काठमाडौं– इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा आयाक्सलाई १–० गोलले पराजित गर्दै लिभरपुलले नकआउट चरणमा स्थान बनाएको हो।
लिभरपुलको जितमा कर्टिस जोन्सले गोल गरे। घरेलु टिम लिभरपुलले आयाक्ससँग पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। खेलको ५८ औं मिनेटमा कर्टिसले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। बाँकी समयमा लिभरपुलले आयाक्सलाई रोक्दै जित निकालेको हो। नतिजा लिभरपुलको पक्षमा गएपनि खेलअवधिभर लिभरपुलले भन्दा आयाक्सले राम्रो खेलेको थियो।
एक खेलअघि नै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको लिभरपुलले समूह ‘डी’ मा पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोर्दै १२ अंक बनाएको छ। यहि समूहको अर्को खेलमा एटलान्टाले मिड्जील्यान्डसँग १–१ गोलको बराबरी खेलेको छ। समूहको दोस्रो स्थानमा रहेको एटलान्टाको पाँच खेलबाट आठ अंक छ। पराजित आयाक्सको पाँच खेलबाट सात अंक हुँदा समूह ‘डी’ को पुछारमा रहेको मिड्जील्यान्डको पाँच खेलबाट एक अंक छ।