यति बेला ‘लङ मार्च’
बालुवाटार–सिंहदरबार–पेरिसडाँडा–धुम्बाराही
चक्कर मार्नुमै अलमलिएको छ ।
खोइ कता गए शहीदका सपना ?
कता पुग्यो साम्यवादी यात्रा ?
यो परिवर्तित समयमा
यो बदलिएको सन्दर्भमा
मैले आफूलाई समाहित गर्न सक्नुपथ्र्यो
मैले आफ्नाकै पिठ्यूँमा छुरा रोप्न सक्नुपथ्र्यो
गल्ती मेरै हो कमरेड !
म समय अनुसार चल्न सकिनँ
‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गर्न सकिनँ
हो कमरेड !
म छापामार बनेको मान्छे छेपारो बन्न जानिनँ ।
कवि रोशन यक्सोकृत कवितासङ्ग्रहमा समावेश ‘आउटडेटेड योद्धाको कन्फेन्सन’ शीर्षक कविताको सानो अंशले प्रष्ट पार्दछ– रोशन यक्सो युवा पुस्ताका सशक्त हस्ताक्षर हुन् । साहित्यको लामो यात्रा पार गरिसकेका यक्सो साहित्य–साहित्यकारहरूका लागि दरिलो खम्बा भएर उभिइरहे । सङ्ग्रह निकाल्ने हतार गरेनन् । पुनः हङकङ साहित्यिक साझा शृङ्खलाका सहसंयोजकमा दोहोरिएका यक्सोले हालसालै ‘सम्झनाको चोमोलुङ्मा’ कवितासङ्ग्रह पाठकमाझ ल्याएका छन् । उनै यक्सोसँग नेपाल मामिलाका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छः
पाठकको रूपमा पढ्दा तपाइँको दृष्टिकोणमा ‘सम्झनाको चोमोलुङ्मा’ कत्तिको स्तरीय पुस्तक हो ?
➡ लेखककै रुपमा पनि ‘सम्झनाको चोमोलुङ्मा’ उत्कृष्ट पुस्तक हो भन्ने मेरो दाबी होइन । त्यो भ्रम ममा छैन । तर, छ्या ! नै भन्नु पर्ने गरिको झुर हो जस्तो पनि लाग्दैन । लेखकको रुपमा पनि र पाठकको रुपमा पनि यो एक ‘औसत पुस्तक’ हो भन्दा फरक नपर्ला कि ?
जानकारीअनुसार ‘चोमोलुङ्मा’को अर्थ राई भाषामा सगरमाथा हुन्छ । तपाइँको कविताहरूमा राजनीतिक कमजोरी, सामाजिक विक्रिति–विसंगति, देशबाट अलग रहनुको दुखाई, पहिचानका आवाज, बिद्रोहका आवाज छन् । तर, सङ्ग्रहको नाम चोमोलुङ्मा रोज्नुको कारण ?
➡ सङ्ग्रहभित्र ‘सम्झनाको चोमोलुङ्मा’ शीर्षकको कविता छ । त्यही कविताबाट सङ्ग्रहको नाम राखिएको हो । अरु खास कारण छैन ।
आम पाठकहरूको प्रतिक्रिया कस्तो आइरहेको छ ?
➡ पाठकहरूको प्रतिक्रिया त्यस्तो विधि धेरै त आएको छैन । तर जे जति आएको छ ठिकै आएको छ । सङ्ग्रहका सबल र कमजोर दुबै पक्षहरू बताउनुभएको छ । ती सबै प्रतिक्रियालाई मैले हार्दिकतासाथ ग्रहण गरेको छु । र, आफ्नो कमिकमजोरी बारे मनन् गरेको छु ।
पछिल्लो समय पुरस्कारका संख्याहरू बढिरहेका छन् । एक पुस्तकले कुनै न कुनै पुरस्कार पाएको देखिन्छ । यसलाई तपाइले कसरी लिनुभएको छ ?
