तीजको मौका पारेर मेरा हिन्दु साहित्यकार, कलाकर र संचारकर्मी साथीहरूमा केही बिन्ती चडाउन मन लागेको ३/४ बर्ष भो । आज चाहीँ कोसिस गरेँ । तीज मेरो चाड होइन तर तीजसँग मेरो साह्रै मिठो बालापनको भावना र मन नै चसक्क हुने मिठा यादहरू जोडिएका छन् । ‘लेखेर लेख लामो होला भनेर लेखिनँ।’
म जस्ता धेरैको जोडिएका होलान् यादहरू, तर आजभोली त तीजको नाममा क्षतबिक्षत भएको विकृति र विसंगतिहरू मात्र जोडिए वा जोडिपठाए साथीहरूले । एउटा लोभ त्यो के भने हिन्दू नारीहरूको नभनेर नेपाली नारीहरूको महान चाड भनाउन वा बनाउने लोभले सामुहिक तीज मनाउने चलनहरू चल्तीमा ल्याए । धरानमा त झन् नेकपा एमालेले पिण्डेस्वरी मन्दिर परिसरमा तिजको प्रोग्राम नै आयोजना गर्ने गरेको थियो र आजभोली के गर्छ थाहा भएन । त्यहाँ नाँचेको र तीजको गीत भन्दै अश्लील दोहोरो अर्थ बोकेको र झ्याउरे लयमा अनि फिल्मको गीतमा कम्युनिस्ट पार्टीका महिलाहरू उफ्रेको देखेर म छक्क पर्थेँ। र मेरो बाबाले मलाई भन्नुहुन्थ्यो, “संसारमै नभएको तेरो कम्युनिस्ट नेपालमा मात्र छ, जसले जातपात र धर्मको कुरो गर्छ।” त्यो सम्झिन्थे र हास्थें एक्लै ।
अब कुरोको चुरो तिर आऊँ । खासमा तीज हिन्दु महिलाहरूले बर्खामास सकिन लाग्दा बिसाउन माईत जान पाउने र दु:ख बिसाउने चाड हो, जस्मा अत्ति नै इज्जतसाथ माईती लिन आएपछि घरकाले पनि पठाउने चलन थियो । त्योबेला दरको रूपमा दुध, दही, घ्यू लगायत स्थान अनुसार उपलब्ध हुने शुद्ध र मिठो परिकार बनाएर खाने, त्यो पनि राती उठेर बनाएर बिहानै ४ बजे तिरै खाईसक्ने हो । दिनभरी तयारी भएर बेलुकी वाईन र बियर हुस्कीसंँग होइन । यदी आजभोलीको जमानामा राती उठेर पकाएर ४ बजे खानु सम्भव छैन भन्नुहुन्छ भने यूके जस्तो ठाँउमा पनि काम गर्दै आफ्नो इदको बेला मुस्लिमहरू के गर्छन्? हेर्न र बुझ्न सक्नु हुन्छ । यदी यो त पुरानो चलन भयो भन्नुहुन्छ भने, नयाँ चलनमा पनि तीजको तरिकालाई सामुहिक रूपमा भए पनि पुरानै शैलीको सँगिनी गीत गाएर जसमा कर्मघरमा पाएको सुख वा दु:खलाई मिलाएर, कथेर गाइन्छ र हात र खुट्टाको पनि एउटा भिन्दै चाल हुन्छ जस्लाई संगिनी नाच भनिन्छ र नाचिन्छ । त्यसो गर्न सकिन्छ नि हैन ?
