काठमाडौं, २२ असोज । गायक टिका सिवाकोटी ‘आदर्श’ को दशैं तिहार लक्षित गीति एल्बम ‘सलल झलल’ सार्वजनिक भएको छ ।
शान्तिश्री परियार, तिलक बस्नेत, संगीता सिवाकोटीको साथमा ल्याइएको दशैं तिहार बिशेष गीतमा शब्द र संगीत तिलक बस्नेत, स्वर टिका सिवाकोटी ‘आदर्श’, शान्तिश्री परियार, तिलक बस्नेत तथा संगीता सिवाकोटीको रहेको छ । निर्देशन सुरेन्द्र बसेलले गरेका छन् ।
हरिश निरौला र जुना सुन्दासको नृत्य रहेको भिडियोमा टिका सिवाकोटी, लक्ष्मी गिरी, कृष्ण सिवाकोटी, सृजना अधिकारी, तिलक बस्नेत, संगीता सिवाकोटीलगायतको अभिनय रहेको छ ।
पेशा व्यवसाय र रोजगारीका कारणले परदेश गएको परिवारको सदस्य चाडपर्वको खुशियालीमा घर नफर्किंदा उत्पन्न गर्ने न्यास्रोपनलाई भिडियोमा कलात्मक शैलीले मर्मस्पर्शी रूपमा जीवन्त तरिकाले पस्किइएको छ भने परदेश गएको परिवारको सदस्य घर फर्केको अवस्थामा ल्याउने उमंग र खुशियालीलाई पनि उत्तिकै जीवन्तताका साथ समेटिएको छ ।
तिहारका अवसर खेलिने देउसी भैलोका मौलिक र परम्परागत गीतले भिडियोलाई थप जीवन्त बनाएको छ ।