April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मर्स्याङ्दीमा ट्रक खस्दा ६ को मृत्यु, दुई घाइते

3.4K

लमजुङ–बेँसीशहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ।

बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार सडकखण्डबाट ५० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए।

ट्रक टुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरी निरीक्षक पुनले बताए।

उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका नासो–१ का तीन वर्षीय थियोन गुरुङको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३ धारापानीका सात वर्षीय मेल गुरुङको उपचार भइरहेको प्रहरी निरीक्षक पुनले बताए।

उनीहरु दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। चालक तामाङको टाउकोमा चोट लागेको छ भने सात वर्षीय गुरुङको नदेखिने गरी भित्री चोट लागेको प्रहरीले जनाएको छ । ट्रकमा आठ जना सवार रहेको प्रहरीको भनाइ छ।