काठमाडाैं- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्माले भारतको कोभिड-१९ राहत कोषका लागि २ करोड भारू सहयोग गरेका छन्।
कोहली दम्पतिले शुक्रबार सामाजिक सञ्जालमार्फत् अहिले भारतको अवस्था कठिन भएको बताउँदै कोरोनाविरुद्ध लड्न २ करोड दिने घोषणा गरेका हुन्।
‘भारतको लागि महामारीको लडाइँका लागि परिस्थिति धेरै गाह्रो भएको छ। यसले हाम्रो देशलाई पीडा भएको देख्दा हामी पनि पीडामा छौं,’ उनीहरुले भनेका छन्, ‘जो रातदिन हाम्रो लागि संघर्ष गर्दैछन्, तिनीहरूको समर्पणको प्रशंसा गर्छौं। अब उनीहरूलाई हाम्रो सहयोग चाहिएको छ र हामी उनीहरूको पक्षमा उभिनुपर्छ।’
यस्तै उनीहरुले कोरोनाविरुद्ध लड्नका लागि आर्थिक संकलनको अभियान समेत शुरु गरेका छन्। यो अभियान शुक्रबारबाट शुरु हुनेछ।
‘हामीले केट्टो प्लाटफर्मबाट युनाईटेड वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर रकम जुटाउन सुरू गरेका छौं,’ उनले भनेका छन्,’हामी सबैलाई यस पहलमा सामेल हुन र अनुदान दिन आग्रह गर्दछौं।’