मलेसिया । श्रम रोजगार तथा सुरक्षा मन्त्री कृष्ण बहादुर श्रेष्ठले श्रमिकबाट श्रम सम्झौता विपरित रकम अशुली गर्ने मेनपावर व्यावसायीहरुलाई कारवाही गर्ने बताएका छन् । मजदुर दिवसको आवसरमा नेपाली दुतावास मलेसियाको आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मलेसियाबाट नेपाल फर्किएपछि त्यस्ता मेनपावर व्यावसायीहरु र एजेन्टहरुलाई कानुनी दायरामा ल्याई घिसारेर जेल हाल्ने बताएका हुन् ।
मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको प्रश्न तथा सुझावहरु बारे सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मलेसिया भ्रमणको क्रममा मलेसियाको श्रम मन्त्री तथा गृहमन्त्रीबाट नेपाली मेनपावर व्यावसायीहरुले नेपाल मलेसियाबच सम्पन्न श्रम सम्झौता विपरित श्रमिकहरुबाट ठूलो रकम अशुली गर्ने कार्य गरि नेपालीहरु ठगिने गरेको जानकारी पाउँदा लज्जित भएको बताए ।
मलेसियामा अस्वस्थ प्रतिस्पर्धा गर्दै आफ्नो मेनपावर कम्पनीमा डिमाण्डको कोटा पार्ने होडबाजी गर्न २०० भन्दा बढी मेनपावर व्यावसायी तथा एजेन्टहरु मलेसियामा आएको हामीलाई जानकारी छ, “मन्त्री श्रेष्ठले भने ।
मे १ बाट मलेसियाको सरकारले श्रमिकहरुको न्युनतम तलव १५०० रिंगेट बनाएको कारण १५०० रिंगेट भन्दा कम न्यूनतम तलव भएका कम्पनी तथा नेपालीहरुलाई दुख दिएका कम्पनीहरुको दुतावासबाट माग पत्र प्रमाणीकरण नगर्न निर्देशन दिएका थिए ।
सेक्युरिटी गार्डहरुको तलव ३००० रिंगेट बनाउन मलेसियाका श्रम मन्त्री र गृहमन्त्रीसँग प्रस्ताव गरेको र यसको कार्यनयनको लागि मलेसियाको सरकारको प्रतिनिधि र नेपाली दुतावासका कार्यबाहक राजदुतबीच छिट्टै सम्झौता हुने बताए । साथै २४ घण्टे बिमा लागू गर्न र सोक्सो सामाजिक सुरक्षालाई अझै धेरै प्रभावकारी बनाउन पनि प्रस्ताव गरेको उनले जानकारी गराए ।
यस्तै, बैदेशिक रोजगारीमा रहेकाहरुको हितका लागि १२ बुदे प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको र बैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकलाई ठुलो राहत हुने किसिमको अबको बजेट आउनेमा विश्वस्त रहन उनले आग्रह गरे । बैदेशिक रोजगारीबाट स्वदेशमा २० लाख रुपैयाँ वैधानिक तरीकाले रेमिटान्स गर्ने नेपालीलाई नेपाल सरकारको तर्फबाट २० लाख रुपैयाँ थप गरि स्वरोजगार बनाउने प्रस्ताव पनि समावेश गरेको उनले बताए ।
त्यस्तै, मलेसियाको प्रहरी प्रसाशन र अदालतबाट हुने गरेको समस्या तथा ढिला सुस्तीलाई समाधानको लागि नेपाल प्रहरीको टोली र आफ्नै वकिल पनि राख्ने ब्यवस्था मिलाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
फोटो: इश्वर राई, मलेसिया