November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि आज ओमान जाँदै नेपाली टोली

5.2K

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका नेपाली राष्ट्रिय क्रिकेट टाेली आज (मंगलबार)  ओमान प्रस्थान गर्दै छ। ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टाेली ओमान जान लागेको हो। नेपाली टाेली आज बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।  

ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टाेलीको घोषणा गरिसकेको छ।  टोलीमा बलर गुलशन झाले पहिलो पटक स्थान बनाएका छन्। उनलाई मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोलीमा स्थान दिइएको हो।

वर्ल्डकप लिग–२ अन्तर्गत ओमानमा हुने प्रतियोगितामा घरेलु टाेलीसहित अमेरिकाविरुद्धको एकदिवसीय सिरिजको तयारीमा रहेको नेपालले त्यसअघि पपुवा न्यूगिनीसँग २० र २३ भदौमा खेल्नेछ। लिग(२ अन्तर्गतको उक्त प्रतियोगिता २८ भदौदेखि ४ असोजसम्म ओमानमा नै हुँदै छ।

Advertisement

पपुवा न्यूगिनीसँगको दुई खेलमध्ये पहिलो खेल दिउँसो हुनेछ भने दोस्रो खेल ‘डेरनाइट’ हुने क्यानले जनाएको छ। 
पूर्वकप्तान पारस खड्काले सन्यासको घोषणा गरेपछि यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ।