April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मिथक र पहिचान साहित्य

7.6K

केरुङ हाङ्सेम

मिथक मानव सभ्यतासँगै विकास भएर आएको हो । जब मान्छेहरु चेतनशिल हुँदै गए, अनेक खालको परिकल्पनाहरु गर्न थाले । ती परिकल्पनाहरु जीवन र जगतसँग दाँज्न थाले । त्यसबेलादेखि मिथकको सुरुवात भएको मान्न सकिन्छ । मिथक मिथ्या अर्थात सत्य नभएको भन्ने अर्थ लागे पनि दुई तरिकाले मिथकको विकासहुँदै आएको पाईन्छ । पहिलो, जो मान्छेहरुले विभिन्न खालको मनोवैज्ञानिक रुपमा परिकल्पना गरे जस्तै ईश्वर, राक्षस लगायत सँग सम्बन्धित कथाहरु स्वेरकल्पनागत रुपले निर्माण गरे जो समयको विकासक्रमसँगै मिथक भएर आयो । दोश्रो, जो सत्य घटना नै घटेको छ, तर लामो समयको कालखण्डमा त्यो मिथकको रुपमा विकास भए ।

मिथक एउटा आख्यान हो । मिथकलाई अंग्रेजीमा ‘ःथतजु भनिन्छ । अंग्रजी साहित्यमा पनि व्यापक प्रयोग गरिएको पाइन्छ । समयको विकासक्रममा मान्छेले लामो वंशानुगत, ऐतिहासिक कथा बोक्दै आएको हुन्छ । ती कथाका पात्र, समय, परिवेश, स्थान नै मिथक हुन, जुन अस्तित्व र पहिचानसँग जोडिएको हुन्छ । मिथकले जीवन र जगतमा प्रत्यक्ष, अप्रत्यक्ष रुपले प्रभाव पारिरहेको हुन्छ । मिथककला, साहित्य, ईतिहास, मुन्धुम, सामाजिक, साँस्कृतिक कुराहरुसँग जोडिएर आएको हुन्छ । मिथक केवल ऐतिहासिक मात्र नभएर सांस्कृतिक चिन्तनमासमेत प्रभाव पारिरहेको हुन्छ । पूर्वीयमा होस या पश्चिमा समाजमा किन नहोस् मिथकको आफ्नै खालको स्थानछ । पूर्व घटित घटना अथवा कथाका पात्र, वर्तमानसँग जोडिन पुग्छन्, ती–लाई मिथक मानिदै आएको छ । तर पात्रलाई मात्र मिथक मानिनुले अलि साँघुरो व्याख्या हुन्छ । कथाको स्थान, समय, प्रयोग भएका वस्तु वा सामाग्री, परिवेश आदिलाई पनि मिथकको रुपमा व्याख्या गर्दा फरक नपर्ला । किनभने यी–हरु पनि मिथकसँगै जोडिएर आएका हुन्छन् । मिथक प्रकारान्तर रुपले विभाजन गरेर व्याख्या गर्न सकिएता पनि यस लेखमा पहिचान साहित्यमा मिथकको सम्बन्ध बारे छोटकरीमा व्याख्या गर्ने कोसिस गरिएको छ ।

