‘नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं संविधानसभा सदस्य तथा हाल भ्याली भ्यू इङ्लिस स्कूलका अध्यक्ष डा. तीलकबहादुर रावलसँग देशको समसामयिक आर्थिक अवस्था तथा वर्तमान सन्दर्भमा अर्थतन्त्रले पारेको असरका साथै राजनैतिक दलहरुको भूमिका र देशको समग्र शैक्षिक स्थितिका बिषयमा पत्रकार लेखनाथ सिकारुले गरेको सान्दर्भिक सम्वाद ।’
मुलुकको अर्थतन्त्रमा सुधार आउन सकेको छैन यसको कारण के हो ?
– निक्कै लामो समयदेखिनै अर्थतन्त्र डामाडोलको अवस्थामा छ । बजेटहरु आउँछन् जान्छन, हरेक बर्ष पैसा खर्च हुन नसके पनि बजेटको भोलुम बढेकै छ । पुँजिगत खर्च बढ्न सकेको छैन । यसमा समस्या छ । अर्धबार्षिक समीक्षामा बजेटको आकार घटाईने मात्र होइन राजश्व संकलन समेत नहुने हुँदा यसको लक्षलाई समेत घटाईएको हुन्छ, फेरवदल गरिएको हुन्छ ।
यस्ता गतिविधि सँधैभरी भैरहेकै हुन । बजेट ल्याउने खर्च राख्ने पुँजिगत खर्च हुन नसक्ने, अर्धबार्षिक समिक्षामा पूँजीगत खर्च घटाउने र त्यो संशोधित पूँजीगत खर्च समेत परिपूर्ति नहुने अवस्था हाम्रो मुलकमा सँधैभरी छ । त्यस्तै बजेटमा आर्थिक बृद्धि ६/७ प्रतिशत हुने भनिएको हुन्छ तर हुने वेलामा २ प्रतिशत मात्र भैरहेको हुन्छ । यस्तोबेला सरकारमा रहेका मानिसहरुले सरकारका अर्थमन्त्रीले ‘अर्थतन्त्रले लय पक्डदैछ अर्थतन्त्रमा सुधार भैरहेको छ भनेर भन्नु बेकारको कुरा हो ।’
त्यसो भन्नु हुँदैन । मुलुकको वित्तिय अवस्था जस्तो छ त्यस्तै देखाएर त्यसमा सुधार गर्नुपर्ने हो । त्यसो हुन सकिरहको छैन । बोलीमा विश्वास गर्ने अवस्था छैन । विश्वासमा संकट छ । अहिले बाणिज्य बैंकहरुमा पैसा थुप्रिएको छ, उनीहरुले उद्योगी ब्यवासायी र जनतालाई प्रसस्त ऋणदिन सक्ने अवस्था छ । तर, पनि उद्योगी ब्यवसायीहरुले संस्थाहरुले प्रसस्त ऋण पाउन सकेका छ्रैनन् ।
उनीहरुले बैंकबाट चाहेजती ऋण लिने, ब्यवसाय सञ्चालन गर्ने र मुनाफा गरेर बैंकको किस्ता ऋण तिर्न सक्ने अवस्था अहिले छैनन् । जसकारण अर्थतन्त्र चलायमान हुन सकेको छैन । मुलुकको वित्तिय अवस्थामाथी ब्यापार घाटा बढेको छ, आम्दानी कम खर्च बढी भैरहेको छ । हुन त यसो हेर्दा आयात पनि अहिले घटेको देखिन्छ तर, आयात भन्दा निर्यात बढी घटीरहेको छ । अर्थात नीर्यात ३ प्रतिशतले घटेको छ भने आयात २ प्रतिशतले घटेको छ । यसरी हेर्दा वेदेशिक व्यापारमा संकुचन आएको छ । आयात भन्दा निर्यात वढी घटेकोले अर्थतन्त्र लिक बाहिर गैरहेको छ । मुलुकको अवस्था राम्रो छैन ।
बजेटको समिक्षा सहित यस्को कारण र समाधान सहित बजेटलाई कसरी लिनु भएको छ ?
