April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोना दोस्रो लहर युरोपमा

3.2K

काठमाडौँ – कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन्। उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ।

पोल्यान्ड, फ्रान्स र युक्रेनको राजधानी समेतका कतिपय भागमा नयाँ प्रतिबन्धहरु लगाइएका छन्।कोभिड–१९ फैलिन नदिने भन्दै सरकारहरुले लगाएका प्रतिबन्धको विरोधमा युरोपका विभिन्न स्थानमा प्रदर्शन पनि भएका छन्। जर्मनीको कासेल शहरमा क्रुद्ध प्रदर्शनकारीको ठूलो समूह सडकमा आएको थियो। प्रहरी र प्रदर्शनकारीबीच त्यहाँ झडप पनि भएको छ। यसबाहेक लिस्टल, स्वीट्जरल्यान्ड र लन्डनमा पनि प्रदर्शनहरु भएका छन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पनि चीनको सिनोफार्म खोप लगाएको दुई दिनपछि कोभिड देखिएको छ। प्रधानमन्त्रीका प्रवक्ताले खान हाल आइसोलेसनमा बस्नु भएको र सामान्य लक्षण मात्र देखिएको बताएका छन्।

Advertisement

फ्रान्समा एक तिहाईभन्दा बढी जनसंख्या लकडाउनमा रहेको छ। तर यो लकडाउन विगतको जस्तो कठोर भने छैन। विद्यालयहरु खुलेका छन् भने सैलुन र चकलेट पसलहरु खुलेका छन्।

अस्ट्राजेनिकाले युरोपेली युनियनमा आबद्ध मुलुकलाई खोप नदिई बेलायतलाई पहिलो प्राथमिकता दिएर पूरै खोप पठाएको युरोपेली युनियनको भनाइ छ। बेलायतले शनिबारसम्म कुल जनसंख्याको कम्तीमा आधा वयस्क जनसंख्यालाई कम्तीमा एक डोज खोप लगाएको छ।

युरोपेली नियामक निकाय र विश्व स्वास्थ्य संगठनले अस्ट्राजेनिका खोप सुरक्षित र प्रभावकारी रहेको जनाए पनि डेनमार्क, नर्वे, स्वीडेन र फिनल्यान्डले यो खोप लगाउनुअघि अस्ट्राजेनिकासम्बन्धी विस्तृत विवरण प्राप्त गर्न चाहेका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्स दुबैले शुक्रबार अस्ट्राजेनिका खोप लगाउनु भएको छ।