April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए आइसीसीबाट एनसीसीहरुसंग साझेदारीको लागि अध्यक्ष कुँवरको पहिलो पत्र

4.1K

लन्डन । गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले बिद्यमान रहेका सबै राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) सँग समन्वय गर्नको लागि संचार सुरु गरेको छ । संघका अध्यक्ष बिनोद कुँवरले अप्रिल १३, २०२२ मा एक इमेल पठाएर यसको सुरुवात गर्दै साझेदारीको लागि अनुरोध गरेका छन् ।

इमेल प्राप्त भएसँगै केहि राष्ट्रिय समन्वय परिषदहरुले इमेलको जवाफ दिएका छन् । अगाडि कसरी जाने भन्ने अन्योलताको अन्त्य भएको र अब छिट्टै बैठक बसेर जवाफ दिने कुरा पनि उनिहरुले फोनवार्तामा जानकरी दिएका छन् ।

अध्यक्ष कुँवरद्वारा पठाइएको इमेलको प्रति जस्ताको तस्तैः

Advertisement

मितिः २०७८।१२।३० (अप्रिल १३, २०२२)

श्री अध्यक्ष ज्यूहरु,
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद

सर्वप्रथम यहाँहरु लगायत यहाँहरुले प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरुमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको तर्फबाट नयाँ बर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदमा उत्पन्न संकटको कारणले सन् २०२१ अक्टोबरमा सम्पन्न हुन नसकेको संघको १०औं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन राष्ट्रिय समन्वय परिषदहरुको सन् २०२२ मार्च ६ मा सम्पन्न बैठकको निर्णय तथा संघको विधानको धारा १६.१.४ ले दिएको अधिकार एवं नेपाल सरकार परराष्ट्र मन्त्रालयको प. सं २०७८।७९। NRN/10th Conference च.नं. ३२८५ मिति २०७८।०८।०३ को पत्र अनुसार संघका प्रमुख संरक्षक डा शेष घले ज्यूद्वारा आह्वान भई सन् २०२२ मार्च २२ देखि २५ सम्म बिधि सम्मत रुपमा काठमाण्डौं स्थित होटल याक एण्ड यतिमा सम्पन्न भएसंगै १०औं अन्तराष्ट्रिय महाधिवेशनबाट मेरो अध्यक्षतामा आगामी कार्यकाल (२०२१–२०२३) को लागि नयाँ कार्यकारिणि समिति चयन भएको व्यहोरा यहाँहरुलाई अवगत गराउन चाहन्छु ।

यस क्रममा संघको १०औं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नको लागि यहाँहरुले पुर्याउनुभएको अतुलनिय योगदान र सहयोगप्रति अन्तराष्ट्रिय समन्वय परिषदको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

गैरआवासीय नेपालीहरुको हक, हितलाई संरक्षण र सम्बर्धन गर्दै समुन्नत नेपाल निर्माणमा योगदान पुर्याउने हेतुले स्थापित गैरआवासीय नेपाली संघको गर्बिलो इतिहास रहेको तपाई हामी सबैलाई सर्वविदितै छ । तर पछिल्लो समयमा संघको घोषित लक्ष्य प्राप्तिको लागि गरिने गतिविधिहरु भन्दा संस्थाको प्रतिष्ठामा आँच आउने खालका कृयाकलापहरु बढ्दै गएकोले संस्थाप्रति नेपाल सरकार तथा सरोकारवालाहरुको विश्वास गुम्दै गएको अवस्थालाई हामीले नकार्न सक्दैनौं ।

यसै अवस्थालाई दृष्टिगत गरी नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषदको कार्यकारिणि समितिले हाल विध्यमान राष्ट्रिय समन्वय परिषदहरुसंग छलफल गरी संघको उद्देश्य अनुसार विभिन्न क्षेत्रमा आपसी संझौता, साझेदारी एवं संस्थाको संरचनात्मक सुधार गर्न आवश्यक पहल कदमी चाल्ने निर्णय गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।

आगामी दिनमा अन्तरराष्ट्रिय समन्वय परिषद र यहाँले नेतृर्व गर्नु भएको राष्ट्रिय समन्वय परिषदबीच साझेदारी हुन सक्ने क्षेत्र, बिषय वा परियोजनाको बारेमा आधिकारिक धारणा अन्तरराष्ट्रिय समन्वय समिति समक्ष पेश गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद्
बिनोद कुँवर
अध्यक्ष
गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद

संघको आधिकारिक फेसबुक पेजको सूचनाको लागि यहाँ क्लिक गर्नुहोस् ।