– बजेट पास भैसकेको छ तर, यो बजेटलाई परम्परागत बजेट नै भन्न सकिन्छ । किनकी यो बजेट पनि पहिलेपहिलेको भन्दा केमा परक छ र ? छैन बजेट बढाएको बढाएै छन, चालू खर्च वढेपनि पूँजीगत खर्च हुन सकेको छैन । राजश्व बृद्धिहुन सकेको छैन ।
अर्धबार्षिक समिक्षामा राजश्व लक्ष समेत कटौती गरिन्छ, त्यो पनि पूरा हुँदैन भनेपछि पहिलेको बजेट र अहिलेको बजेटमा के फरक छ र ? छैन । यसको कारण राजनीतिक अस्थिरता, राजनेताको अकर्मन्यता, भ्रष्टाचार, कुशासन र नेताका ब्यक्तिगत स्वार्थ प्रमुख कारण हो । अहिले पूँजीगत खर्च ३ सय ४५ अर्व राखेको छ, फाइनान्सियल म्यानेजमेन्ट, आन्तरिक ऋण ३ सय ६७ अर्व छ । बैदेशिक ऋण तिर्न सरकारले ऋण नै लिईरहेको छ ।
बाह्य सहयोग सोचेजती आउन सकेको छैन । यसपटक ५ अरबको लक्ष राखेको छ तर, १ महिनाको उपलब्धि ५ प्रतिशत मात्र छ । यस्तो निराशाजनक अवस्थामा परम्परागत बजेटबाट के उपलब्धी हुन्छ भनेर ठान्ने ? समस्या छ । यस पटक धानको उत्पादन पानी नपरेकै कारण पहिले जति जमीनमा धान रोपाईं हुन नसकेकाले घट्ने भनेकाछन् कृषि विज्ञहरुले । यसको अर्थ हाम्रो उत्पादन घट्दैछ, त्यसको ठाउँमा विदेशबाट आयात गर्ने चामलको मात्रा बढ्दैछ । भने पछि अवस्थामा सुधार त छैन ।
यसको अन्त्य भनेको उत्पादन बढाउनु पर्याे, उत्पादन गर्नेलाई प्रोत्साहन गर्नु पर्याे, मल वीउ, श्रोत साधन र प्रविधि पर्याप्त दिन सक्नु पर्यो । किसानलाई कृषि पेशातर्फ आकर्शित गर्नु पर्याे । कृषकलाई आवश्यक सबै कुराको पूर्ति गरिदिनुस, उद्योग धन्दा बढाउनुस, कृषि मैत्री, उद्योगी ब्यावसायी मैत्री अर्थनीति बनाउनुस् । कृषकले उत्पादन गरेको बस्तु रोडमा फाल्नु नपरोस, खोलामा बगाउनु नपरोस, उद्योगी ब्यवसायी ब्यवसायबाट पलायन नहुन । यस्तो भयो भने मात्र समस्या हट्छ । सरकारी स्वामित्वमा रहेको डीडीसीले दुग्ध किसानको तिर्नपर्ने अर्बाै रकम बाँकी नराखोस् ।
कृषकहरु समस्यामा पर्नुको कारण ?
– नेताको बोलीमा ब्याप्त अविश्वास छ । नेताले कर्णप्रिय कुरा बोलिदिने काम अप्रिय गर्दिने भैरहेको छ । यसले गर्दा नेताले भनेको कुरा कार्यान्वयन हुन सकेको छैन । कृषि गर्नेले अनुदान नपाउने, नगर्नेले खाईदिने भैरहेको छ । यसकारण युवालाई उत्पादनसँग जोड्नु पर्छ र उत्पादन सँग अनुदानलाई जोड्नु पर्छ यसो भयो भने समस्याको हल निस्कन्छ ।
समाधान के हो त ?
