एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रियल भालाडोलिमाथि १-० गोलको जित निकालेको हो ।
भालाडोलिडको मैदानमा रियललाई जित दिलाउन क्यासिमिरोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ब्राजिली मिडफिल्डरले गोल गरे । खेलको ६५ औं मिनेटमा टोनी क्रुसको पासमा क्यासिमिरोले गोल गरेका थिए । जुन गोल रियलको जितमा निर्णायक बन्यो ।
यस जितसँगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी कम गर्न सफल भएको छ । रियलले २४ खेलमा ५२ अंक जोडेको छ । रियल लिगको दोस्रो स्थानमा रहेको छ । एट्लेटिको ५५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एट्लेटिकोले एक खेल कम खेलेको छ ।
एट्लेटिको शनिबार राति लेभान्टेसँग २-० ले पराजित भएको थियो । भालाडोलिड २१ अंक जोडेर १९औं स्थानमा छ । ला लिगा अन्तर्गत नै अर्को खेलमा सेल्टा भिगोले भ्यालेन्सियालाई २-० ले हराएको छ । यस्तै इल्चेले इबरलाई १-० र रियल बेटिसले गेटाफेलाई १-० ले हराएको छ ।