नेपाली आकाशमा बुद्ध एयरले २३ वर्षे लामो उडान गरेको छ। यो यात्रामा कम्पनीले आफ्ना प्रतिस्पर्धीलाई निकै पछाडि छाडेर पहिलो बन्न सफल पनि भएको छ। यो अविछिन्न यात्रामा कम्पनीको नेतृत्व गरिरहेका छन् वीरेन्द्रबहादुर बस्नेतले। २३ वर्षे यात्रामा कम्पनी नेपालको विश्वसनीय हवाइ सेवा प्रदायक भएको छ, सेवा प्रवाहमार्फत् आम सेवाग्रीको मन जित्न सफल भएको छ। कम्पनीका प्रबन्ध निर्देशक बस्नेतसँग नेपाल लाइभका सविन मिश्र र उत्तम काप्रीले गरेको कुराकानीको सम्पादित अंश:-
२३ वर्षको अन्तरालमा एउटा उचाइ प्राप्त गर्नु भएको छ। बुद्ध एयर भन्नेबित्तिकै नेपालको सेवा क्षेत्रको महत्वपूर्ण ब्रान्ड बनेको छ र तपाईँ पहिलो पनि हुनु भएको छ। सबैको ईच्छा पहिलो हुने नै हो। अब बुद्ध एयरको गन्तव्य के हो?
हाम्रा दुई वटा गन्तव्य छन्। तत्काल नै हामीले अहिले अन्तर्राष्ट्रिय उडानलाई पनि हेरिरहेका छौं। हामीले एकसय सीट क्षमताको जहाजलाई भारतीय प्रायद्वीप,चीनका नजिकको गन्तव्यलाई फोकस गरेर भावी उडानको योजना बनाइरहेका छौं। अर्को धनगढी–विराटनगर, विराटनगर–पोखराजस्ता एक घन्टाको उडान समय रहने गन्तव्यका लागि गृहकार्य गरिरहेका छौं। अब हामी अन्तर्राष्ट्रिय उडानमा जानैपर्छ। महामारीले एउटा शिक्षा दिएको छ। कर्तव्य र कर्म गर्नचाँहि छोड्न हुन्न। देशलाई सेवा दिनुपर्छ।
आफ्नो क्षमता विस्तारमा आनकानी गर्नु हुँदैन। यसमा फाइदा, नोक्सानभन्दा पनि सेवा दिनुपर्छ। व्यापारमा नाफा नै खोज्ने हो। नेपालको सबैभन्दा ठूलो उद्योग अब पर्यटन नै हुन्छ। कृषिलाई व्यावसायीकरणसँगै आधुनिकीकरण गर्ने हो। त्यसबाट आवश्यक जनशक्ति घट्छ। जति आधुनिकीकरण गर्छौँ, त्यति नै जनशक्ति घट्छ। त्यसमा जोडिएका मजदूर तथा मानवजनशक्ति त बाहिर निस्कनु पर्छ। अब रोजगारीको अवसर केमा सिर्जना हुन्छ? कुनै पनि राष्ट्रको उन्नति रोजगारी सिर्जना गरेर नै हुने हो। अमेरिकीहरू आज रोजगरी सिर्जना भएन र घट्यो भनेर डराइरहेका हुन्छन्।
त्यसैले हाम्रो देशको मध्यकालीन रणनीति आर्थिक उन्नतिका लागि पर्यटन नै हो। पर्यटनले नै रोजगारी सिर्जना गर्छ। यसका लागि ‘होम ग्रोन प्रोडक्ट’ वा ‘प्लान’ नै चाहिन्छ। क्षेत्रीय अन्तर्राष्ट्रिय उडानलाई नै हेर्दा हामी कोलकातामा असफल भएका हौं। हामीले काठमाडौंबाट मात्रै उडान गरेका थियो। तर, पोखराबाट त हामीले उडान गरेका छैनौं।
हाम्रो योजना दुर्गम उडान पनि हो। दुर्गम उडानका विषयमा पनि हामीले जहाजहरूको मूल्यांकन गरिरहेका छौं। अहिले अमेरिकामा सेन्नस स्काई जहाज बन्दै छ। यो वर्षको अन्तसम्ममा यो जहाज प्रमाणिकरण गरिसक्छन्।
