काठमाडौं। मलेसियामा मृत्यु भएका मेनपावर व्यवसायी रेन्जी राईको शव नेपाल ल्याइएको छ । चैत २४ मृत्यु भएका मार्बलस मेनपावर सञ्चालक राईको शव आज दिउँसो काठमाडौँ ल्याएर गृह जिल्ला पठाइएको हो ।
उनको शव गृह जिल्ला सोलुखुम्बुमा नै अन्त्येष्टि गर्ने भन्दै परिवारले शव लगेका हुन् ।
समस्यामा परेका श्रमिकहरूको समस्या समाधान गर्नका लागि केही दिन अघि मात्रै मलेसिया पुगेका उनी झुन्डिएको अवस्थामा फेला परेका थिए । श्रमिकहरू बसेकै होस्टेलको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका उनले आत्महत्या गरेको पोष्टमार्टम रिपोर्ट देखाएको थियो ।
।
उनको मृत्यु शङ्कास्पद भन्दै उनकी श्रीमतीले प्रधानमन्त्रीलाई घटनाको छानबिनका लागि निवेदन समेत दिएकी थिइन् ।
केही महिना अगाडि उनको कम्पनीमार्फत ६४ जना नेपाली श्रमिक मलेसिया पुगेका थिए । त्यहाँ कम्पनीले सेवा सुविधा नदिएको भन्दै उनलाई खबर गरेका थिए । त्यसपछि समस्या समाधान गर्न राई आफैँ मलेसिया गएका थिए । त्यही क्रममा उनले आत्महत्या गरेका हुन् ।