विराटनगर। विराट गोल्ड कपको उपाधी मच्छिन्द्र फुटबल क्लबले जितेको छ । शनिवार विराटनगरस्थित शहिद रंगशालामा भएको फाइनल खेलमा घरेलु टिम सांग्रिला मोरङ एफएलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लबले विराट गोल्ड कप हासिल गरेको हो ।
सांग्रिला मोरङ फुटबल एशोसिएशनलाई २-० ले पराजित गर्दै विराट गोल्ड कप जितेको मच्छिन्द्र फुटबल क्लबले ११ लाख नगद सहित ट्रफी उचालेको हो। मच्छिन्द्र फुटबल क्लबले यो सिजनमा केपी ओली ट्रफी र बाग्मती ट्रफी सँगै आठौं विराट गोल्ड कप जितेको छ ।
जितका लागि मच्छिन्द्र फुटबल क्लबका छिरिङ गुरुङले पहिलो र हिसुब थपलियाले दोश्रो गोल गरेका थिए ।
शनिवारको फाइनल खेलको प्लेयर अफ द म्याच मच्छिन्द्र फुटबल क्लबका लकेन लिम्बु घोषित भएका छन् । उनले ११ हजार नगद प्राप्त गरेका छन् । सांग्रिला मोरङ फुटबल एशोसिएशनले उपविजेता बन्दै ५ लाख ५० हजार रुपैया नगद सहित शिल्ड प्राप्त गरेको छ ।
आठौं विराट गोल्ड कप फुटबल प्रतियोगिताको उत्कृष्ट गोलकिपर मच्छिन्द्र फुटबल क्लबका बिशाल श्रेष्ठ, उत्कृष्ट कोच मच्छिन्द्रका सन्तोष न्यौपाने, र्सवाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफेन विनोङ, सर्वोत्कृष्ट खेलाडी सांग्रिला मोरङका महेन्द्र कार्की घोषित भएका छन् । उनीहरुले २१ हजार नगद प्राप्त गरेका छन् ।
सो प्रतियोगितामा नेपालका सात वटा, भारतका दुईवटा र भुटानको एउटा गरी दश वटा टिमले भाग लिएका थिए ।