हामीले के सोचेका छौं भने एकैचोटि अन्तर्राष्ट्रिय उडान गर्दा फाइदा हुँदैन। त्यसका लागि पुरक हिसाबले आन्तरिक पनि गर्न सक्नुपर्छ। अब विराटनगरमा हामीले जेट सञ्चालन गर्न सकेको अवस्थामा भोलि गएर विराटनगर–बैंकक वा विराटनगर–दिल्ली उडान हुन पनि सक्ला । त्यसकारण अहिले हामीले जेटबाट उडान गर्नका लागि मूल्यांकन गर्दै छौं। यो १ सय १० सिट क्षमताको जहाज हो। संभवत: अर्को वर्षसम्ममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ। तर कोरोनाकाे असर कहिलेसम्म जान्छ भन्ने कुराले पनि धेरै विषय निर्भर गर्छ। तर, हामी विभिन्न योजना बनाएर त्यसमै केन्द्रित भएर काम गरिरहेका छौँ।
अर्को हाम्रो योजना दुर्गम उडान पनि हो। दुर्गम उडानका विषयमा पनि हामीले जहाजहरूको मूल्यांकन गरिरहेका छौं। अहिले अमेरिकामा सेन्नस स्काई जहाज बन्दै छ। यो वर्षको अन्तसम्ममा यो जहाज प्रमाणिकरण गरिसक्छन्। यो ‘मल्टि इन्जिन नन् प्रेसराइज’ जहाज हो। अहिले आर्मीसँग भएको स्काई ट्रककै हाराहारीको जहाज हो। त्योभन्दा पनि राम्रो पर्फर्मेन्स भएको जहाज हो। यिनै जहाजबाट हामीले दुर्गममा उडान गर्ने लक्ष्य लिएका छौं।
तपाईँले अन्तर्राष्ट्रिय उडानमा एउटा कोलकाताको उदाहरण दिनु भयो। बनारसमा पनि उडान गरिसक्नु भएको छ। आन्तरिकमा पनि दुर्गममा खासै उडान गर्नु भएको छैन। तुम्लिङटार जानुभएको छ, अन्यत्र छैन। पहाडी क्षेत्रको उडानमा कसरी विजनेस प्रक्षेपण गरिरहनु भएको छ?
व्यवसाय विविधीकरणमा मेरो ध्यान छैन। एउटामात्रै क्षेत्र एभिएसनमा रहने। त्यसैकारणले पनि अबको हाम्रो अन्तर्राष्ट्रिय होस वा आन्तरिकतर्फको दुर्गम उडानलाई पनि बुद्ध एयरले नै नेतृत्व गर्छ। यो नै पुरक हुन्छ। दुर्गममा पनि प्रसस्तै स्कोप छ। हाम्रो देशको आकर्षण भनेकै उच्च पहाडी र हिमाली भेग हो। पर्यटकीय हिसाबले वा बहुमूल्य जडबुटीका हिसाबले पनि यो उच्च पहाडी तथा हिमाली क्षेत्रकै बढी आकर्षण छ।
उच्च पहाडी र हिमाली क्षेत्रलाई बाटोले जोड्ने भन्ने कुरा धेरै असम्भव छ। भएका ठाउँमा पनि पनि सधैँ चल्दैन। त्यसकारण हामीले हवाई सेवामार्फत् नै जोड्ने हो। साथै हामीले पाइलट तालिम स्कूलको विषयमा पनि हेर्दै छौं। पाइलट त सबैलाई चाहिन्छ।
मबाट सिक्ने विषय नैतिकता र करुणामय भावना नै हो। कुनै पनि व्यक्तिको ठूलो गहना नै यही हो। आ-आफ्नो स्तरबाट समाजलाई केही योगदान गर्नैपर्छ।
अर्बपतिलाई लखपति बनाउनुपर्यो भने उड्डयन क्षेत्रमा हात हाल्न लगाउनु भन्छन्। धेरै व्यवसायी धरासायी भए। तर, २३ वर्षदेखि तपाईँ नाफामै हुनुहुन्छ। त्यस्तो के सूत्र तपाईंसँग छ, जसका कारण तपाईं अरूभन्दा फरक बाटोमा हिँड्न सफल हुनुभयो?
नेपालका कतिपय आन्तरिक हवाई सेवा कसरी बन्द भए त्यसमा चर्चा गर्न पनि चाहँदिन। त्यसको पछाडी व्यवस्थापकीय त्रुटि नै हो। त्यसबाहेक अन्य कुनै कारण नै होइन। अन्तर्राष्ट्रिय उडानमाचाहिँ पर्यटकमा आश्रित एयरलाइन्सहरूले फाइदा पनि गर्छन् र नोक्सान हुँदा पनि ह्वात्तै नोक्सानमा जान्छन्। एकजना तपाईँहरू जस्तै पत्रकार भाइले, ‘दाइ यो व्यापारमा त विविधीकरण गर्नुपर्यो, कति एयरलाइन्समा मात्रै बस्नु हुन्छ। यसले त तपाईँहरूलाई ठूलो संकट ल्याउला भन्थे।’