➡ लेखक/सर्जक र उनीहरूको कृतीलाई सम्मान गर्नु, पुरस्कृत गर्नु नराम्रो त पक्कै पनि होइन । यसले लेखकलाई थप हौसला दिन्छ । तर, यसरी वितरण गरिने पुरस्कारमा राजनीति हुनु हुँदैन । पुरस्कार वितरण कुनै आग्रह पूर्वाग्रहबिना निष्पक्ष हुन सके राम्रो । लिने–दिने दुबैलाई आत्मसन्तुष्टि हुन्छ । खासमा लेखक/सर्जकहरूले पुरस्कार कै लागि भनेर लेख्छन् जस्तो चाहिँ लाग्दैन ।
सुनिन्छ, हङकङमा प्रायः नेपालीहरू निदाउदैनन् । कठोर श्रमबाट बँचेको बिदा र निदाउने समय सामाजिक कार्य, देशबाट आएका अतिथिहरूको स्वागत सत्कारका लागि खर्चिन्छन्, सत्य हो ?
➡ हजुर हो । नेपालबाट अतिथिको रुपमा आउनुहुने नेता, पत्रकार, कलाकार, लेखक, साहित्यकार वा अन्य क्षेत्रका जोकोहीलाई पनि हङकङका नेपालीहरूले सकेसम्म र भ्याएसम्म खुला हृदयले स्वागत र सत्कार गर्दै आएका छन् ।
यसरी घडीको सुईसँगै दौडिईरहँदा कुन समयमा साहित्य सिर्जना गर्नु ?
➡ घडीको सुईसँगै नदौडिए त सुखै छैन । भनिन्छ नि, ‘भद्रगोल बीचबाट गोल गर्नु ’ त्यसरी नै दौडधुप बीचबाटै सिर्जना गर्ने समय निकाल्ने हो । अहिलेसम्म यसरी नै व्यस्थापन भइरहेको छ । मान्छेको इच्छाशक्तिको कुरा पनि होला !
यस्तो व्यस्तताका बाबजुद हङकङ सिर्जनाको उर्बर थलो बनेको छ, जहाँ ठूलो संख्यामा श्रष्टाहरू जन्मिएका छन् । नेपाली साहित्यको ठूलो भार हङकङले धानेको छ । यो देशप्रतिको माया हो कि साहित्यप्रतिको मोह ?
➡ दुबै हो । मेरो विचारमा पहिले साहित्य प्रतिको मोह अनि देशप्रतिको माया ।
तपाइँ हङकङ साहित्यिक साझा शृङ्खलाको सहसंयोजक हुनुहुन्छ । यो १३ बर्ष लामो यात्रामा शृङ्खलाले कस्ता–कस्ता काम गरे ?
➡ भर्खरै सम्पन्न भएको हङकङ साहित्यिक साझा शृङ्खलाको १३औँ वार्षिकोत्सवबाट कवि जुनु राना संयोजक र म सहसंयोजकको रुपमा चयन भएका छौँ । हामीलाई विश्वास गरेर यो जिम्मेवारी सुम्पनुभएकोमा हङकङ साहित्यिक साझा शृङ्खला परिवारलाई धन्यवाद भन्नै पर्छ ।
नियमित रुपमा मासिक कार्यक्रम आयोजना गर्नुको अलवा यो १३ वर्षे यात्राको दौरानमा शृङ्खलाले विभिन्न कामहरू गर्दै आएको छ । २०७२ सालमा नेपालमा भुकम्प जाँदा शृङ्खलाले ‘टिकटमा कविता’ कार्यक्रम आयोजना गरेर त्यसबाट उठेको रकम भुकम्प पीडितहरूलाई सहयोग गरेको थियो । नेपालबाट आउनुहुने लेखक/साहित्यकारहरूसँग अन्तरक्रिया गर्ने, उहाँहरूको एकल कविता वाचन कार्यक्रम आयोजना गर्ने, नेपालबाट आएका विभिन्न लेखक सर्जकहरूको कृति विमोचन गर्ने साथै उक्त कृतिहरूमाथि विमर्श गर्ने काम शृङ्खलाले गर्दै आएको छ ।
