April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनमा प्रवासी नेपालीहरुलाई नेपालसँग जोड्न सक्ने नेतृत्वको आवश्यक रहेको प्रधानमन्त्रीको भनाई

२०७८ कार्तिक १४

3.4K

लण्डन । प्रधानमन्त्री शेर बहादुर देउवाले एनआरएनमा निस्वार्थ रुपमा सामाजिक काम गर्ने र विदेशमा रहेका नेपालीहरुलाई नेपालसँग जोड्न सक्ने नेतृत्वमा आवश्यक भएको बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन बेलायत आइपुगेका प्रधानमन्त्री देउवाले अध्यक्षका प्रत्यासी कुल आचार्यतिर लक्षित गर्दै निस्वार्थ व्यक्ति एनआरएनएलाई आवश्यक भएको बताएका हुन् ।

गैरआवासीय नेपाली संघ युकेद्वारा शनिबार आफ्नो सम्मानमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आचार्यले हालसम्म निस्वार्थ रुपमा सामाजिक काम गरिरहेको र विदेशमा बसी रहेका नेपालीहरुलाई नेपालसँग जोड्ने काम गरेको भन्दै प्रशंसा गरेका थिए । देउवाले बेलायतका अन्य कार्यक्रमहरुमा पनि आचार्यको विषयमा सोधीखोजी गरेका थिए ।

कार्यक्रममा एनआरएनए यूकेको तर्फबाट अध्यक्ष प्रेम गाहा मगरले गत आइतबार आयोजित संघका राष्ट्रिय समन्वय परिषदहरुको पहिलो विश्व भेलाले पारित गरेका निष्कर्षहरु प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेका थिए ।

Advertisement

संघका केन्द्रीय सल्लाहकार तथा पूर्व उपाध्यक्ष आचार्यले सन् २०२१–२३ का लागि संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । तर संघको दशौँ महाधिवेशनका लागि डेलिगेट्स (प्रतिनिधि)चयनको विषयलाई लिएर उत्पन्न विवादका कारण महाधिवेशन तथा चुनाव पर सरेको छ ।

उक्त भेलाले संघको विधानको मर्म र भावना अनुरुप ६५ प्रतिशत डेलिगेट्स चयन गर्ने जिम्मा २०२१–२३ का लागि निर्वाचित कार्यसमितिलाई दिन माग गरेको थियो । त्यस्तै गैरआवासीय नेपाली संघको विधानको व्यवस्था बमोजिम २ वर्ष भित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ (१)को (४) मा उल्लेख भए बमोजिम संस्थाको साख बचाउन पहल गर्नुपर्ने जिम्मेवारी संरक्षक परिषदमाथि आइ पुगेको भेलाले ठहर गरेको थियो ।

यसअघि संघले अक्टोबर २३–२५ मा महाधिवेशन गर्ने मिति तोकेको थियो ।