April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

महारानी एलिजावेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा गरिने, बेलायतका दर्जनौं कार्यक्रम स्थगित

1.6K

लन्डन । दिवंगत बेलायतकी महारानी एलिजावेथको शवलाई सेप्टेम्बर १९ दिन बिहान अन्त्येष्टि गरिने भएको छ । शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा रहेको होलिरूड हाउसमा ल्याइएको छ । स्कटल्याण्डको बालमोरल दरबारबाट गाडीमा शव ल्याउन ६ घण्टा लागेको थियो ।

शव ल्याउने शहर, गाउँ र बाटोभरी मानिसहरू लाइन लागेर दिवंगत महारानीप्रति श्रद्धाञ्जली दिएका थिए । शव एडिनबर्ग आईपुगेपछि शाही पाश्ववर्ती सेनाले सलामी दिएको थियो । त्यसपछि गद्दी बैठकमा राखेर दरबारका कर्मचारी तथा आफन्तहरूले श्रद्धाञ्जली दिएका थिए । महारानीको शवलाई सोमबार सेन्ट गिल्स क्याथेड्रलमा लगिने भएको छ । जहाँ नवनियुक्त राजारानी तथा शाही सदस्यहरूको उपस्थितिमा पादरीहरूले प्रार्थना गर्ने छन् ।

स्कटल्याण्डका जनताको दर्शनका लागि शवलाई २४ घण्टा सोही स्थानमा राख्ने परम्परा रहेको छ । मंगलबार साँझ शव पुनः बकिङघम दरबारमा लगेर वेस्टमिन्स्टर हलमा राखिने छ । बिरामी अवस्थाकी महारानी आरामका लागि स्कटल्याण्ड गएको बेला त्यही नै उनको निधन भएको थियो ।

Advertisement

महारानीको राजकीय अन्तिम संस्कारमा उनको परिवार, राजनीतिक दलका नेता र विश्वका नेताहरू ब्रिटेनको समयानुसार सेप्टेम्बर १९ को दिन ११ बजे सहभागी हुनेछन् । उक्त दिनलाई ब्याङ्क होलिडे (सार्वजनिक बिदा) घोषणा गरिएको छ। अन्तिम संस्कारअघि बिहीवारबाट चार दिन राजकीय सम्मानसाथ शवलाई राखिनेछ। महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुनेछ।

यता, महारानीको निधनलगत्तै बेलायतका ठूला र महत्वपूर्ण मानिने केही कार्यक्रमहरू रद्द वा स्थगित भएका छन्। प्रिमिअर लीग, इङ्ग्लिश फुटबल लीग, स्कटल्यान्ड वा नोर्दन आयरल्यान्डमा तय भएका फुटबल प्रतियोगिताहरु मंगलबारसम्म रद्द गरिएका छन्। त्यस्तै वीमन्स सुपर लीग, वीमन्स च्याम्पिअनशिप र वीमन्स एफए कप पनि स्थगित गरिएको छ। रेसिङ, गल्फ र बक्सिङका खेलहरू पनि रद्द गरिएका छन्।अर्को साताका लागि योजना गरिएका ठूला स्तरका हडतालहरू रद्द गरिएका छन् ।