४६ साल पछिको गणतान्त्रिक नेपालमा हरेक जातजातीको आफ्नै सांस्कृतिक नृत्यहरू, गीतहरू र गाजा बाजाहरू जो झण्डै बिलुप्त हुन लागेको थियो कस्तो राम्रो तरिकाले फस्टाएको छ । र बालक, युवा सबैले सिकेर कस्तो भब्य बनेको छ । तर हिन्दुहरूको एउटा नहुँदो लोभ ‘देशलाई धर्म निरपेक्ष नमानेर हिन्दु राष्ट बनाउने लोभ’ले आफ्नो भएको संस्कार र संकृतिहरू खत्तम नै पारिसकेको अवस्था छ । त्यसमा सबैभन्दा बिगारेको चै तिज नै हो । निकै ठूलाठूला संचारकर्मीहरूले पनि जब तीजको नाममा अश्लीलताले भरिभराउ गीतहरू बजारभरी मौलाउन थाले अनि आत्तिएर ‘तिजको लहर आयो बरिलै’ यो हो नि तीजको गीत भन्दै समाचार बनाएर हौवा फैलाई रहेको देख्छु । तर वास्तवमा त्यो पनि तीजको गीत होइन, त्यो फ्लिममा तीज पारेर प्रयोग गरिएको गीत हो ।
तीजमा सँगिनी गाउने हो र सँगिनी नै नाच्ने हो । र तीज हिन्दु नारीहरूको महान चाड हो । सबै नेपाली नारीहरूको होइन । र अर्काको संस्कृतिलाई बुझेर मनाउनु हुन्छ भने रोकटोक हुन्न तर बिगारी दिने अधिकार कसैको हुन्न । यदि कुनै हिन्दु आएर हामी लिम्बु, मगर, गुरूङ तामाङ, राई, थारू, झागर लगायतका साँस्कृतिक नृत्यमा आएर मनपरी उफ्रिनु त तपाईंको के हस्र हुन्छ वा पार्छौ ? साकेला नाच्दै गरेको बिचमा पसेर ‘पोइल जान पाम वा बिच्च बिच्चमा’ भन्दै उफ्रि हेर्नु होस् त ! ढोल बजाउनेले तपाईंको टाउकोमा बजाउन थाल्छन् र झ्याम्टा तपाईंको गालामा बज्छ ! तर तपाईंको एउटा हुँदै नहुने लोभले तपाईको संस्कृतिमाथि बलत्कार भएको छ, कसरी सहनु भाको ? म छक्क छु । यदी अझै पनि तपाईंको मनमा आफ्नो संस्कार र संस्कृतिमाथि अलिकति पनि सम्मान बाँकी छ भने केही बिग्रेको छैन । एउटा तिज नमान्नुहोस् तर देशको कुनाकाप्चामा अझैं बाँकी होला बुढी आमैहरूसँग संगिनीको बिउँ, गएर गाउन र नाच्न सिक्नु होस् । (किनकी सँगिनी पनि एउटा भन्दै नियम, लय र मिटर हुन्छ मनपरी गाउन पाइन्न ) अनि त्यसलाई साहित्यकारले लेख्नुहोस् । कलाकारले नाँच्नुहोस् र संचारकर्मी साथीहरूले ब्यापक बनाउनु होस् ।
किनकी नेपालको सयौँ थुङ्गा फूलहरू मध्ये एक थुङ्गा फूल हो सँगिनी, त्यो मात्र ओइलायो वा कुहियो भने पनि पुरै माला कुरूप देखिन्छ । मेरो त सानो अनुरोध मात्र हो आगे हजुरहरूको जे बिचार !
लाष्टमा संँगिनीको एकटुक्र सबैमा शुभकामना स्वरूप अर्पण गरेँ
शितलु धारामा नहाउनु जा…दाँ -२
हातैको बाला बिर्सेर आएँ , मन भयो भरंग….
त्यसैको बिरहले म जाँदा जाँ ….दा -२
त्यो काली डाड़ा चटक्क काट्दा ज्यान भयो खङरंग ….
लेखकको फेसबुकबाट साभार
लेखक शशी थापा सुब्बा साहित्यकार तथा रंगकर्मी हुन् । नायिका मिरुना मगरकी आमासमेत रहेकी उनी हाल बेलायत बस्दै आइरहेकी छन् ।