Advertisement

पहिचान आफैमा ऐतिहासिक, साँस्कृतिक चेतना हो । पहिचान शब्द जति हलुका देखिन्छ त्यति नै यसको क्षेत्र एकदम व्यापक छ । पहिचान आईडेन्टिटीको विस्तारित रुप हो । पहिचानलाई विभिन्न कोणबाट ब्याख्या गर्न आवश्यक छ । पहिचान कुनै पनि व्याक्ती वा समुदायको आफ्नो चिनारी हो, जो उसको ऐतिहासिक, सामाजिक, सांस्कृतिक र राजनैतिक सम्बन्ध हुन्छ । नेपालमा बिगत केही दशकदेखि राजनैतिक रुपमा बहस हँुदै आए पनि साहित्यमा २० को दशकदेखि नै बहस सुरु भएको पाईन्छ । पहिचानको आफ्नै खालको सैद्धान्तिक, बैचारिक आधारहरु छन् । पहिचान जब ऐतिहासिक, सामाजिक, राजनैतिक र साँस्कृतिक चेतनाको रुपमा बहस हुन थाल्यो आईडेन्टिटीको दायराभित्र मात्र नरहेर समानतार उत्पीडितहरुको लागि पनि यसै भित्र बहस हुन थाल्यो । वर्तमानमा राजनैतिक रुपमा पहिचानको मुद्दा जति सशक्त रुपले बहस हुनथाल्यो लेखन, साहित्यमा पनि पहिचानको मुद्दाले आफ्नो दायरा फराकिलो पार्दै आएको छ । बीसको दशकमा तेस्रो आयामले विविधताको मुद्दासँगै साहित्यमा जब सांस्कृतिक कुराहरु ल्याउन थाले, त्यतिबेलादेखि नै नेपाली साहित्यमा पहिचानको मुद्दाको न्वारान भएको मान्न सकिन्छ । २०२० को दशकमा बैरागी काइँलाले कवितामा मुन्धुमिक मिथकहरु प्रयोग गरेर सबै भन्दा पहिले नेपाली साहित्यमा पहिचान लेखनको सुरुवात गरेका थिए ।

पहिचान साहित्यमा मिथकको भूमिका विशेष रहेको हुन्छ । साहित्यमा मिथक जब बिम्ब भएर आउँछ, त्यो मिथकले कुनै पनि जाती वासमुदायको ऐतिहासिक, सांस्कृतिक कुराहरु उत्खनन गरेको हुन्छ । प्रत्येक समुदायको आफ्नै ऐतिहासिक, सांस्कृतिक र सामाजिक परिवेश अनुसार मिथकको निर्माण भएको हुन्छ । यानीकी हरेक जातीसँग आफ्नो पहिचान झल्किने मिथक हुन्छ । पहिचान साहित्यले कुनै पनि समुदायको सामाजिक र साँस्कृतिक विषय उठान गर्छ, त्यहाँ मिथक बिम्बको रुपमा प्रस्तुत गरिएको हुन्छ । साहित्यमा मिथक विशिष्ट बिम्ब हो, जसले कुनै पनि समुदायमा लोपउन्मुख अवस्थामा रहेको आख्यानलाई समेत उत्खनन गर्छ । डि.आर पोखरेल मुल्याङ्कन मासिकमा लेख्छन– ‘हाम्रा पूर्वजहरुले प्रकृति, मानवसमुदाय र स्वयं आफ्नो मनभित्र जुन खेलहरु देखे, तिनबाट प्रभावित भएर तिनलाई बुझ्ने क्रममा, तिनको स्पष्टीकरण गर्ने, सामान्यीकरण गर्ने क्रममा नै मिथकलाई जन्म दिए । यसकारण यो भन्न सकिन्छ – मिथक यथार्थको काल्पनिक अनुभूति हो ।’ पहिचान भन्ने वित्तिकै हामीले पुर्खाले निर्माण गरिदिएको कुनै पनि सामाजिक, सांस्कृतिक चिजबाट आफ्नो चिनारी खोज्नु हो । मिथक पनि हाम्रो पुर्खाले सयौं वर्ष लगाएर जुन आफ्नो जाती, माटो, सभ्यता र संस्कृति सुहाउँदो निर्माण गरेको छ, जुन पहिचानसँग प्रत्यक्ष सम्बन्ध राख्दछ ।

पश्चिमा साहित्य या पूर्वीय साहित्य जुनैमा पनि मिथक प्रयोग गरिएको पाईन्छ । मिथक आफैमा लोक साहित्यभित्र पर्छ । लोक भन्नेबितिकै कुनै जाती वा समुदायको आफ्नै परिवेशमा निर्माण भएको आदिम कथा हो । नेपाली साहित्यमा हिन्दु र पश्चिमा मिथकहरुले अधिपत्य जमाईरहेको बेला पहिचान साहित्यको बहससँगै यहाँका विभिन्न जाती, समुदायको स्थानिक मिथकहरु कविता र आख्यानमा प्रवेश हुन थाले । जसले नेपाली साहित्यको जगतलाई नै विसामान्यिकरण गरिदियो । एकल नस्लिय मिथकको मानकतामाथि जबर्जस्त यहाँका स्थानिक मिथकहरु ससक्त रुपले प्रयोग गरियो । जसले लोपउन्मुख अवस्थामा रहेको विभिन्न जाती र समुदायको शक्तिशाली मिथकहरुको उत्खनन मात्र भएन, जसले ईतिहास र संस्कृति सम्बन्धिको खोजमा समेत सशक्त भूमिका खेलेको छ ।

