–जनक कार्की
चारपाँच कक्षा पढ्दादेखि नै मलाई गीतसंगीतको भोक लागेको हो । इन्डियन क्यासेट प्लेयर (हामीहरू त्यसलाई डेक भन्थ्यौं), त्यसमा रिल भएको चक्कावाला क्यासेटमा गीतसंगीतको भोक मेटाउन थालिसकेको थिएँ । प्लाइबोर्डमा स्पीकर राखेर त्यसलाई बेस आवाजमा सुन्ने नभए घैँटोको मुखतर्फ स्पीकर राखेर सेटेरियो आवाज बनाएर संगीतको व्यञ्जन तयार गर्थेँ । त्यतिबेला क्यासेट किन्ने पैसाको अभाव त हुने नै भयो त्यसैले पुराना सुनेर मिच्छिएका क्यासेटमा गीत डबिङ गर्थेँ । एउटा गीतको तीन रुपैयाँको दरले त्यसमा मनपरेका गीतहरू डब गराउथेँ । त्यतिबेला एउटा नाकेनाके स्वरमा खुब दर्द भेटाउन थालेँ । दर्दको अर्थ पनि थाहा नभएको मलाई उनको आवाजले लठ्ठै बनाउन थाल्यो । त्यसैले मैले उनका सबै गीतहरूलाई डब गरेर सुन्न थालेँ । उनी हुन् सङ्ख्यात्मक हिसाबले कम गीत गाएर नेपाली संगीतमा अजरामर बन्न सफल आवाज अरुण थापा ।
‘दोष कसैलाई दिन चाहन्नँ’, ‘ऋतुहरूमा तिमी’, ‘भुलुभुलु लाग्यो मलाई’, ‘म रोए पनि तिमी हाँसिदिनु’, ‘जति माया लाए पनि’ आदि गीत कण्ठस्थ गाउथेँ । उनको आवाजसँग मेरो यस्तो मोह थियो कि उनलाई नसुनी म अपूरो भएको महशुस गर्थेँ । आज श्रावण–५ गायक अरुण थापाको स्मृति दिवस । उनलाई धेरै सम्झेको छु । उनीसँग गीत सुनेर बिताएको पोषणयुक्त समयलाइउ सम्झिएको छु ।
अरुण थापालाई नेपाली गीतसँगीत सुन्ने श्रोताले निकै मनपराए । वियोगान्त गीतमा बढी खुल्ने अरुणको आवाजमा भएको फिलिङ्सले प्राय संगीतप्रेमीको मन जितेको पाइन्छ । भर्खरभर्खर गिटार बजाउन सिक्नेदेखि लिएर गायनमा रुचि भएका सबैले उनको गीतसँगै अभ्यास गरेको पाइन्छ, देखिन्छ । उनका बारेमा हल्ला चल्ने गर्थ्यो, उनी निकै पियक्क्ड हुन् रे ! प्रेमिकाले छोडेर गएपछि यस्तो सेन्टिमेन्टल गीत गाएका हुन् रे ! उनी ड्रग्स पनि लिन्छन रे ! उनी अस्तव्यस्त छन रे ! आदि इत्यादि । पछि अलि बुझ्ने भएपछि थाहा भयो, मैले बच्चामा सुनेका केही हल्लामा सत्यता थियो भने केही हल्लालाई चङ्गा बनाएर उडाउने काम भएको रहेछ ।
नेपाल बैंकका वरिष्ठ अधिकृत गुन्जबहादुर थापाका छोरा अरुण थापाको सांगीतिक काल झम्सिखोलाको हुलाकको बक्सा भएको र पहिलोपटक विजुली र टेलीफोन जडान भएको त्यसबेलाको सबैको नजरमा परेको घरमा बित्यो । उनको त्यतिबेलाको संगत घर अगाडिको गणेश मन्दिरमा मीत ओम विक्रम विष्ट, एकर्डीङ बादक मदन परियार, मुकुन्द खड्का, दिवाकर खड्का लगायतको जमघट हुन्थ्यो ।
पपसम्राट ओम विक्रम विष्ट अरुण थापाका मीत हुन् । उनीहरूको मीत साइनोको पनि रोचक कथा छ । गणेश मन्दिरमा संगीतको माहोल जमाउने टोली माथी आक्रमण भयो । सो ग्याङ फाइटमा अरुण र ओम जमेर लडे । रक्ताम्य भए । त्यही रगतको थोपा एकाअर्कालाई लगाएर मितेरी साइनो गासे
