काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवरबीच भेटवार्ता भएको छ । मंगलबार विहान भएको उक्त भेटमा ‘एनआरएनए’ विवाद, बजेट, वैदेशिक लगानी, फोहोर व्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो ।
भेटको क्रममा अध्यक्ष कुँवरले एनआरएनएको विवाद र समाधानको विषयमा जानकारी गराएका थिए । सरकारले ल्याएको बजेटमा एनआरएनएले उठाउँदै आएका केही विषयको सम्बोधन गर्न पहल गरेको भन्दै कुँवरले प्रचण्डलाई धन्यवाद दिए ।
त्यसैगरी कुँवरले काठमाडौँ, भरतपुर महानगर लगायतका क्षेत्रको फोहोर कोरियन प्रविधिबाट व्यवस्थापन गरेर मोहरमा परिणत गर्न सकिने बताएका थिए । त्यसमा कोरियन प्रविधि भित्राएर फोहोरको व्यवस्थापन गर्न आफू तयार रहेको बताउँदै कुँवरले त्यसको लागि सहजीकरण गरिदिन प्रचण्डसँग आग्रह समेत गरेका थिए । कुँवर लामो समयदेखि कोरियामा विभिन्न व्यवसाय गर्दै पनि आइरहेका छन् ।
जवाफमा अध्यक्ष प्रचण्डले एनआरएनए विवाद सम्मानजनक अवस्था सिर्जना गरी समाधान गर्नुपर्नेमा आफू र आफ्नो पार्टीको धारणा रहेको जानकारी गराएका थिए । प्रचण्डले विवाद समाधानको लागि आफूले सरकार तथा परराष्ट्र मन्त्रालयसँग पहल गर्ने वचन समेत दिएको भेटपछि कुँवरले जानकारी दिए ।
नीति तथा कार्यक्रम र बजेटले एनआरएनएलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाएको भन्दै ढुक्क भएर लगानी गर्न र काठमाडौँ, भरतपुरलगायतका क्षेत्रको फोहोरले हैरानी भएको भन्दै प्रचण्डले यसमा कोरियन अनुभव र प्रविधि भित्र्याउन प्रचण्डले आग्रह गरेको कुँवरले जानकारी दिए । उनले भरतपुर महानगरसँग कोरियन कम्पनीले यसअघि सम्झौता जानकारी गराउँदै त्यसलाई सहजीकरण गरिदिन समेत प्रचण्डले कुँवरसँग आग्रह गरेका थिए ।