काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र गैर–आवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरबीच भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा कुँवरले आफू नेतृत्वको एनआरएनएले आधिकारिकता पाउनु पर्नेमा दाबी गरेका थिए ।
अध्यक्ष कुँवरले मन्त्री खड्कालाई एनआरएनएमा देखिएका समस्या र समाधानको उपायबारे जानकारी गराएका थिए । अध्यक्ष कुँवरले केही पात्रहरु एनआरएनएको सिद्धान्त र मूल्य मान्यताको विरुद्ध गएको र आफूहरु त्यसविरुद्ध उभिएको बताउँदै आफू नेतृत्वको टीमले आधिकारिकता पाउनु पर्नेमा दाबी गरेका हुन् । मन्त्रालयले यसबारे नबोल्दा विश्वभर छरिएर रहेका गैर–आवसीय नेपालीहरु अन्यौलमा परेको बताए । उनले यस्तो समस्या आउँदा लगानी गर्न पनि गारो मानेको भन्दै छिट्टै समस्या समाधानको पहल गर्न मन्त्रीलाई आग्रह समेत गरे ।
जवाफमा मन्त्री खड्काले दुबै टीमका साथीहरु मिलेर जानुपर्नेमा जोड दिँदै मन्त्रालयले सबैलाई एउटै व्यवहार गरेको जानकारी समेत दिए । मन्त्री खड्काले दुबै टिमले छलफल गरेर सामुहिक धारणा बनाएर आए मन्त्रालयलाई सजिलो हुने बताए ।
एनआरएनएको लगानीको सुरक्षा सरकारले लिने र त्यसको लागि आवश्यक वातावरण बनाउन सरकार तयार रहेको बताउँदै मन्त्री खड्काले लगानी भित्र्याउन आग्रह समेत गरेको भेटपछि अध्यक्ष कुँवरले जानकारी दिए ।
अध्यक्ष कुँवरले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेटेका थिए । भेटमा बजेट, एनआरएनएमा देखिएको समस्या र काठमाडौँ, भरतपुर महानगरको फोहोर व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो ।