November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘जबरजस्ती सिनेमा हल खोल्नु हुन्न’: राजेश हमाल

4.9K

कोरोना भाइरसका कारण विगत आठ महिनादेखि सिनेमा हलमा ताल्चा लागेको छ । सरकारले लकडाउनभन्दा अगावैदेखि फिल्म क्षेत्रका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । निषेधाज्ञा खुकुलो भएपछि भीडभाड हुने अन्य क्षेत्र सञ्चालनमा आए पनि फिल्म क्षेत्रमाथिको प्रतिबन्ध अझै फुकुवा भएको छैन ।

जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीको भविष्य संकटमा परेको छ । लकडाउनमा बन्द भएका सबै क्षेत्र सञ्चालनमा आइसकेका कारण अब फिल्म क्षेत्रमाथिको प्रतिबन्ध पनि फुकुवा गर्नुपर्ने आवाज फिल्मकर्मीहरुबाट उठ्न थालेको छ । तर, अभिनेता राजेश हमालले भीडभाड हुने क्षेत्र भएकाले जबरजस्ती फिल्म सम्बन्धि गतिविधि खुल्ला गर्दा संक्रमण फैलिन सक्ने भएकाले स्थिति सामान्य भएपछि केही खुकुलो गर्दै लैजानु पर्ने मत राखेका छन् ।

‘सिनेमा हल, फिल्म निर्माण र प्रदर्शन खोल्नु चाहिँ पर्छ । तर, जबरजस्ती गरेर पनि हुँदैन । अहिले हामीलाई स्थिति सहज लागे पनि परिस्थिति त नाजुक नै छ । त्यसकारण हामीले सम्यमता अपनाउनु पर्छ,’ हमाल भन्छन्, ‘जबरजस्ती सिनेमा हल खोलियो र भोली संक्रमण फैलियो भने त्यो प्रतिउत्पादक हुन्छ ।

Advertisement

सहज भएको खण्डमा खोल्नु चाहिँ पर्छ । तर, हामी अत्यन्त सचेत हुनुपर्छ ।’  लकडाउनको समयमा आधा दर्जन म्यूजिक भिडियोमा काम गरेका अभिनेता हमाल म्यूजिक भिडियो आफ्नो विधा नभएको बताउँछन् । ‘म म्यूजिक भिडियो नियमित गर्दिनँ । यो मेरो विधा पनि होइन । मुख्यतः म चलचित्र कलाकार नै हुँ । मेरो बढ्ता ध्यान त्यतै जान्छ । कुनै प्रोजेक्ट सुरु भयो भने म त्यतै लाग्छु । कहिले काहिँ म्यूजिक भिडियो गर्न रमाइलो चाहिँ लाग्छ,’ उनले भने ।  अभिनेता हमालले आफ्ना प्रशंसकलाई भेट्न शैली फरक रहेको पनि बताएका छन् ।

कुनै ठाउँमा हात हल्लाएर फ्यानसँग साक्षात्कार गर्नुभन्दा भेटेरै अन्तरक्रिया गर्न मनपर्ने उनको भनाई छ । फ्यानसँँग आफ्नो फ्यान र कलाकारको नाता भन्दा पनि पारिवारिक किसिमको सम्बन्ध रहेको उनले बताए । उनी स्थिति सामान्य भएपछि आफ्नै निर्देशनमा फिल्म बनाउने तयारीमा छन् ।