।
उनी नारायणगोपालद्वारा पनि मनपराइएका गायक हुन् । त्यतिबेला नारायणगोपाललाई मनपर्ने गायकको नाम लिन लगाउँदा । नारायणगोपालले भनेका थिए रे, मनपर्ने गायक धेरै छन् तर आशालाग्दा गायक भनेको अरुण थापा र दीप श्रेष्ठ हुन् ।
अरुण थापाको अधुरा प्रेमकहानी
साँगीतिक माहोलमा भिज्दै गर्दा अरुण थापासँग आफ्नै मौलिक गीत थिएनन् । उनले हिन्दी गीत गाएर विभिन्न सांगीतिक कार्यक्रममा सहभागीता जनाउथे । एकपटक पोखराको पिएन क्याम्पसको कार्यक्रममा उनले किशोर कुमारको ‘मेरा जीवन कोरा कागज’ गीत गाएका थिए । सो गीत सुनेपछि एकजना युवती यति धेरै प्रभावित भइन कि प्रेम प्रस्ताव नै राखिन् । प्रेम प्रस्ताव राख्ने युवती थिइन, विमला पालिखे । अरुणले विमलाको प्रस्ताव स्वीकार गरेर विहे समेत गरे । विमला र अरुणको विहेमा विमलाको परिवार खुसी थिएनन् । अरुण थापाको विवाहीत जोडीलाई विमलाको परिवारले टुटाइदिए । विमलासँग छुटिएपछि अरुण झन् अव्यवहारिक हुँदै गए । लागुपदार्थ दुर्व्यसनमा फसे । उनले दोस्रो विहे पनि गरे ललितपुरकी मुना केसीसँग । त्यो सम्बन्ध पनि त्यति राम्रो हुन सकेन । श्रीमतीबाट छोरी जन्मेपछि अरुणमा लामो समय पछि खुसी थपिएको थियो । आर्थिक अवस्था कमजोर भएपछि अफैंले किनेर श्रीमतीको नाममा राखेको जग्गा बेचेपछि अरुण थापा र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भयो । क्रमशः अमर गायक अरुणले एक पछि अर्को गर्दै सबैको साथ गुमाउँदै गए । श्रीमतीले छोरी समेत लगेर दोस्रो विवाह गरिन् ।
अरुण थापाको अस्तव्यस्त जीवन
अरुण थापाका अस्तव्यस्त जीवन जिउने गायकमा पर्छन् । उनका फुटकर गीतहरू धेरै भएपनि एल्बम भने निक्लिसकेको थिएन । वि.सं. २०५४ सालतिर मगर संघले उनको एकल एल्बम निकाल्ने तय गर्यो ।
एल्बमको शंकरदेव क्याम्पस अगाडि लाफा भवनमा विमोचन हुने भयो । प्रमुख अतिथि थिए, कवि बैरागी काँईला । साथमा केही मन्त्रीहरु, संगीतकार प्रकाश गुरुङ, युधीर थापालगायत त्यसबेलाका संगीत अनुरागी सबैको उपस्थिति थियो । सबै आए, तर गायक अरुण स्वयं भने आएनन् । सो कार्यक्रमको उद्घोषक प्रकाश सायमी थिए । २ बजे तय गरिएको कार्यक्रममा साढे तीन बजेसम्म अरुण थापा उपस्थित नभएपछि उनीविना नै कार्यक्रम सम्पन्न गरियो । विमोचन सकाएर प्रकाश सायमी लगायतको समूह पद्मकन्या क्याम्पसबाट जाँदै थिए, त्यहाँ एउटा भीडबाट हल्ला आयो एउटा जाड खाएर लडेको जड्याहालाई प्रहरीले लिएर गयो भन्ने । पछि बुझ्दा थाहा भयो, उनी अरु कोहि नभएर अरुण थापा थिए । भोलिपल्ट पत्रपत्रिकामा अरुण थापाको दुइटा समाचार आयो । एउटा अरुण थापाको एकल एल्बमको विमोचन र अर्को प्रहरीद्वारा पक्राउ गरिएको । पछि घटनाबारे छानबिन गर्दा थाहा भयो उनी बागबजारस्थित प्रेमिका विमलाको घरमा खबर पु¥याउन गएका थिए तर त्यहाँ विमलाको परिवारले लफडा गर्यो भनेर प्रहरीमा बुझाएका रहेछन् ।
