लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) कुल आचार्य समुहले आइसीसीको निर्देशन पालना गर्न अनुरोध गर्दै एनआरएनए युकेलाई पत्र पठाएको छ । अध्यक्ष तथा महासचिव पदमा निर्वाचित भईसकेपछि संघको विधि, विधान विपरित गतिविधि गरेको भन्दै आचार्य समुहका युरोप संयोजक सन्तोष भट्टराईद्धारा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुशी लिम्बुलाई सम्बोधन गरी पत्र पठाएको हो ।
पत्रमा फुटको बाटोतर्फ उन्मुख हुनेगरी स्वेच्छाचारी कार्य गरेको देखिएको र संघलाई थप क्षति हुनबाट जोगाउन तत्काल निर्णय गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख छ । भनिएको छ, ‘संघको अन्तराष्ट्रिय समन्वय परिषद् (आइसीसी) का निर्देशनहरु विपरीत समानान्तर गतिविधीलाई बल पुग्ने व्यवहार भएको र निर्वतमान अध्यक्ष श्री कुमार पन्तबाट पटकपटक सम्झाउने र सचेत गराउने कार्य भएको हामीलाई विदितै छ । पूर्व अध्यक्षसहित वर्तमान नेतृत्वले पनि आइसीसीको निर्देशन पालना गर्न पटकपटक अनुरोध गर्दै समय थपगरी सहजीकरण गर्ने प्रयास गरीरहदा पनी गैर–आवासीय नेपाली संघलाई फुटको बाटोतर्फ उन्मुख हुनेगरी स्वेच्छाचारी कार्यहरूमा तपाईहरू सक्रिय भएको देखिएकोले संघलाई थप क्षति हुनबाट जोगाउन तत्काल निर्णय गर्नुपर्ने अवस्थामा पुगेको कुरा अवगत गराउन चाहान्छु ।’
यस्तै, एनआरएनए युकेले संघका पंजीकृत सदस्यहरूबाट संकलित सदस्यता शुल्क वापत उठाएको रकम आफूसँग राख्नु विधान संगत नहुँदे बताउदै २० मे भित्रमा उक्त रकम विनाशर्त केन्द्रमा पठाउन अनुरोध गरेको छ ।
पत्रमा मे १५ मा एनआरएनए यूकेको बैठकले गरेका केही निर्णयहरू आईसीसीको निर्देशन पालना गर्ने भन्दा अल्झाउने र टार्ने प्रकृतिको रहेकोले परिमार्जन गर्न समेत अनुरोध गरिएको छ ।
यस्तै, संघको भवन निर्माण गर्ने कुरा र सदस्य शुल्क मिनाहाको विषयलाई अन्य विषयहरूसँग नजोडी आधिकारीक निवेदन क्षेत्रीय परिषद मार्फत पठाउन र केन्द्रको निर्णयको प्रतीक्षा गर्न पनि उक्त पत्रमार्फत अनुरोध गरिएको छ ।
गैर–आवासीय नेपाली संघ (एनआरएनए)ले आइसीसी युकेलाई पठाएको पत्र जस्ताको तस्तैः
श्री प्रेम गाहामगर ज्यू,
अध्यक्ष, एनआरएनए यूके
श्री खुशी लिम्बु ज्यू,
माहासचिव, एनआरएनए यूके
बिषय; आईसीसीको निर्देशन पालन गर्ने, गराउने सम्बन्धमा।
उपरोक्त बिषयमा तपाईहरू गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को अध्यक्ष तथा माहासचिव पदमा निर्वाचित भईसकेपछि तपाईहरूले संघको विधी, विधान र आईसीसी तथा क्षेत्रीय परिषदको आह्वान तथा निर्देशनलाई पालना गर्दै सिङ्गो एनसीसीलाई एकताबद्ध गर्नुपर्नेमा, संघको अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) का निर्देशनहरु विपरीत समानान्तर गतिविधीलाई बल पुग्नेगरी तपाईहरूबाट ब्यवहार भएकोले निर्वतमान अध्यक्ष श्री कुमार पन्तबाट पटक पटक सम्झाउने र सचेत गराउने कार्य भएको हामिलाई विदितैछ । पुर्व अध्यक्ष सहित वर्तमान नेतृत्वले पनि आइसीसीको निर्देशन पालना गर्न पटक पटक अनुरोध गर्दै समय थपगरी सहजीकरण गर्ने प्रयास गरीरहदा पनी गैरआवासीय नेपाली संघलाई फुटको बाटोतर्फ उन्मुख हुनेगरी स्वेच्छाचारी कार्यहरूमा तपाईहरू सकृय भएको देखिएकोले संघलाई थप क्षति हुनबाट जोगाउन तत्काल निर्णय गर्नुपर्ने अवस्थामा पुगेको कुरा अवगत गराउन चाहान्छु।
