लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को अधिवेशन आगामी जुलाईमा हुने पक्का भएको छ । कार्यवाहक सभापति महेश दाहालको सभापतित्वमा आज बसेको बैठकले जुलाई १७ शनिवारको दिन अधिवेशन गर्ने निर्णय गरेको हो । उक्त मितिलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि एनपीसीसी यूकेले अधिवेशनका लागि आगामी योजना सार्वजनिक गर्ने भएको छ ।
सन् २०१७ को सेप्टेम्बरमा युवराज गुरुङको नेतृत्वमा बनेको समितिको कार्यकाल गत सेप्टेम्बरमै समाप्त भएको भएपनि कोभिड–१९ र नेपाली कांग्रेसको १४औं महाधिवेशन सरेको कारण एनपीसीसी यूकेको अधिवेशन मिति प्रभावित भएको थियो ।
कार्यसमिति, सल्लाहकार र केन्द्रीय सभासदहरु गरी ४८ जनाको उपस्थिति रहेको आजको जूम बैठकले जनसम्पर्क समिति यूकेका सल्लाहकार डा. सम्पूर्णानन्द ढुङ्गानालाई निर्वाचन समितिको संयोजक तोकेको छ । संयोजक डा. ढुंगानाले कार्यसमितिको सल्लाहमा आफ्नो निर्वाचन समिति बिस्तार गर्नेछन् ।
त्यस्तै, बैठकले समितिका अर्का सल्लाहकार शिवजी श्रेष्ठलाई यस पटक पनि विधान समितिको संयोजक तोकेको छ । विधान समितिका सदस्यहरुमा चिरन्जीवि ढकाल, राजकुमार शाक्य र एनपीसीसी यूकेका पूर्व महामन्त्रीद्धय राजकुमार त्रिपाठी र शिव तिमल्सिना रहेका छन् ।
बैठकले बेलायतमा नेपाली कांग्रेसको चालु क्रियाशील सदस्यता वितरण प्रणालीकोे निरिक्षण र शुद्दिकरणका लागि आवश्यक ‘क्रियाशील सदस्यता छानविन समिति’ पनि गठन गरेको छ । समितिको संयोजक पूर्व सभापति विनोद राज मोक्तान रहेका छन् भने सदस्यहरुमा केशबहादुर गुरुङ, हितकाजी गुरुङ, रिचार्ड गुरुङ, किरण राई, शेखर कँडेल र विश्व घिमिरे रहेका छन् ।
बैठकको निर्णय अनुसार कृयाशील सदस्यता नविकरण तथा नयाँ आवेदन बुझाउने अन्तिम म्याद जुन ३० तारिख रहेको छ । क्रियाशील सदस्यता आवेदकहरुले पीडीएफ फारम भरेर आवश्यक रेफरेन्स नम्बर र जानकारीहरु सम्बन्धित निकायलाई उपलब्ध गराउन भनेको छ ।
सभापति युवराज गुरुङको अस्वस्थताका कारण केही समय नेपालमै रहनु पर्ने वर्तमान परिस्थितिबीच समितिको अर्को बैठक पुनः दुई हप्तामा बस्ने र एनपीसीसी यूकेले अधिवेशनका लागि आगामी योजना सार्वजनिक गर्ने भएको छ ।
बैठकको अन्तमा एनपीसीसी यूकेले सभापति युवराज गुरुङ र परिवारजनमा आइपरेको अस्वस्थताप्रति चिन्ता प्रकट गर्दै उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।