उनको जीवनमा लागूपदार्थको आगमनले नराम्ररी जरा गाड्यो । असफल प्रेम र पारिवारिक समस्याले गर्दा उनी ‘एडिक्ट’ हुँदै गए । २०४५ सालमा लागू पदार्थ दुव्र्यसनीको आरोपमा उनी १५ महिना जेल पनि बसे । तैपनि नशाले उनको जीवनलाई छाडेन । अत्यधिक लागू पदार्थ सेवनकै कारण उनलाई कलेजोको हेपाटाइटीस बीको संक्रमण भयो । घर छुट्यो, परिवार छुट्यो । जीवनका अन्तिम क्षणमा अमृत गुरुङ, इश्वर गुरुङ र बहिनी मिना थापाले अरुणको हेरविचार गरे ।
अरुण थापाको जीवन
जनवरी महिना भनिए पनि आजसम्म जन्मको गते खुल्न नसकेका अरुण थापा विसं. २००९ सालमा भारतको कलकत्तामा जन्मिएका थिए । तत्कालीन भारतीय महावाणिज्य दूतको सहयोगमा उनका बुवा गुञ्जमान थापा नेपाल राष्ट्र बैंकमा अधिकृत तहमा जागिर खान काठमाडौं आउँदा अरुण मात्र तीन महिनाका थिए । शान्ति थापामगरको कोख र काखलाई उजिल्याउँदै धर्ती पदार्पण गरेका अरुण थापा भाइ पुरण थापा र बहिनी मुना थापाको दाजुको रुपमा जन्म लिएका थिए । उनकी सौतेनी आमाका तर्फबाट जन्मिएका किरण थापा पनि अरुण थापाका प्रिय भाइ मध्येका एक थिए ।
भाई किरण थापा अरुणको सांगीतिक जीवनको अन्त्यसम्म सँगै नै थिए । काठमाडौंको गणबहालबाट शिशु कक्षाको अध्ययन प्रारम्भ गरेका अरुणले पछि क्षेत्रपाटीस्थित जेपी हाइस्कुलमा प्राथमिक तहसम्मको अध्ययन गरे । प्राथमिक तहको अध्ययन पछि असाध्यै चकचके र छुक्छुके व्यवहार सहन नसकेपछि उनलाई राम्रो शिक्षा प्राप्त गरुन् भन्ने उद्धेश्यले उनका बुवा गुञ्जमानले दार्जिलिङको प्रसिद्ध टर्नबुल हाइस्कुलमा भर्ना गरिदिएका थिए । कक्षा ९ सम्म त्यहाँ अध्ययन गर्दा अरुण थापा पढाइको होइन, संगीतको लती बनिसकेका थिए । गितारका कर्ड्सहरू राम्ररी फिट्न सक्ने भइसकेका थिए । संगीतको संगतले पढाइ बिग्रिने देखेपछि फेरी उनका बुबाले उनलाई २०२६ सालमा काठमाडौं ल्याए । त्यसपछि उनी काठमाडौंको जुद्धोदय हाइस्कुलमा कक्षा ९ मा भर्ना भए र त्यसको दुई वर्षपछि उनले मध्यम श्रेणीमा एसएलसी पास गरे ।
पहिलोपटक नेपाल बैंकले पोखरामा क्षेत्रीय शाखा खोल्दा उनका बुबा ‘नेपाल बैंक लिमिटेड पोखरा’का क्षेत्रीय महाप्रबन्धक बनेर पुगेका थिए । अरुणको सिंगो परिवार पोखरा पुग्यो । उनी मानविकी अध्ययनका लागि पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । त्यहीँबाट प्रारम्भ भयो, उनको सांगीतिक जीवनको अनुष्ठान ।