मिथक कवितामा विशेष गरि विशिष्ट बिम्बको रुपमा प्रयोग गरिएको हुन्छ । मिथक कवितामा प्रयोग गरिएको अन्य बिम्ब भन्दा पृथक तरिकाले प्रस्तुत भएको हुन्छ । बिम्बले ठ्याक्कै शब्द चित्रणमा व्यक्त गर्दछ भने मिथकले आख्यानात्मक बिषयवस्तु बोकेको हुन्छ । अल्वर्ट कामुले मिथक र बिम्बलाई चिनाउने क्रममा भनेका छन् ‘बिम्बहरुलाई जीवन्त बनाउनका लागि मिथकहरुको निर्माण गरिन्छ ।’ पहिचान साहित्यमा भने बिम्बको रुपमा मात्र मिथकलाई प्रयोग गरिएको हुदैन । पहिचान साहित्यमा सांस्कृतिक, ऐतिहासिक र भूगोलको सौर्न्दर्यलाई सिर्जनामा प्रतिविम्बित गर्न मिथकको प्रयोग गरिएको पाईन्छ । मिथकमार्फत आफ्नो स्पेसको दाबी गरिएको हुन्छ । आफ्नो उपस्थितिको गर्विलो वयान पेस गरेको हुन्छ । तेस्रो आयाममा बैरागी काइँलाले आफ्नो कवितामा विविधताको दावी गर्दै जबमुन्धुममी मिथक प्रयोग गर्यो नेपाली कविताको बहस नै विसामान्यिकरण गरिदियो । प्रत्येक जातीसँग आफ्नो सभ्यतासँगै निर्माण भएर आएको मिथक हुन्छ । जुन मिथकहरु साहित्यमा बिम्ब वा आद्य बिम्बको रुपमा प्रयोग गर्दा क्लिष्ट जस्तो देखिएता पनि त्यो मिथकले उक्त जातिको सभ्यता, संस्कृति र ईतिहासको उत्खनन गरिरहेको हुन्छ । मुन्धुममिक मिथक प्रयोग गरिएको बैरागी काईलाको कविताकोथोरै अंश हेरौं –

तिगेनजोङना

काँसका थालमा उमारेका जोखानाका बोटहरु

के भन्छन् ? द्वन्द युद्धमा मान्छे र बाघको

तीतेपातीका गन्धहरु आकाश नपुग्दै कुहिएर खस्दछन् ।

(बैरागी काइलाका कविताहरुबाट—अस्तित्वको दाबीमा सावातको वैला उत्सव ।)

माथिको कवितांशमा प्रयोग गरिएको ‘तिगेनजोङना’ याक्थुङ मुन्धुमबाट लिइएको मिथक हो । कवि काइलाले याक्थुङ मुन्धुममा वर्णितप्रसिद्ध आमा ‘तिगेनजोङना’ लाई सम्बोधन गर्दै मानव प्रवृत्ति र पशु प्रवृति आफ्ना छोराहरुको द्वन्द युद्धको बारेमा थालमा उमारेको जोखानाले के भन्दैछ ? प्रश्न गरेको छ । ‘तिगेनजोङना’ याक्थुङ मुन्धुममा वर्णित प्रसिद्ध कथाको प्रमुख पात्र हुन्, जुन यहाँ शसक्तरुपमा प्रयोग भएको छ । उक्त कवितामा प्रयोग गरिएको मिथक केवल बिम्बको रुपमा मात्र प्रयोग गरिएको छैन । यसले समग्र याक्थुङ जातिको प्रागईतिहास उत्खनन भएको छ । मुन्धुम आफैमा प्रागईतिहास हो, किनभने याक्थुङ समुदायको कुनै पनि ईतिहास खोज गर्नुपर्दा मुन्धुमलाई आधार मान्नुपर्ने हुन्छ । २०२० को दशक एता नेपाली साहित्यमा आफ्नो स्पेस दावी गर्दै विभिन्न जातजाती र समुदायले आफ्नो पहिचान र सभ्यताका कुरा व्यापक रुपले लेखेको पाईन्छ । नेपाली साहित्य जुनबेला राज्य सत्ता र हिन्दु धर्मग्रन्थबाट निर्देशित थियो त्यतिबेला चुनौतीका साथ २० को दशकमा बैरागी काइँला, ईन्द्र बहादुर राई र ईश्वर वल्लभले तेस्रो आयाम साहित्यिक आन्दोलन सुरु गरे। उक्त आन्दोलनले विविधताको मुद्दालाई अगाडि बढाएको थियो । त्यो आन्दोलन एता सशक्त रुपले विभिन्न जाती, समुदायको मिथक प्रयोग गर्न थालिएको पाईन्छ । त्यसयता सिर्जनशिल अराजकता, उतरवर्ती सोच, रंगवाद जस्ता साहित्यिक आन्दोलनले पहिचानको मुद्दासँगै स्थानिक मिथकहरु व्यापक रुपले प्रयोग गर्दै आएका छन् ।

