काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा एक बर्षपछि अन्तर्राष्ट्रि प्रतियोगिता भएको छ । मंगलबारदेखि सुरू भएको थ्री नेसन्स कपमा बंगलादेशले विजयी सुरूआत गरेको छ । दशरथ रंगशालामा एक वर्षपछि दर्शकसहितको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको हो। यसअघि गत वर्षको मंसिरमा रंगशालामा १३औं सागको खेल भएको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले किर्गिस्तान यु-२३ टिमलाई १-० गोलले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले आत्मघाती गोलको मद्दतमा जित निकालेको थियो । खेलको २९ मिनेटमा किर्गिस्तानका कुमारबाजुलुले आफ्नै पोस्टमा गोल गरेका हुन् ।
बंगलादेशका मोहमद साद उदिनको क्रस रोक्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । जितसँगै बंगलादेशले फाइनल पुग्ने सम्भावना बनाएको छ । बिहीबार प्रतियोगिताको दोस्रो नेपाल र किर्गिस्तानबीच खेल हुनेछ। शनिबार नेपाल र बंगलादेशबीच लिग चरणको अन्तिम खेल हुने तालिकामा उल्लेख छ । तीन टिम एकआपसमा भिडेपछि अंक तालिकाका शीर्ष दुई टिमबीच आगामी सोमबार फाइनल खेल हुने जनाइएको छ ।