अरुणका बुवा गुञ्जमान पनि राम्रा तबलावादक थिए । साहित्यकार सरुभक्त भन्छन्, ‘पोखराको पालिके चोकस्थित नेपाल बैंकको आवासमा हुने जमघटमा उनका बुवाले तबला बजाउथे र अरुण र अरूहरू गीत गाउँथे । अरुणको संगीतको विरासत उनको घरको वातावरण नै हो । त्यही निवासमा नै अरुणले ‘जति माया लाए पनि’ मा धुन फुराएका थिए ।
कान्तिपुर गेस्ट हाउसको एउटा दुर्गन्धित कोठामा सुगन्धित स्वरको अन्त्य हुने बेलासम्म उनलाई उनका आफन्त, परिवार, समाज, सांगीतिक क्षेत्र र राज्यले समेत उद्धार गर्न सकेन । कसैले गरेका उद्धारका कार्य पनि असम्भव नै भए । उनले गीतका त्यान्द्रामा नसा घोलिरहे । नसाको लहडमा गीत घोलिरहे । गीत र नसामा आफैंलाई बिर्सिरहे । २०५२ साल मंसिरमा आयोजना भएको एकल साँझमा ठडिँदा पनि नशाको लैबरीमा उनले गाए । कार्यक्रम सुरु हुने बेलाभन्दा अघि उनी दुई घन्टा ट्वाइलेटमा हराएका थिए ।
पब्लिक गेस्टहाउसमा बस्थे उनी । त्यहीं उनी थला परे । त्यसपछिका चारदिन उनका लागि सारै कष्टकर भए । बिरामी भएको चौथो दिन उनको देहान्त भयो ।
अरुण थापा जीवनको उत्तराद्र्धमा निकै गलिसकेका, विक्षिप्त र कमजोर बनिसकेका थिए । बागबजारको एउटा गेष्ट हाउसमा बस्दै आएका थापालाई लागूऔषध सेवनकै कारण हेपाटाइटिस बि, कलेजोको रोग तथा पेटको अल्सर समेत भएको थियो । गायक अरुण थापा २०५६ साल साउन ५ गते यस संसारबाट बिदा भए । उनको कारुणिक निधन भएका दिन रेडियो नेपालमा दिनैभरी ‘चोट के हो व्यथा के हो’ बजी नै रह्यो, गुञ्जी नै रह्यो । ‘चोट के हो व्यथा के हो ?’
उनले थुप्रै गीत गाए तर राज्यबाट भने कुनै पदक वा सम्मान पाएनन् । उनको ‘ऋतुहरुमा तिमी’ बोलको गीत २००३ को बीबीसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० मा परेको थियो । यद्यपि नेपाल मगर संघले २०६० सालमा संकलित रु ५० हजारको अक्षयकोषबाट अरुणस्मृति संगीत पुरस्कार स्वरुप रु. ५ हजार वितरण गर्दै आएको छ ।
उनका धेरै गीत हराइरहेको कुरा पनि उनीसँग संगत गर्ने प्रकाश सायमीले बताउँछन् । उनका ती गीतहरूको संरक्षणमा पनि लागेको सायमीले विभिन्न कार्यक्रममा जानकारी दिएका छन् । उनी व्यक्तिगत रूपमा आफ्नो लागि कहिले ठीक निर्णय लिएनन् होला । आफ्नो सम्पूर्ण जीवनलाई कुलतमा फसाइदिए होलान्, तर उनले नेपाली संगीतलाई गरेको योगदानको अवमूल्यन कहिले गर्न सकिँदैन । उनको आवाजमा भएको दर्दले संगीत पारखीलाई सधै स्पर्श गरिरहने छ । नेपाली संगीत बाँच्दासम्म उनको आवाज यहि कतै गुञ्जिरहेको हुनेछ । श्रद्धा–सुमन प्रिय गायक अरुण !
लेखक जनक कार्की साहित्यका विभिन्न विधामा कलम चलाउछन् ।