– योजना सहि बनाउनु परो, गर्न सक्ने बनाउनु परो, बनाए पछि त्यसलाई कार्यान्वयनमा लानु परो । किसानले दुःख गरेर गाई भैँसी पाल्छन् दुःखको पैसा डीडीसीले खाईदिन्छ ।
दुःख गरी गरी अण्ठा गोलभेंडा उत्पादन गर्छन, बेच्ने बेलामा मूल्य र बजार नपाएर रोड र खोलामा पोख्छन् । त्यो बन्द हुने नीति ल्याउनु पर्छ । उद्योगी ब्यवसायी मैत्री नीति र योजना बनाऔं त्यसलाई तत्काल कार्यान्वयन गरौं । लगानी पर्याप्त गरिदिऔं, पूर्वाधार निर्माण र श्रोतसाधन किसानसँग पुर्याइदिऔं, यस्ले किसानलाई राहत दिन्छ ।
अर्काे विदेशबाट आयातहुने ग्याँस सिलिण्डर विस्थापित हुने गरी पकेटक्षेत्र छुट्याएर २ हजार परिवारलाई विद्युतीय चुलो प्रयोग गर्न दिउँ । विहान ७ बजेदेखि वेलुका ८ बजेसम्म विद्युत आपूर्तिको ग्यारेण्टी गरिदिउँ । राष्ट्रबैंकले विद्युतीय चुलो किन्न सहुलियत दरमा पैसा दिने ग्यारेण्टी गरौं । यो सफल भएपछि अर्काे पकेट क्षेत्रमा ५ हजार ग्यास सिलिण्डर विस्थापित गर्ने गरी त्यस्तै योजना ल्याईदिउँ । यो पनि सफल भएपछि जिल्ला हुँदै सिंगो मुलुकमै यो योजना लागु गरेर ग्यास सिलिण्डर पूर्णरुपमा विस्थापित गरौं यसो भएको खण्डमा विदेशबाट आयात हुने ग्यास सिलिण्डरको अन्त्य हुनेछ ।
त्यसका लागि विजुलीको उत्पादन ब्यापक रुपमा बढाऔं, विदेशमा बेचौं, विदेशीले लिन नमानेमा आन्तरिक खपत बढाऔं । बढाउने सहज नीति बनाऔं । सबैकुरा एकैचोटी गर्छु भनेर हुँदैन ग्यास सिलिण्डर ५ बर्षमा विस्थापित गर्ने गरी अगाडी बढौं । बाटाघाटा बनाउन गाडी चलाउन त्यही विजुली प्रयोग गरौं । कृषि उत्पादन बढाऔं ब्यापार घाटा घटाऔं । ब्यापार घाटा घटाउने मूल कुरा यही हो, यसो भयो भने कृषक पनि समस्यामा पर्दैनन् मूलुक पनि समृद्ध हुन्छ ।
राजनीतिक नेताले कर्मचारीलाई र कर्मचारीले राजनीतिक नेतालाई दोष लगाउने गरेका छन, मुलुक विग्रनुमा यो हो चाँही के ?
