काठमाडौं– टेस्ट क्रिकेटको विश्व वरियतामा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भारतीय कप्तान विराट कोहलीलाई उछिनेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको ब्याटिङ वरियतामा केन विलियम्सन दोस्रो स्थानमा उक्लिएका हुन्। केनले ८८६ रेटिङ पाएका छन्। यसअघि दोस्रो स्थानमा रहेका भारतीय कप्तान विराट कोहली भने तेस्रो स्थानमा झरेका छन्। विराटको पनि रेटिङ समान ८८६ अंक नै छ।
वेष्ट इन्डिजविरुद्धको पहिलो टेस्ट क्रिकेटमा एकै इनिङमा न्युजिल्यान्डले १३४ रनको जित निकाल्दा कप्तान केन विलियम्सनले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नै रेकर्ड तोडेका थिए। कप्तान केनले ४१२ बलको सामना गर्दै ३४ चौका र दुई छक्काको मद्दतमा २५१ रन बनाएका थिए। यसअघि उनको टेस्ट क्रिकेटमा २४७ रनको उच्च स्कोर थियो।
टेस्ट क्रिकेटको ब्याटिङतर्फ शीर्ष स्थानमा भने अस्ट्रेलियाका स्टेभ स्मिथ छन्। उनले ९११ रेटिङ अंक पाएका छन्।