May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

एनआरएनएको सचिव पदमा कतारबाट मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’को उम्मेदवारी घोषणा

2.4K

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएका मध्यपूर्व संयोजक गोर्खालीले २०२३–२५ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सन् २००७ देखि निरन्तर एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दैआएका श्रेष्ठले आफुले अहिलेसम्म एनआरएनएमा रहेर गरेका सामाजिक कार्य र योगदानहरूको सबैले मूल्यांकन गरेका कारण यसपटक सचिवमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

यस्तो छ मनोज कुमार श्रेष्ठ (गोर्खाली)को घोषणापत्र
१) रिटर्नी श्रमिकहरुको पुनस्र्थापना

Advertisement

गैरआवासीय नेपाली संघले वैधानिक र सुरक्षित बैदेशिक रोजगारीको लागि निरन्तर आवाज उठाउदै आईरहेको छ । संघकै पहलकदमीमा बैदेशिक रोजगारीमा गएकाहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने अभियानको थालनी भईसकेको छ । यसले बैदेशिक रोजगारीमा गएका नेपालीहरुको सामाजिक सुरक्षालाई सम्बोधन गर्ने विश्वास लिएका छौं । यद्दपि यसमा थप सुधार र स्पष्टताको आवश्यकता जरुरी देखिन्छ । अबको अभियान यतिमा मात्र सिमित रहँदा श्रमिकहरुमाथि न्याय पूरा हुँदैन । अवको अभियानमा बर्षौ बिदेशमा जीवन बिताएर फर्किएका श्रमिकहरुको सामाजिक र आर्थिक पुनस्र्थापना झन महत्वपूर्ण हुनेछ । यो मुद्दालाई गैरआवासीय नेपाली संघको मुद्दाको रुपमा स्थापित गर्न र टुङ्गोमा पुर्याउनको लागि मैले सचिव पदमा उम्मेद्वारी दिने निर्णय गरेको हुँँ । यसका लागि आवश्यक कार्ययोजना बनाएको छु ।

२) बिप्रेषण (रेमिट्यान्स) को बृद्धि एवं सामाजिक सुरक्षाको कार्यन्वयन
देशको ग्राहस्थ उत्पादनको एक चौथाइ भाग बैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सले धानेको छ । यद्दपि अहिले पनि ठुलो मात्रामा अबैधानिक श्रोतबाट हुने कारोबारले रेमिट्यान्सलाई मात्रात्मक रुपमा असर पुगेको मात्र छैन देशको सुरक्षालाई चुनौती दिदै अर्थतन्त्रलाई नै क्षति पुगेको छ । बैधानिक तवरले रेमिट्यान्स पठाउन उत्प्रेरित गर्नको लागि श्रमिकहरुलाई प्रोत्साहन गर्ने आवश्यक कार्ययोजना सहित सरकारी स्तरमै पहल गरिनेछ ।

गैरआवासीय नेपाली संघको पहलकदमीमा नेपाल सरकारले बैदेशिक रोजगारीमा गएका नेपालीहरुको सुरक्षाको लागि सामाजिक सुरक्षा कोषको घोषणा गरेको छ । यसले बिदेशमा रहेका नेपालीहरु अङ्गभङ्ग भएको अवस्थामा, मृत्यु भएमा उसको परिवारको सुरक्षाको प्रत्याभुति गरेको छ । अझै पनि यसको पूर्ण कार्यन्वयन गर्नु गराउनु हामी सबैको कर्तब्य हो । यो कोष अहिले नै पूर्ण नहोला तर समय अनुसार यसको परिमार्जन र सुधार हुँदै जानेछ । बैदेशिक रोजगारीमा गएका सबै नेपालीहरुलाई यसमा जोड्नु नै आजको आवश्यकता हो । यसको लागि बिशेष योजना बनाएर बैदेशिक रोजगारीमा गएका ४० लाख नेपालीहरुलाई जोडिनेछ जसले रेमिट्यान्सको बृद्दिमा गुणात्मक फड्को मार्नेछ ।

३) सांगठनिक आर्थिक पारदर्शिता एवं संगठनमा महिला तथा युवाको सहभागिता

गैरआवासीय नेपाली संघको संगठन दह्रो बन्दै गईरहेको अवस्था छ । हजारौं गैरआवासीय नेपालीहरु यस संस्था प्रति आकर्षित बन्दै गईरहेका छन । युवाहरुलाई खेलकुदको माध्यमबाट संस्थामा जोड्ने ठोस योजना बनाइनेछ । संस्थालाई थप पारदर्शी बनाउनु आजको आवश्यकता पनि हो । यसर्थ यस २०२३ – २०२५ कार्यकालमा संघको आर्थिक पारदर्शिता मेरो प्रमुख एजेण्डा रहने छ साथै संघमा महिला तथा युवाहरुको बढ्दै गएको आकर्षणलाई स्थायी र दिगो बनाउँदै संस्थामा पुष्तान्तरण खोजिनु पर्दछ ।

४) नागरिकताको निरन्तरतामा मेरो प्रतिबद्धता
अन्ततः एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुला भएको छ । गैरआवासीय नेपाली नागरिकता दिने प्रावधान सहितको नियमावली नेपाल राजपत्रमा प्रकाशित भइसकेकोे छ । यो उपलब्धिका लागि संसारभरि रहनु भएका एनआरएनए मित्रहरुलाई म हार्दिक बधाई दिन चाहन्छु । प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको हकका लागि हाम्रो प्रयास जारी रहने गरी नेपाल सरकारसंग समन्वयकारी भूमिका निर्वाह गर्ने छु ।

यही कारण अब मैले एनआरएनएको अर्को महत्वपूर्ण सचिव पदमा गएर सेवा गर्ने अठोट गरे । विश्वभरका नेपालीले देशका लागि सकेको योगदान दिनुपर्छ भन्नेमा दुईमत छैन । धेरैले सोध्छन, एनआरएनएको मुख्य काम के हो ? एनआरएनएको मुख्य काम विदेशमा रहेका नेपाली बीच एकता बढाउनु हो । आपसी सहयोग र सद्भावको विकास गर्नु हो । संसारभर छरिएका नेपाली बीच स्वस्थ र मर्यादित हिसाबले समन्वय गराउनु हो । यो कार्यबाट म विचलित हुने छैन ।

अतः यसपटक पनि यहाँहरुले विगतको जस्तै आशा, भरोसा र विश्वास गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । मैले व्यक्तिगत स्वार्थ नभई सामूहिक हितका लागि काम गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।