April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

सन्दर्भ जनयुद्ध दिवसः श्रीमानले सहादत प्राप्त गर्दा म १७ वर्षकी थिएँ, छोरा ४५ दिनको

सीता तुम्खेवा
२०७९ फाल्गुन १

4K

२०५२ फागुन १ गतेबाट औपचारिक रूपमा सुरू भएको जनयुद्धले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने नारासहित सुरु भएको सशस्त्र आन्दोलनले २०६३ बैशाखमा १३ गते पार्टीको तर्फबाट विश्राम लिएको थियो भने बैसाख २१ गते सरकारले युद्धविराम गरेको थियो । करिब १० वर्षको यस आन्दोलनले आफ्नो नाराजस्तै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न सक्यो सकेन भन्ने बारेमा अहिले मिश्रित धारणा आउन थालेको छ । यद्यपी यस आन्दोलनले सामाजिक, राजनैतिक परिवर्तन ल्याएको आम नागरिकको धारणा पाइन्छ ।

जनयुद्धमा विद्रोही, सेना र प्रहरी लगायतका १७,००० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो । कति बेपत्ता भए, कति अङ्गभङ्ग भए, कति अझैं शरीरमा बारुदका छर्रा लिएर बाँचिरहेका छन् । युद्ध हो, अवश्य युद्धका परिणाम सकारत्मक र नकारात्मक दुवै हुन्छन् । तर, सत्तामा पुगेपछि पीडितहरूको व्यावस्थापन भयो भएन भन्ने प्रश्न भने अवश्य उठ्छ ।

आज नेपालमा विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइरहँदा हाल युएइमा रहेकी उदयपुर मैनामैनीकी कवि सरु शितल राईलाई भने आफ्नो जीवन उजाडिएको त्यो कहालीलाग्दो दिनले झस्काइरहेको छ । त्यहि १७ हजारमध्ये एक थिए उनका श्रीमान ललित राई । ललित तत्कालिन शाही नेपाली सेनामा कार्यरत थिए । २०६२ साल कार्तिक २ गते झापाको चारआली ब्यारेकबाट इलामको शान्तिपुरको बदामटारमा गस्तिको लागि खटिएका बेला ललितले वीरगति प्राप्त गरे । त्यतिबेला सरु १७ वर्षकी थिइन् भने उनका छोरा जन्मिएको ४५ दिन मात्रै भएको थियो ।

Advertisement

स्वःललित राई

श्रीमानको मृत्युपश्चात नाबालक छोराप्रतिको आमाबुबा दुबैको जिम्मेवारी र कर्तब्य उनको काँधमा आइलाग्यो । १७ वर्षमा जीवनसाथी गुमाउनुको पीडा र बाँकी एक्लै सामना गर्नुपर्ने अफ्ठ्यारा, सफ्ठयाराहरू त छँदै थिए, समाजको प्रश्न अर्को हैरानी बन्यो उनका लागि– ‘विहे कैले गर्ने ? गर्ने कि नगर्ने ?’ जुन प्रश्न कसैले सोध्दै नसोधोस् भन्ने चाहिन्थन उनी ।

‘म विधवा हुँदा मेरो आफ्नै बचपना सकिएको थिएन । ४५ दिनको सुत्केरी थिएँ । १७ वर्षमा विधवा हुँदाको पीडा त अवश्य थियो, यद्यपी मलाई “बिचरा” शब्द पटक्कै मन पर्दैनथ्यो, आफन्त र साथीभाइहरू त्यहि शब्द दोहोर्‍याउथे ।’, भविष्यको कुरा मलाई के थाहा ? उनको जवाफ यत्ति नै हुन्थ्यो । ‘यस्ता प्रश्नले मन दुख्थ्यो, अनि म बेस्सरी रुन्थेँ ।’, उनी ती दिन स्मरण गर्छिन् ।

जीवनसाथी गुमाएपछि हरेक विधवा नारीहरूले झैं सरुले पनि धेरै कुरा सामना गरिन् । उनी भन्छिन्, ‘त्यतिबेला, कति आफ्नाले प्रहार गरे, कति परायाले । सबै कुरा व्यक्त गर्न सकिदैन । दुखेको चोटमात्रै ताजा छ ।’

