लण्डन । आफ्नै पार्टी कन्जरभेटिभका साँसदहरुबाट राजीनामा दिन पर्ने दवावबाट मुक्त भएपछि प्रधानमन्त्री बोरिस जोह्न्सन अब करको दायरा घटाउन पर्ने झण्झटमा फसेका छन् ।
गएको सोमबार भएको उनको नेतृत्वप्रतिको अविश्वासको मतदानमा ५९ प्रतिशत साँसदहरुले उनको नेतृत्वमा विश्वास रहेको भनी उनको पक्षमा मतदान गरेपछि उनले “अब आफ्नो नेतृत्वप्रतिको आशंकाबाट मुक्त हुन ” आब्हान त गरे तर उनलाई अझ पनि आफ्नै पार्टीका सांसदहरुले नैतिकताको आधारमा राजीनामा दिन भनिरहेका छन् ।
यसैबीच देशमा बढ्दो महंगीका कारण करको दायरा घटाउन पर्ने दवाव उनलाई आइपरेको हो ।
आफ्नै पार्टीका ४१ प्रतिशत साँसदहरुले उनको बिपक्षमा मतदान गरेको ४८ घण्टा नबित्दै प्रधानमन्त्री जोह्न्सन हरेक बुधबार मध्यान्हमा हुने ‘प्राइम मिनिस्टर्स क्वेश्चन’ मा आज प्रतिपक्षी पार्टीहरु समेतबाट भारी प्रश्नहरुको सामना गर्नु पर्ने भएको छ ।
आफ्नै पार्टीका सहकमीहरुको दवाव, प्रतिपक्षीहरुको आक्रमण र जनताको अपेक्षाका कारण प्रधानमन्त्री जोह्न्सनले तत्काल राहतका लागि केही नीति तथा कार्यक्रमहरुको घोषणा गर्नु पर्ने देखिन्छ ।
करको दायरा घटाउने सम्बन्धमा मन्त्री परिषदमा छलफल नगरिएको भएपनि समाचार स्रोतहरुका अनुसार प्रधानमन्त्री अब करको दायरा घटाउने सोचमा रहेका छन् ।
आयको कति प्रतिशतसम्म कर नलगाउने भन्ने ‘थ्रेसहोल्ड बेलायतमा’ गएको ८५ बर्षमा अहिले सबैभन्दा उच्च रहेको छ ।