पोखरा । हङकङनिवासी समाजसेवी दुर्गा गुरुङ “मिलन”ले आफ्नो जन्मदिनको अवसर पारी यही मंसिर २ गते तीन संस्थालाई सहयोग गरेका छन् ।
मिलन फाउण्डेशन नेपालका संरक्षक, मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष एवं पर्वत मञ्च–हङकङका अध्यक्ष समेत रहेका समाजसेवी गुरुङले मिलन फाउण्डेशन नेपालमार्फत् पाल्पाको एक विद्यालय र पुस्तकालयका लागि न्यानो पोशाक तथा पुस्तक सहयोग गरेका छन् ।
पाल्पाको रम्भा गाउँपालिका वडा नं. २, सुरुमडाँडास्थित महेन्द्र आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकका लागि न्यानो पोशाक र सोही विद्यालयमा स्थापित मिलन पुस्तकालयका लागि आवश्यक पुस्तक बिहीबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । सो अवसरमा वडाध्यक्ष उमानसिंह सारू, मिलन फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष देवी गुरुङ, सचिव खडकबहादुर गुरुङ “मदन”, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक देउकी सिंजाली “दिपिका मिलन”लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर सिंजाली, प्रधानाध्यापक नारायण मसराङ्गी र मिलन पुस्तकालयका अध्यक्ष दुर्गाबहादुर सिंजालीलाई सो सहयोग हस्तान्तरण गरेका हुन् । कार्यक्रममा विद्यार्थीहरूलाई कक्षागत रुपमा न्यानो पोशाक वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष सारूले समाजसेवी गुरुङले विद्यालयका लागि दिएको योगदान प्रशंसनीय रहेको बताए । सहयोगस्वरुप प्राप्त भएको सामानको सही सदुपयोग गर्न आग्रह गर्दै वडाध्यक्ष सारूले सरकारी होस् या गैर सरकारी सहयोग भएपनि सहयोगलाई सही ठाउँमा प्रयोग गर्नुपर्नेमा जोड दिए । सो अवसरमा उनले फोक्सिङकोटका अरु विद्यालयमा पनि यस्तै खालको सहयोगलाई विस्तार गर्न मिलन फाउण्डेशन र समाजसेवी गुरुङलाई आग्रह गरे ।
मिलन फाउण्डेशन नेपालकी कार्यवाहक अध्यक्ष गुरुङले समाजसेवी गुरुङले हरेक वर्ष फाउण्डेशनमार्फत् विभिन्न ठाउँमा सहयोग गर्दै आउनुभएको बताए । कार्यक्रममा फाउण्डेशनका सचिव खडकबहादुर गुरुङ “मदन”, मिलन पुस्तकालयका अध्यक्ष एवं वडा जनप्रतिनिधि दुर्गाबहादुर सिंजाली र शिक्षक अभिभावक संघकी अध्यक्ष अम्बिसरा सिंजालीले समेत मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षिका कलिसरा जर्घा र शिक्षक शंकर काम्मुले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रमको संयोजन समाजसेवी गुरुङकी छोरी एवं मिलन फाउण्डेशन नेपालकी कोषाध्यक्ष देउकी सिंजाली “दिपिका मिलन”ले गरेका थिए ।
यसैबीच, समाजसेवी गुरुङले आफ्नो जन्मदिनको अवसरमा महिला तथा बाल विकास मञ्च नेपाल (माया घर), काठमाडौंलाई समेत ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।। समाजसेवी गुरुङले माया घरकी सञ्चालिका दुर्गा आचार्यलाई सो सहयोग रकम प्रदान गरेको हो । त्यस्तै, तमुस्यो रि च्हमी परिवारलाई समेत समाजसेवी दुर्गा गुरुङ “मिलन”ले ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।। परिवारकी अध्यक्ष गौरी गुरुङ “मिलन”लाई सो रकम हस्तान्तरण गर्नुभएको हो । समाजसेवी गुरुङले हरेक वर्ष आफ्नो जन्मदिनको अवसर पारी यी संस्थालाई सहयोग गर्दै आएकी छन् ।
विभिन्न सामाजिक संघसंस्थाको विभिन्न जिम्मेवारीमा समेत क्रियाशील रहेका समाजसेवी गुरुङले मिलन फाउण्डेशन नेपालमार्फत् शिक्षा, खेलकुद तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । पर्वत, पाल्पा, कास्की, लमजुङ, चितवनलगायतका जिल्लामा समाजसेवी गुरुङले विभिन्न अवसरमा सहयोग गरेका छन् ।
यसैबीच, मिलन फाउण्डेशन नेपालको सुरुमडाँडामा सम्पन्न बैठकले पोखरा–५, कास्कीका मनलाल गुरुङ, मोदी गाउँपालिका–८, पर्वतका जयप्रकाश गुरुङ, मोदी–५, पर्वतका यामबहादुर मल्ल (जीवन), नारायण क्षेत्री र अमरबहादुर अधिकारीलाई फाउण्डेशनको सदस्यता दिने निर्णय गरेको छ । पाँचै जना नयाँ सदस्यलाई फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ “मिलन”को प्रस्तावमा नयाँ सदस्यका रुपमा बैठकले पारित गरेको हो ।