November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

म्युनिक च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा बायर्न

3.4K

काठमाडौं– डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब बायर्नले इटालियन क्लब लाजियोलाई प्रिक्वाटरफाइनलमा समग्रमा ६–२ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो।

घरेलु टिम बायर्नले लाजियोलाई च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा २–१ गोलले पराजित गर्न सफल भयो। यसअघि पहिलो लेगमा भने बायर्नले लाजियोलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिम मोटिङले गोल गरे। लाजियोका मार्को पारोलोले एक गोल फर्काएका थिए। दोस्रो लेगको ३३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई १–० गोलको अग्रता दिलाए।

Advertisement

७३ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गरेपछि बायर्नले २–० गोलको अग्रता बनायो। खेलको ८२ औं मिनेटमा मार्को पारोलोले गोल गर्दै लाजियोलाई २–१ गोलको स्थितिमा पुर्‍याए पनि बायर्नले खेल जित्यो।