छ । त्यसमा पालो गर्दा नै राम्रो हुन्छ भन्ने लाग्दछ ।