सुदूरपश्चिम- कोभिड—१९ को कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा बढ्दै गएको छ। पछिल्लो समय यहाँ खाद्य असुरक्षाको अवस्था १५ बाट बढेर २३ प्रतिशत पुगेको एक अध्ययनले देखाएको छ। आर्थिक वर्ष २०७३-०७४ को तथ्याङ्क अनुसार यो प्रदेशमा खाद्य असुरक्षाको अवस्था १५ प्रतिशत रहेको थियो।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीमा शुक्रबार आयोजित विश्व खाद्य दिवस कार्यक्रमा प्रस्तुत गरिएको प्रतिवेदनकाअनुसार कोभिड—१९ सङ्क्रमणका कारण प्रदेशमा प्रत्येक दश घरमा एक घरको आयआर्जनमा प्रतिकूल असर पुग्दा तीन घरको आम्दानी घटेको छ। यसैगरी कोरोना कहरले ११ प्रतिशत कृषि क्षेत्रमा काम गर्ने मजदूरको र २५ प्रतिशत गैरकृषि क्षेत्रमा काम गर्ने मजदूरको आम्दानी अवरुद्ध भएको छ।
विश्व खाद्य कार्यक्रम (एफएओ)ले सरकारसँगको समन्वयमा कोभिड—१९ले खाद्यान्नको अवस्थामा पारेको प्रभावका सम्बन्धमा अध्ययन गरेको जनाइएको छ। खाद्य अधिकारका क्षेत्रमा कार्यरत परिवर्तनका लागि कार्यरत युवा समूह नेपाल (याक नेपाल)का कार्यकारी निर्देशक डबल बमले खाद्य सुरक्षाका दृष्टिले सुदूरपश्चिम प्रदेश सुरक्षित रहे पनि कतिपय जिल्लाको जनसङ्ख्या यसको पहुँचमा पुग्न नसकिरहेको बताए।