लण्डन । प्रवासी नेपाली मञ्च यूकेका सदस्यहरुले आफ्ना नेता माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी प्रति ऐक्यवद्दता जनाउँदै प्रवासी नेपाली मञ्च यूके पुनर्गठन गरेका छन् ।
गत सेप्टेम्बर १२ मा अल्डर्शटमा भएको मञ्चका सदस्यहरु र उपस्थित अन्य शुभेच्छुकहरुको भेलाले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समुहको प्रवासी नेपाली मञ्च यूके विधिवत रुपमा विघटन गरी नेकपा एकिकृत समाजवादीको प्रवासी नेपाली मञ्च यूके गठन गरेका हुन् ।
भेलाले कृष्ण तिवारीको अध्यक्षतामा १७–सदस्यीय कार्य समिति गठन गरेको छ । बरिष्ठ उपाध्यक्षमा उमेश राज मोक्तान, उपाध्यक्षमा सुशीला राई, महासचिवमा अर्जुन खतिवडा र कोषाध्यक्षमा पुरुषोत्तम शर्मा रहेका छन् ।
त्यस्तै सदस्यहरुमा एस. के. गुरुङ, प्रकाश न्यौपाने, दीपक तामाङ, आयुश गुरुङ, नविन राई, धनश्याम लामा, इन्दिरा बस्याल, मेनुका थापा, सुशी गुरुङ, अभिषेक कट्टुवाल र नोर्बू शेर्पा निर्विरोध चुनिएका छन् ।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई भेलाको मुख्य अतिथिको रुपमा उपस्थित नेकपा एकिकृत समाजवादी पाटीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख श्री प्रसाद शाहले शपथ ग्रहण गराए ।
त्यस्तै कार्यक्रमको विशेष अतिथिको रुपमा भर्चुअल रुपमा सहभागी भएका पार्टीका युरोप सचिव सुभाष पोखरेलले र पार्टीको प्रदेश नं १ सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सुष्मा राईले पनि नवगठित कार्य समितिका सबै सदस्यहरुलाई बधाई तथा शुभकामना दिए ।
नवगठित कमिटीको सल्लाहकारमा हाललाई भूतपूर्व बरिष्ठ उपाध्यक्ष रामजी बराललाई चयन गरिएको छ । समय र आवश्यकता अनुसार सल्लाहकारहरुको संख्यामा थप गर्दै जाने नवगठित प्रवासी नेपाली मञ्च यूके (राष्ट्रिय संगठन कमिटी) का अध्यक्ष कृष्ण तिवारीले नेपाल मामिलालाई बताए ।