– तपाईंले मेरो हृदयको कुरा भन्दिनु भयो । यस्तो कुरा पहिले देखि अहिलेसम्म चलिरहेको छ । कसैले राजतीतिज्ञहरुले बढी भष्ट्राचार गरेका हुन भनेका छन, कसैले कर्मचारीतन्त्रले भनेका छन् । यसमा दुवै दोषि छन् ।
राजनीतिज्ञले मलाई यति बुझाउ नभने कर्मचारीले जवरजस्ति त्यस्तो काम गर्नै सक्दैन, डर हुन्छ । तर, नेतालेनै मलाई यो समस्या छ, उ समस्या छ, निर्वाचनमा यति ऋण लागेको छ, भनेर उनीहरुलाई गलत बाटोमा लाग्नु पर्ने बाध्यताको सृजना गर्छन, सरुवा, बढुवा, नियुक्तिमा चलखेल गर्छन् अनि समस्या त्यहिबाट शुरुवात हुन्छ ।
म कुनै कर्मचारी छु भने मेरो सरुवा, बढुवा, नियुक्तिमा यति लेउ भन्दा मैले त्यो कसरी दिन सक्छु, के खाएको छु, कसरी खान सक्छु भन्ने अडिगलिने हो भने त्यो विकृतीको अन्त्य हुन्छ । तर, त्यसो नगरी हवस हजुर भनेर पैसा दिएर नियुक्ति लिनुभयो, बढुवा हुनभयो भने त्यो नेतालाई दिएको पैसा उठाउन घुस नखाई धरै छैन । म आफैं यसको उदाहरण हुँ । मलाई कांग्रेस सरकारले गभर्नर बनायो पछि एमालेको सरकार आएपछि एमाले सरकारले जनता र ब्यवसायीको अहितमा हुने गरि मौद्रिक नीति बनाउन नमान्दा मलाई हटाएका थिए । पञ्चायतकालमा देवेन्द्रराज पाण्डेले राजाले भनेको गलत कुरा नमानी सचिव पदबाट राजीनामा गर्नु भएको थियो ।
मैले पनि दुईचार जना प्रधानमन्त्रीसँग काम गरेको छु । उहाँहरुले घुमाउरो तरिकाले पैसा माग्दा तपाईहरुले के भन्न खोज्नुभएको हो मैले बुझिन, मैले कहिँ कतैबाट, कसैबाट पैसा लिएको भए सबैतिर बुझ्नुस मेरो हातबाट कुनै अनुचित काम गरेको भए, कसलाई कुनैकाम गरिदिए बापत कसैले दिन्छु भनेको भए उठाएर लिनुस् उहाँहरुलाई मेरो अगाडि बोलाएर सोधी दिनुस भनिदिन्छु, होइन भने मलाई यस्ता कुरा नगरिदिनुस भन्थे ।
म नचाहिँदा काम गर्दिनथे, घुस पनि दिन्नथे यसरी भन्न सक्नुपर्छ । काम नविगारेको भए कर्मचारीले पनि म अनैतिक काम गरी तपाईलाई घुस दिन सक्दिन भन्न सक्नु पर्छ । त्यही नहुँदा अहिले मुख्य सचिव समेत पक्राउ परेका छन् । नेताको दवावमा काम गरे, नेता चोखा भए, सहीगर्ने कर्मचारी फसे । भएको यहि हो ।
टक्कर लिनसक्ने ल्याकत आफूले राख्नुपर्छ । मलाई खोईत कसैले केहि गर्न सकेनन् । मलाई पनि त छ महिनामै गभर्नरबाट निकालेका होइनन् ? मेरो केहि गल्ति थिएन म सर्बाेच्च अदालत गएँ, त्यहाँबाट न्याय पाएँ फेरि काममा फर्केर आफ्नो योजना अनुसार राष्ट्र बैंक हाँके । यसर्थ दुवै दोषि छन् । तर, पछिल्लो समय राजेन्द्र लिङ्देनले नेताहरु भ्रष्ट छन भनेर नेतालाई दोष दिएका छन् भने आरजु राणाले कर्मचारी भ्रष्ट भएर समस्या भएको कुरा गरीरहेका छन् । यसर्थ दुवै गलत छन, दुवै दोषि छन् ।
मुलुकको समस्या पर्गेल्ने गरीको भिजन मिसन भएको राज नेता नै छैनन् । यसले गर्दा मुलुकमा, जनतामा निराशा बढीरहेको छ, जनताले बरु निश्चित समय सम्म निरंकुष शाषक आवस तर देश विकास होस हामीले सुख सुविधा पाउँ भन्ने जनताको ग्राफ बढीरहेको छ ।
यस्तो होला त ?
