April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए अध्यक्षका प्रत्यासी बद्री केसीको टिमका दुई प्रभावशाली उम्मेदवारहरू कुल आचार्यको टीममा

4.7K

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्षका प्रत्यासी बद्री केसीको टीममा रहेका दुई प्रभावशाली उम्मेदवारहरुले केसीको साथ छाडेका छन् । केसीको टीमबाट उपाध्यक्षको उम्मेदवार तय गरिएका महेश श्रेष्ठ (जापान) र लोक दाहाल (बेल्जियम)ले केसीको साथ छाडेर अर्का अध्यक्षका प्रत्यासी कुल आचार्यलाई साथ दिने भएका छन् ।

केसीको उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि उनीहरू दुवै जनाले अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको टीमबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठ वर्तमान आइसीसी कार्य समितिका कोषाध्यक्ष हुन् भने दाहाल सहकोषाध्यक्ष हुन् ।

केसीले पाँच दिनअघि सार्वजनिक गरेको आफू पक्षीय उम्मेदवारहरूको सूचीमा श्रेष्ठ र दाहालको नाम र तस्वीर समावेश गरेका थिए । केसीको साथ छाडेर आचार्यको टीममा समावेश भएका श्रेष्ठ र दाहालले अब आचार्य नेतृत्वको टीमबाट उम्मेदवारी दिने बताएका छन् । श्रेष्ठले आइसीसी उपाध्यक्षमा र दाहालले कोषाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् ।

Advertisement

नेपालको धादिङ घर भई हाल बेल्जियममा बसोबास गर्दै आइरहेका एनआरएनएका पुराना अभियन्ताका दाहालले आइतबार साँझ आयोजित डबली संवाद (भर्चुअल कार्यक्रम)मा सहभागी हुँदै आचार्यले अघि सारेका एजेण्डा तथा व्यक्त गरेका प्रतिबद्धतामा आफ्नो समर्थन रहेको बताएका थिए ।

‘कुलजीले अघि सारेका एजेण्डामा मेरो सहमति छ, त्यसैले उहाँसँगै जाने निर्णयमा पुगेको छु’, दाहालले भने । उनि अहिले बेल्जियमबाट काठमाडौं आइपुगेका छन् ।

त्यसैगरी हाल जापानमा रहेका श्रेष्ठले अध्यक्षका अर्का उम्मेदवार केसीले आफ्नो नाम पनि उम्मेदवारहरुको सूचीमा राखेको प्रति असहमति जनाउँदै आचार्यका प्रतिबद्धता र एजेण्डालाई समर्थन गर्दै आचार्यकै टिमबाट निर्वाचनमा सहभागी हुने बताएका छन् ।

‘म बद्री केसीको टिममा छैन, मेरो समर्थन कुल आचार्यलाई छ’, श्रेष्ठले भने । आचार्यको टिमबाट महासचिवमा डा.केशव पौडेल (अमेरिका) र महिला उपाध्यक्षमा जानकी गुरुङ्ग (बेल्जियम) ले उम्मेदवारी दिने यसअघि नै टुंगो लागिसकेको छ ।

अध्यक्षका उम्मेदवार कुल आचार्यले आफूले कुनै प्यानल नबनाएको स्पष्ट पार्दै संघको विधान अनुसार प्यानल बनाएर निर्वाचनमा सहभागी हुन नपाइने प्रावधानप्रति आफू सचेत रहेको बताए । विचार र एजेण्डा मिल्नेहरुको सहकार्य मात्रै भएको उनको भनाइ थियो ।