April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

प्रज्ञामा ‘श्यामप्रसाद शर्माको व्यक्तित्व, कृतित्व र योगदान’ बारे चर्चा

2K

काठमाडौं । साहित्यकार श्यामप्रसाद शर्माले भाषा, संस्कृति, निबन्ध, समालोचनाजस्ता साहित्यिक विधामा जनताले बुझ्ने सरल भाषामा लेखेका कृतिको महत्व अहिले पनि रहेको बताए । शर्माको ९४औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले सोमवार प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजना गरेको ‘श्यामप्रसाद शर्माको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक विचार गोष्ठीमा शर्माका साहित्यमा प्रगतिशील चेतना रहेको जानकारी दिइयो

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शर्माकै नेतृत्वमा प्रगतिशील लेखक सङ्घको स्थापना भएको उल्लेख गर्दै सांस्कृतिक विषयमा महत्वपूर्ण कृतिको रचना उनले गरेका सुनाए ।

शर्माका साहित्यिक सृजना छोटा भएपनि महत्वपूर्ण रहेको कुलपति उप्रेतीले बताए । देशलाई अग्रगमनमा लैजान महत्वपूर्ण योगदान गरेका साहित्यकार शर्माको सम्झनामा पहिलोपटक जन्मजयन्ती मनाइएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध) विभागद्वारा प्रकाशित शर्माका रचना समेटिएको कृति श्यामप्रसादका साहित्यिक रचनाको सो अवसरमा विमोचन गरिएको थियो । कृतिको लेखन एवं सम्पादन प्रा डा धर्मराज अधिकारीले गरेका हुन् ।

Advertisement

यसैगरी सहिद स्रष्टा परिचय कोशको पनि कुलपति उप्रेतीले विमोचन गरेका थिए । यो कृतिको लेखन सम्पादन तेजविलास अधिकारीले गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।

शर्मा प्रगतिशील लेखक सङ्घको अध्यक्ष हुँदा उनलाई निजी स्तरबाट दिइएको मुक्ति पुरस्कार लिने कि नलिने भनी कार्यसमितिमै छलफल गर्न प्रस्ताव गरेको कुलपति उप्रेतीले सम्झाए । कार्यसमितिले संस्थागत निर्णय नगरेपछि उनले पुरस्कार ग्रहण गरेका थिए ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले नेपालको लोकतान्त्रिक वामपन्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्बाह गरेका शर्माले साहित्यमा पनि १०० भन्दा बढी जनताको मन मस्तिष्क रहने कृति रचना गरेको जानकारी गराए । शर्माको समालोचना र स्मृति ग्रन्थ प्रकाशनको आवश्यकता अझै रहेको उनको भनाई थियो ।

शर्मामा भएको राजनीतिक चेतनाकै कारण उनले तीनपटक जेल जीवन विताएका थिए । शर्मा चिन्तनसँगै चरित्रमा पनि जोड दिने साहित्यकार थिए । उनको तँ, तिमी र तपाइँ निबन्ध सामन्ती सोच राख्नेका लागि शिक्षामूलक रचनाका रुपमा लिइन्छ ।

कार्यक्रममा सदस्य सचिव उपाध्यायले शर्माले उमेर भएको छैन भनी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य पद अस्वीकार गर्नु अहिलेका राजनीतिक व्यक्तित्वका लागि शिक्षामूलक रहेको बताए ।

साहित्यकार शर्माका विषयमा प्रवचन गर्दै प्रतिष्ठानका पूर्व सदस्य डा अमर गिरीले नेपाली समाजका विभिन्न विषयलाई समेटी शर्माले साहित्य सृजना गरेको उल्लेख गर्दै सरल भएकाले जनताले तत्काल बुझ्ने गरेको बताए । शर्मा जीवनको अन्त्यतिर प्रतिष्ठानको आजीवन सदस्य नियुक्त भएका थिए ।

शर्माको संस्कृतिसम्बन्धी दुई चार कुरा पुस्तक हाम्रा लागि पनि महत्वपूर्ण भएको उनले सुनाए । नेपाल सांस्कृतिक विविधता भएको देश एकताको सूत्रमा गाँस्नुपर्छ भन्ने भावना उक्त पुस्तकमा उल्लेख गरिएको जनाइएको छ । शर्माले विभिन्न जातका बीचमा एकतालाई पनि कृतिमा जोड दिएका छन् ।

कार्यक्रममा प्रगतिशील लेखक संघका अध्यक्ष डा मधुसूदन गिरी, साहित्यकार शर्माकी जेठी छोरी सम्झना शर्मा, बाल साहित्यकार शान्तदास मानन्धर, कार्यक्रम संयोजक डा गोपीन्द्र पौडेल, प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूलगायतले उनले साहित्य एवं नेपालको वामपन्थी राजनीतिमा पु¥याएको योगदानका विषयमा चर्चा गरेका थिए ।