मिथक कवितामा जसरी सशक्त रुपले प्रयोग गरिएको छ आख्यानमा पनि विभिन्न तरिकाले प्रयोग गरिएको पाईन्छ । आख्यानमा भने बिम्ब र पुराकथा कै रुपमा प्रयोग गरिएको छ । आख्यानमा मिथकको पुरै कथालाई नै सन्दर्भ बनाएर पनि लेखिएको पाईन्छ भने कतिपय उक्त मिथकमा आउने पात्र, स्थान र सामाग्रीलाई कथामा सापेक्षिक रुपले प्रयोग गरिएको पाईन्छ । आख्यान जतिपनि विभिन्न जाती र समुदायको सामाजिक, साँस्कृतिक कथावस्तुलाई आधार बनाएर लेखिएको छ, तेसले उक्त जाती र समुदायको एकखालको चिनारी दिएको हुन्छ । खास भन्नु पर्दा पहिचान भनेकै चिनारी वा परिचय हो । पहिचान साहित्यको बहस भए एता आख्यानमामिथक प्रयोग गरिएको उपन्यासमा राजन मुकारुङको ‘हेच्छा कुप्पा’, युग पाठकको ‘उर्गेनको घोडा’ आदिलाई लिन सकिन्छ । मिथकलाई आधार मानेर विभिन्न कथाहरु लेखिएको पनि पाईन्छ । पछिल्लो समय पहिचानको बहस हुँदै जादा पहिचानको मुद्दामा चिनारी वा परिचयमा मात्र सिमित नरही समानता र अधिकारका कुराहरु समेत बह्स हुन थाल्यो। आदिवासी सौन्दर्यमा लेखिएका जति पनि आख्यानहरु छन्, तिनीहरु कतै न कतै सैद्धान्तिक र वैचारिक रुपले पहिचान साहित्य भित्र पर्छन ।

पहिचान साहित्य र मिथकबीच सैद्धान्तिक सम्बन्ध छ । मिथकले कुनै पनि जाती वा समुदायको कुनै कालखण्डको सभ्यता, जीवनशैली, सामाजिक बनोट र संस्कार, संस्कृति बोकिरहेको हुन्छ । पहिचान साहित्यमा यिनै कुराहरुलाई आधार मानेर आफ्नो मुद्दा लेख्ने हो । पहिचान साहित्य अहिले ससक्त रुपले प्रस्तुत हुनुमा मिथकको भूमिका महत्त्वपूर्ण छ । नेपाली साहित्यमा पहिचानको बहस अहिलेसम्म जति भएको छ त्यो पुग्दो छैन । पहिचान साहित्यको सैद्धान्तिकता के हो ? वैचारिकता के हो ? जस्ता अनेकौं कुराहरुमा बहस हुन बाँकी नै छ । आगामी दिनमा बहस हुँदै जादा मिथकको बारेमा पनि पक्कै गहिरो बहस हुने नै छ । नेपाली साहित्यले जब सम्म बहुलवादी समाजलाई स्वीकारेर यहाँका स्थानिक कुराहरुलाई उठाउन सक्दैन तब सम्म विश्व साहित्यमा आफ्नो स्पेस बनाउन सक्दैन ।