कर्णाली – नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै अहिले देशभर विद्यालय धमाधम सञ्चालनमा आएका छन् ।
आठ महिनाको अन्तरालमा विद्यालय सञ्चालनमा आएपछि यतिबेला शैक्षिक क्षेत्रमा विस्तारै शिक्षण क्रियाकलापको चहलपहल बढ्न थालेको छ । धुलोमाटोसँग खेल्दै आएका बालबालिकाले विद्यालय देख्न पाएका छन् । शहरमा कोठा लिएर पढ्ने बालबालिका गाउँबाट तल झर्ने क्रम चलेको छ । अभिभावक आफ्ना नानीहरु विद्यालय पठाउन पाउँदा खुशी छन् ।
गाउँबाट दक्षिण झर्नेको लर्को निरन्तर देखिएको छ । पढ्ने सिलसिलामा होस् या व्यापार व्यवसायका लागि, हिमाली भेगबाट ओर्लिनेको घुइँचो बढ्दै जाँदा यतिबेला यातायात व्यवसायीलाई भ्याइनभ्याइ छ । दैनिक सयौँको सङ्ख्यामा हिमाली बासिन्दा फापर, सिमी, चामल, ओखर, स्याउ लिएर ओरालिँदै गरेका दृश्यहरु जति पनि देख्न पाइन्छ उता गाउँहरु भने सुनसान हुन थालेका छन् । घरपरिवारका सदस्यको लुगाफाटोका लागि तराई झर्ने र कालापहाड उक्लने वर्षेनीको हिमाली बासिन्दाको बाध्यता यो वर्ष पनि छुटेन । कोरोना महामारीभन्दा गास र कपासको समस्या टार्न मनमष्तिस्कमा कोरोनाको डर पालेर भएपनि घर छोड्नुको विकल्प छैन कर्णालीवासीलाई । साविक कर्णालीका चार जिल्लाका लागि यो मङ्सिर महिना शैक्षिक सत्रको अन्त्य हो ।
यो कठोर चिसोमा हिमाली विद्यालय खुल्दा पहाडी, भित्री मधेश र तराईको बालबालिकाका लागि अनुकूलित वातावरण भएपनि त्यहाँका बालबालिकाका लागि भने यो निकै प्रतिकूल समय हो । जाडो हुने भएरै नेपाल सरकारले हिमाली जिल्लामा मङ्सिरलाई शैक्षिक सत्रको अन्तिम बनाएर पुस र माघ दुई महिना बिदा दिँदै आइएको थियो । कोरोना महामारीले ल्याएको विषम् परिस्थितिका कारण नेपाल सरकारको निर्देशनमा स्थानीय सरकारहरुले विद्यालय खोलेका छन् ।
यद्यपि, हिमाली जिल्लाका लागि यो याममा विद्यालय खोल्नु बाध्यकारी नै ठानिन्छ । मङ्सिर लागेयता कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, जुम्लाको न्यूनतम तापक्रम माइनस झरिसकेको छ । यही मङ्सिर ६ गते जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेन्टिग्रेटमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख आशामपुरा कार्कीले जानकारी दिनुभयो । “कहिले त जुम्लाको न्यूनतम तापक्रम दुई डिग्री सेन्टीग्रेट छ र अब तल लाग्न पनि सक्छ” उहाँले भन्नुभयो, “जाडो दिन प्रतिदिन बढिरहँदा जनजीवन कष्टकर बन्दै गएको छ ।” चिसोले पाइप जमेर घरमा पानीको अभाव हुन थालेको चन्दननाथ नगरपालिका– ६ जुम्लाका स्थानीय सम्झना महतले बताउनुभयो । महतले भन्नुभयो, “हामी बजारकोभन्दा एकाबिहानै उठेर दाउरा बेच्ने, खेतबारीमा मलपर्सो बोक्ने, घर लिपपोत गर्ने गाउँका महिला र विद्यालय जाने बालबालिकालाई चिसोले सताएको छ । रुघाखोकी लागेर समस्या बनाएको छ ।” कठ्याङ्ग्रिने जाडोले बालबालिका र ज्येष्ठ नागरिकलाई शौचालय जानसमेत कठिन बनाएको बताउने थालिएको छ ।
तरपनि त्यो कठोर जाडोमा यहाँका बालबालिका विद्यालय गएर पढ्न थालेका छन् । चिसोसँग जुधेर पढ्नु उनीहरुको दैनिकी जस्तै बनेको छ । यसबाट गरिब परिवारका बालबालिका बढी प्रभावित भएका छन् । चिसोले गाडीको डिजेल पेट्रोल जम्न थालेपछि यातायात व्यवसायीलाई सास्ती हुन थालेको छ । गाडी सञ्चालनमा ल्याउन उनीहरुले दाउरा किनेर तेल ट्याङ्कर तताउँदै आएका छन् । बिहान बेलुका चिसोले गर्दा हिमाली जनजीवन कष्टकर बन्दै गएको छ । कठ्याउने चिसोका कारण बालबालिकालाई कक्षा कोठामा बसाएर पढाउने अवस्था छैन ।
कठ्याङ्ग्रिने जाडोले पढ्ने विद्यार्थी र पढाउने शिक्षक सबैलाई ठूलो समस्या भएको पातारासी गाउँपालिका सरस्वती मावि रिनी जुम्लामा कार्यरत शिक्षक जयशंकर धितालले जानकारी दिनुभयो । नेपाल सरकारले अहिले हिमाली जिल्लाको शैक्षिक सत्र चार महिना बढाएको छ । यसले मुलुकभरको शैक्षिक सत्र मिलान भएपनि शिक्षण क्रियाकलाप सहज नहुने देखिएको छ ।
हिमाली क्षेत्रका विद्यालयमा हुने शैक्षिक गतिविधिहरु कोरोना कहर र कठ्याङ्ग्रिने जाडोको कष्टकर अवस्थामा सञ्चालन भइरहेको चन्दननाथ नमूना मावि खलंगा जुम्लाका प्रधानाध्यापक टंक महतले बताउनुभयो ।