April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एकदिवसीय क्रिकेट वरीयतामा नेपाल १६ औं स्थानमा उक्लियो

1.5K

काठमाडौं । एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले राम्रो सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको छ । १७औं स्थानबाट १६औं स्थानमा उक्लिएको नेपालले १ हजार १६७ अंक पाएको छ ।

विश्वकप लिग २ खेलिरहेको नेपालले पछिल्लोपटक उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पछिल्लोपल्ट खेलेका ११ खेलमध्ये नेपालले १० खेल जितिसकेको छ । नेपालले आगामी ४ वर्षका लागि एकदिवसीय मान्यता कायमै राख्न सफल भएको छ । लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेल जिते नेपाल विश्वकपमा सोझै छनोट हुनेछ । लिग २ अन्तर्गत नेपालले बिहीबार युएईसँग अन्तिम खेल खेल्दै छ ।

नेपालले संयुक्त अरब इमिरेट् (युएई), नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी)लाई पछि पारेको छ । एसोसिएट राष्ट्रमध्ये नेपाल भन्दा अघि स्कटल्याण्ड १२औं, नेदरल्याण्ड्स १४औं र ओमान १५औं स्थानमा छन् । एकदिवसीय वरीयताको शीर्ष स्थानमा भने भारत छ । केही दिन अगाडि मात्रै नेपाल १९औं स्थानबाट १७औं स्थानमा उक्लिएको थियो ।

Advertisement