यसको साथै हङकङ लगायत देशविदेशमा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । यस अघि हङकङका विभिन्न व्यक्तिहरू साथै नेपालबाट धर्मेन्द्र नेम्बाङ (स्वदेश साहित्यिक व्यक्तित्व पुरस्कार –२०१६) र अमेरिकाबाट दिपा पुन राई (प्रवासी सक्रिय साहित्यिक व्यक्तित्व पुरस्कार –२०१६)
बाट सम्मानित हुनुभएको छ । भर्खरै मात्र शृङ्खलाले कवि तथा प्राज्ञ शशी लुमुम्बूलाई ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार –२०८१’ बाट सम्मानित गरेको छ । अनि नेपालबाट हङकङ आउनुभएका ‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ शीर्षकमा विद्यावारिधी गर्नुभएका डा. पुरण राईसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अग्रज दाइदिदीहरूले हङकङ साहित्यिक साझा शृङ्खलालाई एउटा उचाइमा पु¥याउनुभएको छ । उहाँहरूको त्यो विरासतलाई कायम राख्दै अझै धेरै कामहरू गर्नु पर्नेछ ।
श्रृङ्खलाका संरक्षक दाजु गुरुङले मञ्चमा बोल्ने क्रममा प्रवासबाट लेखिरहेका साहित्यकारलाई नेपालका मिडिया, सर्जक, समालोचकहरूले विभेदपूर्ण व्यवहार गर्ने गरेको साथै प्रवासबाट खाली गुनासो र दुःख मात्रै लेख्छन् भन्ने आरोप लगाउने गरेको गुनासो राख्नुभएको थियो । यो सत्य हो ? यदि सत्य हो भने यस आरोपलाई कसरी लिनुभएको छ ?➡दाजु दाइको कुरालाई पुरै गलत त भन्न सकिँदैन । त्यस्तो अनुभव गर्ने साथीहरु पनि छन् । व्यक्तिगत रुपमा भन्नु पर्दा मैले त्यस्तो विभेदपूर्ण व्यवहार गरिएको अनुभव चाहिँ भोग्नु परेको छैन । जहाँसम्म मिडियाको कुरा छ, मुलधार भनिने छापा माध्यममा आफ्नो रचनाले स्थान पाउनु चाहिँ निक्कै गाह्रो नै रहेछ । प्रवासमा बस्नेहरुको लागि मात्र होइन नेपाल मै हुनुहुने साथीहरुको हकमा नि त्यो लागु हुन्छ । त्यस्तो किन हुन्छ ? त्यो थाहा भएन । तर अनलाइनहरुमा चाहिँ अलि सजिलै देख्छु । कुनैकुनै अनलाइनहरुले त प्रवासमा रहनुहुने लेखक साहित्यकारहरुको रचनाको लागि हप्ताको एक दिन छुट्याएका पनि छन् । प्रवासबाट गुनासो र दु:ख मात्रै त लेखिएका छैनन् । हङकङ कै कुरा गर्दा पनि यहाँबाट नयाँ विचारहरु पनि आएका छन् । भयवाद, रेखा कविता, समुच्च विचार, चाउचाउ कविता यहिँबाट सुरु भएको हो । कोरियाबाट इतर साहित्यको सुरुवात भएको छ । अरु देशहरुमा पनि यो लागु हुन्छ । घर-परिवार, देशबाट अलग/टाढा भएकोले अलिअलि गुनासो र दु:खको कुरा लेख्नु स्वभाविकै हो ।
अन्त्यमा तपाइँलाई लागेको केही ?
➡ यो अवसरको लागि तपाईंलाई धेरैधेरै धन्यवाद । भर्खरै ‘सम्झनाको चोमोलुङ्मा’ कवितासङ्ग्रह बजारमा आएको छ । कवितामा रुचि राख्नुहुने पाठकहरूलाई सङ्ग्रह पढेर इमान्दार प्रतिक्रिया दिनु हुन अनुरोध गर्छु ।