आज जनयुद्धको २८ औं वर्ष पुरा हुँदा आफ्नो श्रीमान ललितको मात्रै नभइ जनयुद्धमा आहुति दिने दुबै पक्षका वीर सहिदहरूको सपना पूरा भइनसकेको उनको गुनासो छ । ‘हिजो नेताहरूले जुन प्रतिबद्धताहरू गरेका थिए, आज ठाँउमा पुगेपछि सबै बिर्सिए । १७ हजार नेपाली जनताले बलिदान दिए । उनीहरूको परिवार बाबा/आमा, छोराछोरी म जस्तै कलिला जीवनसाथीहरूले आफ्नो मान्छे गुमाउनुको पीडा भोगिरहेका छन्, दुखिरहेको छ ती पीडाहरू । तर, खोई सत्ताको बागडोर सम्हाल्न पुग्ने बितिकै ती सहिदको बलिदान बिर्सिए ।’, उनको गुनासो छ ।

श्रीमान स्वःललित राईको सम्झनामा कवि सरु शीतल राईलद्धारा लिखित एक कविता ‘त्यो कालो रात’

तिम्रो बिसन्चोको खबरले
विधग्द थियो मन
डुब्दै थियो घाम अस्ताचलमा
मधुरो हुँदै थियो दिनको उज्यालो
बढ्दै थियो कालो रातको साम्राज्य ।

मनभित्र चल्दै थियो आँधिबेहेरी
तीब्र गतिमा धड्किरहेको थियो धड्कन
ओइरिदै थिए अनेकौं प्रश्नहरु
कतै तिमी रणभूमीमा पो पर्यो कि ?

चकमन्न थियो कालो रात
यमराज जस्तो कालै गाडी
आँगनमा सवारी भयो
तिमी जस्तै फौंजीहरु देख्दा झस्किएँ
तिमीलाई नै खोज्दै थिए यी आँखाहरुले
ती फौंजीहरुको भीडमा ।

कुनै चलचित्रको अभिनय भइरहे झैं
सबै कलाकार जस्ता देखिन्थे
म दर्शक भएर हेर्दै थिए बसेर दैलोमा
सेतो कपडाले छोपिएको जिनिस मेरो सामु राखियो
एक जवानले हटाउदा त्यो कपडा
त्यहाँ तिमी थियौं
तिम्रो आँखाहरु खुल्ला थिए
मलाई नै हेरिरहेको जस्तो
केही भन्न खोजिरहेको जस्तो ।

चिच्याउदै झक्झक्याएँ तिमीलाई
उठाउनको लागि अनेकौं प्रयात्न गरें
न उठ्यौ, न बोल्यौ
न सुन्यौ मेरो कारुणिक क्रन्दनपूर्ण पुकार ।

निस्सासिएर श्वास भित्रको भित्रै
बाहिरको बाहिरै भयो
कम्पित थियो शरीर र तिमीसँगै ढलें अचेत ।

शीतले लपक्क भिजेको कपाल
आफन्त जन र छिमेकिहरुको कोलाहल
सुसुप्त हेर्दै थिएँ, सुन्दै थिएँ निशब्द र चेतशून्य ।

कतै सपना झैँ कतै विपना झैँ
हे सुम्निमा
हे पारुहाङ्ग
यो दृश्यलाई सपनामा बदलिदेऊँ
पुकारे मेरो माङलाई अर्धचेतमा ।

आकाश झरेर थिचे झैं
टेकेको जमिन भासिए झैं
म धसिदै थिएँ पीडाको दलदलमा ।

फक्रिदै गरेको फूलको थूङ्गो नफुल्दै झर्यो
मोती जस्तो जुनेली हेर्दाहेर्दै बिलायो
उदाउदै गरेको घाम क्षितिजमै हरायो
निमोठिए गगन चुम्ने सपनाहरु
उजाडियो स्वर्ग जस्तो संसार ।

महासागर उर्लिए झैं उर्लिरह्यो मनोवेग
नयनबाट बर्षिरह्यो रुन्चे झरी
हृदय फुट्यो
छरियो छरपष्ट, छताछुल्ल
समेट्नै नसक्ने गरी पोखियो जिन्दगी ।

कलकलाउदो उमेरमा पोतियो विधुवाको रङ
लुप्त भए ओंठका मुस्कानहरु
भत्कियो भविष्यको राजमार्ग
लुटिए इन्द्रेणी रहरहरू ।

बर्षौं भयो तिमी गएको
खालि सेतो कागज जस्तै जीन्दगी लिएर ।

यता अझै पनि
जस्ताको त्यस्तै छन् ब्यथाहरु
उस्तै चर्किरहेका छन् चोटहरु
हिजो जस्तै लाग्छ जीवनको टुकी निभेर
जिन्दगीमा छाएको त्यो कालो रात