सुर्खेत । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीहरुको समन्वय बैठक सम्पन्न भएको छ । शनिबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जि.सी.को अध्यक्षतामा बसेको बैठकमा प्रदेश प्रहरी समायोजनको विषयमा छलफल भएको हो ।
त्यस्तै, प्रदेशको शान्ति, सुरक्षाको अवस्थाको सम्वन्धमा अनुभव आदानप्रदान समेत भएको छ । बैठकमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जि.सी. सहित बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ र सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको उपस्थिति रहेको थियो ।
बैठकमा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादव, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव घिमिरे र सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील बैद्यको समेत उपस्थिति रहेको थियो ।
बैठकले नेपाल सरकार गृह मन्त्रालयसँग समन्वय गरि आगामी चैत्र महिनाको पहिलो हप्ता बागमती प्रदेशमा प्रदेश प्रहरी समायोजन लगायतका विषयमा थप छलफल गर्न पुनः समन्वय बैठकको आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै मन्त्रीहरुले छिटोभन्दा छिटो प्रदेश प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिएका बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।