– अहिले यीनै नेताबाट त यो सम्भव देखिँदैन । किनकी यो नीति तथा कार्यक्रम र बजेट त्यस्तै कर्मकाण्डी छ, सोच ब्यवहार पुरानै छ, बदलिएको छैन, स्वार्थहरु झनझन बढीरहेका छन्, राजनीतिक इगो झन बढीरहको छ, बाह्य स्वार्थ र हस्तक्षेप त्यतिकै छ, नेतामा चेत आएकै छैन । देश र जनतालाई शिरमा राखेर काम गरौं भन्ने खालका राजनेता छैनन् । आफू र आफ्नाको हित, मलाई सुख सुविधा कसरी गरौं भ्रष्टाचारका काण्डबाट कसरी जोगिउँ भन्नेमा मात्र ध्यान छ । यसरी के हुन्छ र ?
नेतामात्र बेठीक छन कि प्रणाली नै बेठीक भयो ?
– बेठिकहरुले शासन गरेकाले अव प्रणाली र ब्यवस्था नै बेठिक भयो भन्ने निष्कर्षमा बहुसंख्यक जनता पुगिसके भन्ने मेरो निष्कर्ष छ ।
मुलुक बन्ला त ?
– शासन सञ्चालन गर्ने पद्दत्ती र पात्र ठीक भएनन् भन्ने निष्कर्ष जनताले निकालेका हुनाले र ब्यवहार मार्फत नै यो कुरा पुष्टि भएकोले अव ब्यवस्था यो उ भन्ने होइन, शासक यो त्यो भन्ने होइन, प्रणाली यो त्यो भन्ने होइन । अव यस्तो गरौं मिलौं भन्ने होइन देश बनाउन सक्ने योग्य ब्यक्ति खोजेर १० बर्ष डिक्टेटरसीप शासन ब्यवस्थामा सबैले काम गरौं देश बनाऔं ।
त्यस्ता ब्यक्ति होलान त ?
– छन नी, न्याय क्षेत्रमा छन, शिक्षा र स्वास्थ्य क्षेत्रमा छन, पूर्व कर्मचारीहरुमा छन, उद्योग ब्यवसायमा छन, किन नहुनु ? कल्याण श्रेष्ठ, बद्रीबहादुर कार्की, कृष्णजंग रायमाझी, टोपबहादुर सिंह, कुलमान घिसिङदेखि सन्दुक रुइत जस्ता ब्यक्तित्व छन् त मूलुकमा ।
यस्ता ब्यक्तित्वहरुसँग साथ सहयोग, सुझाव, सल्लाह लिएर मूलुक चलाउने हो भने रेलको लिकबाट बाहिर गैसकेको अर्थतन्त्रलाई पुनः लिकमा ल्याउन सकिन्छ । अर्काे भ्रष्टाचार र भ्रष्टाचारी प्रति निर्मम भएर अगाडि बढ्ने नेतृत्व आएमा मूलुक धनि बन्न केहीवेर लाग्दैन ।
तपाईं जस्ता योग्य र दक्ष ब्यक्तित्वहरु साइलेण्ट बस्दा समाधान कसरी होला, गर्ने कस्ले होला त ?