संघका पंजीकृत सदस्यहरूबाट संकलित सदस्यता शुल्क वापत उठाएको रकम एनआरएनए युकेले कुनैपनि बाहानामा आफूसंग राख्नु विधान संगत हुदैन (गैरआवासीय नेपाली संघको विधान २००३ को अन्तिम संशोधन को धारा ९ को ९.२, ९.३, ९.४) , त्यसैले अविलम्ब २० मे भित्रमा विनाशर्त उक्त संकलित शुल्क केन्द्रमा पठाई क्षेत्रीय परिषदलाई जानकारी गराउनुहुन निर्देशित गरीन्छ,(गैरआवासीय नेपाली संघको विधान २००३ को अन्तिम संशोधन को धारा २२.९.१, २२.९.२, २२.९.५, २२.९.७)।
सामाजिक संजाल मार्फत, समानान्तर गतिविधि गरी रहेका ब्यक्ति वा समुहलाई बल पुग्नेगरी, संघलाई आघात पुग्ने काम ब्यवहार र अभिब्यक्तिहरू नगर्न पनि सचेत गराउदछु।
एनआरएनए यूकेको मे १५ मा बोलाईएको बैठकले गरेका सकारात्मक निर्णयहरू लाई स्वागत गर्दै, केही निर्णयहरू आईसीसीको निर्देशन पालना गर्ने भन्दा अल्झाउने र टार्ने प्रकृतिको रहेकोले यस किसीमका निर्णयहरू परिमार्जन गर्न अनुरोध गर्दछु। विषेशगरी डाटाबेस जस्ता केन्द्रको विधान संग बाझिने खालका कुनैपनी निर्णय गर्नुपूर्व यथोचित परामर्श गर्नुहुन पनि सुचित गरीन्छ। (गैरआवासीय नेपाली संघको विधान २००३ को अन्तिम संशोधन को धारा ९.५)
राष्ट्रीय समन्वय परिषदबाट चुनिएर गएका अन्तर्राष्ट्रीय समन्वय परिषदका सदस्यहरू उक्त राष्ट्रीय परिषदका बैठकहरूमा सक्रिय सहभागी रहने र राष्ट्रीय परिषदको प्रतिनिधिको हैसियतले क्षेत्रीय परिषद र अन्तर्राष्ट्रीय परिषद बैठकमा सहभागी हुने, रहने हाम्रो संगठनात्मक प्रकृयालाई कडाईका साथ पालना गर्न र गराउनुहुन निर्देशित गरीन्छ, ( गैरआवासीय नेपाली संघको विधान २००३ को अन्तिम संशोधन को धारा २२.१३ )। वर्तमान विधानले क्षेत्रीय संरचनाको समेत परिकल्पना गरेकोले यसको ब्यवस्था गर्ने कार्यविधी (गैरआवासीय नेपाली संघको विधान २००३ को अन्तिम संशोधन को धारा १९.क बमोजिम) छिटै तयार गरेर पठाईने जानकारी गराउदै, हाललाई क्षेत्रीय संयोजकको निर्देशन पालन गर्न गराउनुहुन अनुरोध गर्दछु।
संघको भवन निर्माण गर्ने कुरा र सदस्य शुल्क मिनाहाको विषयलाई अन्य विषयहरू संग नजोडी आधिकारीक निवेदन क्षेत्रीय परिषद मार्फत पठाउनु हुन अनुरोध गर्दै, केन्द्रको निर्णयको प्रतीक्षा गर्न पनि अनुरोध गर्दछु।
आईसीसीको निर्देशन र विधान अनुरूप गर्नु गराउनु पर्ने कार्यहरू तेकिएको समयसिमा भित्र पुरानगरेमा थप प्रक्रियामा जानुपर्ने जटिलतालाई मध्यनजरगर्दै गैरआवासीय नेपाली संघको विधान २००३ को अन्तिम संशोधन को धारा २५.६ बमोजिम समस्या समाधानतर्फ संगठानीक गतिविधीहरू गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।
अत एनआरएनए जस्तो सामाजिक संस्थालाई सामुहिक नेतृत्वमा हिडाउने बाटोमा निरन्तर लागी रहनु भएका कार्यसमितिका सबै साथीहरुलाई आ–आफ्नो क्षेत्रबाट संस्थालाई विधि र विधान संगत चलाउन योगदान गरीरहन पनी हार्दिक अनुरोध गर्दछु।
सन्तोष भटराई
युरोप संयोजक (कुल अचार्य समूह)
गैर–आवासीय नेपाली संघ (एनआरएनए)