– म त तपाईं जस्ता सञ्चारकर्मीसंग भनिदिने हो, लेखिदिने हो । अब हाम्रो सकृय जीवन छैन । सुझाव सल्लाह दिने हो कसैले आवश्यक ठानेर मागेमा नत्र भयो । म कसैका ढोकामा गएर पद माग्ने, सल्लाह दिने, राजनीति पद प्रतिष्ठाका लागि कुद्ने मरिहत्ते गर्ने गर्दिन म केहि समय अघि देखिनै राजनीतिबारे निष्कृय दर्शक भएको छु । म अहिलेको राजनीति, राजनीतिक नेता, ती नेताले अहिले सञ्चालन गरेको शासन ब्यवस्था, त्यसले ल्याएका विकृति विसंगति प्रति चिन्तित छु असन्तुष्ट छु । तर, म एक्लैले गर्नै सक्ने केहि छैन् ।
भोलिका दिनमा म यो देशलाई बनाउन चाहन्छु, समृद्ध पनि चाहन्छु मलाई साथ सहयोग देउ भनेर कोही निस्कियो भने उसलाई सहयोग गर्छु । साथ दिन्छु । त्यो क्षमता मसँग छ । मैले माथि भनेका २ वटा एजेण्डा रेलको लिकबाट बाहिर निस्किएका छन् । अर्थतन्त्रको डिब्बा सुधारेर लिकमा ल्याउने र भ्रष्टाचारमा निर्मम बन्ने भएमा सबै ठिक हुन्छ ।
मूलुक समस्यामा पर्नुमा मौद्रिक नीति पनि जिम्मेवार छ की ?
– छैन, राष्ट्र बैंकको आफ्नै सिमितता छन् । नीति छ, जस्ले आन्तरिक स्थायीत्व, बाह्य स्थायीत्व हेरेर काम गर्छ । फेरी हाम्रो मुद्रा भारतीय मुद्रासँग पेग गरेको छ । जस्ले गर्दा भारतीय स्थितिलाई अनुगमन नगरेर हामीले त्यति स्वतन्त्रता पूर्वक मौद्रिक नीति बनाउन सक्दैनौं । यस्तो अवस्थामा पनि कोभिडले तहस नहस पारेको बेला बजेटले सिन्को भाच्न नसकेको बेला राष्ट्र बैकले आफ्नो सिमाभित्र रहेर मोद्रिक नीतिलाई अर्थतन्त्रलाई चलायमान बनाएको छ । त्यो राम्रो कुरा हो । राष्ट्र बैंकको गभर्नरले विगार्ने कुरा हुँदैन । अहिलेको गभर्नरले पनि नराम्रो काम गरेका छैनन् ।
सहकारी ठगीको कुराले र एसईईको नतिजाले दुवै क्षेत्र समस्यामा देखिए नी ?
– हो, यो दुवै क्षेत्र समस्यामा छन् अहिले । पहिले म गभर्नर भएको वेलामा पनि सहकारीलाई राष्ट्र बैकले नीयमन, निर्देशन र सुपरभिजन गर्नुपर्छ भन्ने कुरा उठेको थियो । त्यो राष्ट्र बैंकको नीति नियम देखि व्यवहारले नै यो कुरा राष्ट्र बैंकले गर्न सक्दैन भनेको थिए । अहिले पनि त्यसको कुरा उठेको छ जस्तो लाग्छ । तर, त्यो अब्यवहारिक र राष्ट्र बैंकले धान्न नसक्ने कुरा हो । यसका लागि स्वतन्त्र आयोग बनाउनु पर्छ । त्यसलाई सहयोग, सुझाव, सल्लाह राष्ट्र बैंकले गर्नुपर्छ भनेको थिए । अहिले पनि त्यसै गर्नुपर्छ ।
अधिकार सम्पन्न राष्ट्रिय स्वतन्त्र आयोग बनाउनु पर्छ त्यस मार्फत समस्या समाधान गर्नुपर्छ । शिक्षा क्षेत्रमा पनि यस्तै समस्या छ, त्यसलाई सहि नीति नियम बनाउने र नीति नियम कार्यान्वयन गराउनु पर्छ । शिक्षकले राजनीति गर्ने होइन पढाउने काम गर्नुपर्छ । विद्यार्थीले नेपाल मै भविश्य देख्ने विदेश जान नपर्ने अवस्थाको सृजना गर्नुपर्छ त्यो खालको सहि शिक्षा नीति नियम सरकारले बनाउनु पर्छ ।